‘अमेरिकामै लुक्न चाहन्थे सन्दीप लामिछाने !’ : प्रहरी

काठमाडौं । नेपाल र एसोसिएट राष्ट्रका स्टार क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा बिहीबार (असोज ५ गते) पक्राउ परे । मुखमा मास्क र हातमा लगाएको हतकडी रुमालले छोपेर प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर सिधै प्रहरी वृत्त गौशालामा लगियो ।

सन्दीपविरुद्ध गएको भदौ २१ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको उजुरी प्रहरी वृत्त गौशालामा परेको थियो । उजुरीमा सन्दीपले भेट्न बोलाएर भदौ ५ को राति पिंगलास्थानको होटेल काठमाडौं इनमा लगेर पटक–पटक बलात्कार गरेको उल्लेख छ ।

सोही उजुरीका आधारमा उनीविरुद्ध जिल्ला अदातल काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।

भदौ ५ गते सन्दीप पीडित भनिएकी किशोरीसँगै होटेल काठमाडौं इनमा बसेको प्रहरी अनुसन्धान र प्रमाणबाट पुष्टि भइसकेको छ । उनी किशोरीसँग होटेल प्रवेश गरेको र बाहिरिएको सीसीटीभी फुटेज प्रहरीले भेट्टाएको छ ।

भदौ ६ गते सन्दीप केन्यासँग भएको अन्तर्राष्ट्रिय सिरिजका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । सन्दीपकै कप्तानीमा नेपालले केन्यासँगको ट्वान्टी–२० अन्तराष्ट्रिय शृंखला जितेको थियो ।

Sandeep Lamichhane 1

त्यहाँबाट उनी सिधै क्यारेबियन प्रिमियर लिग खेल्न जमैका गएका थिए । उनी जमैकामै रहेका बेला बलात्कारको उजुरी परेको हो ।

उजुरीसँगै उनी कप्तानबाट निलम्बनमा परे । जमैकामा उनी आबद्ध क्लबले पनि उनलाई टोलीबाट निकाल्यो ।

त्यसपछि सन्दीपले जमैका छोडे । उनी कहाँ गए भन्ने खुलेन । सन्दीप सम्पर्कमा नआएपछि उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाइएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)सँग पनि सम्पर्कमा नरहेपछि प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मार्फत उनलाई नेपाल झिकाउने प्रक्रिया अघि बढाएको थियो ।

इन्टरपोलको नेसनल कन्ट्रोल ब्युरो (एनसीबी), काठमाडौंको आग्रहमा इन्टरपोलले सन्दीविरुद्ध डिफ्युजन नोटिस जारी ग‍र्‍यो । डिफ्युजन नोटिस जारी भएसँगै उनी १९५ देशका प्रहरीको खोजीको सूचीमा परे ।

यसबीचमा उनले सामाजिक सञ्जालमार्फत दुईपटक आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्ने बताए । प्रहरी अधिकारीको दाबीलाई आधार मान्ने हो भने सन्दीप डिफ्युजन नोटिस जारी नभएको भए नेपाल आउने सम्भावना थिएन ।

अमेरिकामै लुक्न चाहन्थे सन्दीप !

प्रहरी अनुसन्धानका क्रममा सन्दीप नेपाल आउनुअघि अमेरिकामा रहेको खुलेको छ । उनीसँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, सिंगापुरलगायत आधा दर्जन देशको भिसा थियो ।

काठमाडौंस्थित एक प्रहरी अधिकारीले भने, “जमैका छाडेपछि सन्दीप अमेरिका पुगेको देखिएको छ । उनी फ्लोरिडामा एक होटेलमा रहेको अनुसन्धानमा देखिएको छ ।”

उनीवरुद्ध नोटिस जारी भएपछि अमेरिकाको फेडरल ब्युरो अफ इन्भेटिगेसन (एफबीआई)ले उनलाई ‘लोकेट’ गरेको थियो ।

उनी लोकेट भएपछि त्यसको जानकारी नेपाल प्रहरीलाई भयो । आफूविरुद्ध नोटिस जारी भएपछि सन्दीप अमेरिकामा लुक्ने सम्भावना रहेन ।

सो सूचनापछि उनलाई इन्टरपोलमार्फत नेपाल झिकाउने प्रक्रिया अगाडि बढाएको थियो । आफू अमेरिकामै पक्राउ परेर ‘डिपोर्ट’ हुने डरले सन्दीप त्यहाँबाट नेपाल फर्किएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सन्दीपको कसुर प्रमाणित हुने पर्याप्त प्रमाण : प्रहरी

प्रहरी वृत्त गौशालाबाट सन्दीपविरुद्ध अनुसन्धान अगाडि बढाइएको छ । पीडितको जाहेरीपछि प्रहरीले सन्दीपविरुद्धका प्रमाण संकलन गरेको थियो ।

त्यसक्रममा होटेलका कर्मचारीको बयान, ती नाबालिगको बयान, घटनास्थलको अवस्था, सीसीटिभी फुटेजलगायत अरू प्राविधिक प्रमाण प्रहरीले संकलन गरेको छ । प्रायः प्रमाण पुष्टि हुने अवस्थाकै रहेको काठमाडौंका एक उच्च प्रहरी अधिकारीले बताए ।

उनले भने, “हामीले संकलन गरेको प्रमाणले सन्दीप उम्किने अवस्था देखिँदैन । उनको कसुर प्रमाणित हुने पर्याप्त प्रमाण देखिन्छन् । सन्दीपबाट पनि थप कुरा खुल्न सक्छ ।” (बाह्रखरी डिजिटल न्युजबाट)

आइतबार, असोज २३, २०७९ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*