अमेरिकामा कोरोनाविरूद्धको खोप अभियान सुरु

वासिङ्टन डिसी । अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने कार्य सुरू भएको छ। अमेरिकामा पहिलो कोरोनाको खोप हेल्थ केयरमा कार्यरत काला जातिको प्रतिनिधित्व गर्ने नर्स सेन्ड्रा लिन्डसेले लगाएकी छिन्। डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले सेन्ड्रासँगै पाँच व्यक्तिलाई खोप लगाएर यो कार्यक्रमको शुभारम्भ गरेको हो।

यसलाई ‘किक अफ इभेन्ट’ को नाम दिइएको छ। यी पाँच जनालाई वासिङ्टन डिसीस्थित जर्ज वासिङ्टन विश्वविधालयको अस्पतालमा खोप लगाइएको थियो। सबै फ्रन्टलाइन स्वास्थ्य कर्मचारी हुन्।

यसपछि स्वास्थ्य विभागका सिनियर अधिकारी तथा डक्टरहरूलाई पनि खोप लगाइएको थियो। आम अमेरिकीले आउदो सातादेखि खोप लगाउन पाउने छन्।

स्मरणीय छ, कोभिड–१९ विरुद्ध खोप विश्वमै पहिलोपटक बेलायतमा प्रयोगमा ल्याइएको हो । एकजना ९० वर्षीया महिलालाई त्यो खोप लगाइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडियामार्फत यसको जानकारी दिँदै अमेरिकामा कोरोनाविरूद्धको पहिलो खोप लगाएको जानकारी दिए। ‘अमेरिकामा पहिलो खोप लगाइएको छ। अमेरिकालाई बधाई!,’ उनले भनेका छन्।

हाल देशको विभिन्न राज्यअन्तर्गत १ सय ४५ स्थानमा खोप पुर्‍याउने काम सकिएको छ।

ह्वाइट हाउसमा काम गर्ने कर्मचारी र अधिकारीलाई खोप लगाउने कार्यमा केही समय लाग्ने अमेरिकी समाचार एजेन्सीहरू जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप–राष्ट्रपति माइक पेन्सलाई पनि खोपका लागि आग्रह गरिने समाचारमा उल्लेख छ।

अमेरिकामा चरणबद्ध रूपमा खोप लगाउने कार्यलाई सुचारु राखिने बताइएको छ। पहिलो चरणअन्तर्गत फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य कर्मचारी र केयर होममा बसोबास गर्ने वृद्धवृद्धालाई खोप लगाइने छ।

अमेरिकी सरकारले यसै साता फाइजर र बायोनटेकलाई इमर्जेन्सी प्रयोगका लागि स्वीकृति प्रदान गरिएको थियो। यो खोपलाई फेडरल ड्रग एडमिनिस्ट्रेशन (एफडीए) र डिजीस कन्ट्रोल सेन्टर (सीडीसी) ले सुरक्षित भएको प्रमाण दिएपछि सरकारले खोप वितरणलाई स्विकृति प्रदान गरेको थियो।

क्यानाडामा पनि खोपको तयारी 

कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि ल्याइएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।’ उनले गत बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए ।

त्यसअघि क्यानाडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निश्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो । खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उनले बताए । (एजेन्सी)

सोमबार, मंसिर २९, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*