एक निर्बन्ध कथा–सङ्ग्रह

पुस्तक–चर्चा/–जयदेव गौतम
मनोरञ्जनका लागि काल्पनिक वा वास्तविक मानिस र घटनाहरूको वर्णन नै कथा भनिन्छ भने अर्चना थापाले सिर्जना गरेको नवीनतम कथा–सङ्ग्रह ‘कठपुतला’ यसको उम्दा उदाहरण हो, यद्यपि यस कथा–सङ्ग्रहको परिधि केवल मनोरञ्जनभन्दा धेरै विस्तारित छ । कतिपय सामाजिक बेथितिहरूको यथार्थिक चित्रणले भरिएको यस कथा–सङ्ग्रहमा ती बेथितिप्रति शिष्ट आलोचनाको भाव पनि छताछुल्ल छ । घटना र प्रवृत्तिहरूको सामाजिक यथार्थवादी वर्णन (यद्यपि जम्मैजसो कथा लेखकको कल्पनाका उपज हुन्) पढ्दा पाठकको मन छुन्छ, कतै चिमोट्छ, कतै परम्परा र संस्कारप्रति पुनर्विचार गर्न घच्घच्याउँछ त कतै ज्ञानकुण्डमा डुबाएर गम्भीर सोच–चिन्तनप्रति उत्प्रेरित पनि गर्दछ । खासमा यो एक निर्बन्ध कथा–सङ्ग्रह हो ।

यसअघि ‘स्व–अस्तित्वको खोज’ र ‘टेलिङ अ टेल’ नामक एक नेपाली र एक अङ्ग्रेजी गरी महिला–केन्द्रित दुई पुस्तक सम्पादन गरेर चर्चामा आइसकेकी अर्चनाले पहिलो पुस्तकाकार मौलिक लेखनको रूपमा बजारमाा ल्याएको ‘कठपुतला’ कथा–सङ्ग्रहमा जम्मा आठ कथा छन्, छोटा अथवा मध्यम आकारका नभएर कम्तीमा २५पृष्ठ लामा छन् र अलग–अलग कथाले फरक–फरक विषयवस्तुलाई आफ्नो कथानक बनाएका छन् । सङ्ग्रहको सङ्क्षिप्त परिचय खण्डमा भनिए झैँ, ‘कथाहरूमा जटिल मानवीय सत्व, अस्तित्व संघर्ष, पारम्परिक पुंसत्व प्रपञ्च, कुण्ठित वृत्ति र विभेद, समाज र लोकलाजको डरले जेलिएको मनोविज्ञान, पौराणिक–ऐतिहासिक–काल्पनिक दृष्टान्तका साथै भविष्यमा हुनसक्ने रोबोटिक युगको विकास र विसंगतिपूर्ण परिकल्पना पनि छ ।’

सङ्ग्रहको पहिलो कथा ‘अन्तर्दाह’ मा सारमा छोरा लभु अर्थात् लवकुमार अर्याल र आमा जानकीको सूक्ष्म मनोविज्ञानको कथा छ । लभुको बुबा रघु फिल्मी नायक बन्ने धुनमा घरपरिवारको दायित्व सबै बिर्सेर, निस्फिक्री खर्च गरेर रमाउने गर्दागर्दै अमेरिका भासिन्छन् । बुहारी जानकीलाई सासु–ससुराले छोरी सरह माया गर्छन्, नातिलाई झन् प्राणै दिउँला जस्तो गर्छन् । एकपटक लभु स्कुल जान नाइँनास्ति गर्छ, जति गर्दा पनि स्कुल जान मान्दैन, बरु बाथरुम जाने र धेरै बेरसम्म बाहिर ननिस्कने अनि निस्कँदा घरभरि नै डिटोलको गन्ध भरिने गरी लगाएको हुन्छ । डक्टरकोमा लग्दा उसले त्यहाँ पनि केही भन्दैन । खासमा उसलाई स्कुलमा केही बदमास केटाहरूले यौनशोषण गरेका हुन्छन् जुन घटनाले उसको किशोर मस्तिष्कमा नराम्ररी मनोवैज्ञानिक असर पु¥याएको हुन्छ ।

JD Gautam

         जयदेव गौतम

दोस्रो कथा ‘पराकम्पन’ मा सैनिक सेवामा उच्च पदमा रमाउने काठमाडौंको बस्न्यात परिवारको कान्छो छोराले घरका सदस्यहरूको इच्छाविपरीत अन्तर–जातीय विवाह गरेको र श्रीमतीका माइतीले किनिदिएको अपार्टमेन्टमा बस्ने गरेको वर्णन छ । बस्न्यात काजी खलकको घरानियाँ रवाफ, विजातीय बुहारीलाई उल्याउने, होच्याउने र व्यङ्ग्य हान्ने रवैया अनि यो सबै नरुचाएर कान्छो छोरा पराक्रम आफूले मन पराएर कोर्ट म्यारिज गरेकी मोहिनीलाई घर लैजान पटक्कै मन नपराउने हुन्छ । एकपटक हजुरआमाले कर गरेपछि पूजामा घर जाने तयारी गरिरहेको बेला वैशाख १२ गते अचानक भूकम्प जान्छ । आफूलाई घरमा कसैले नरुचाउने कुरा थाहा भएर पनि मोहिनी आत्तिँदै फोनबाट घरका सदस्यहरूको भलाकुसारी बुझ्ने प्रयास गरिरहन्छे । धेरै बेर नलागे पनि अन्ततः फोन लाग्छ र घरमा सबैजना सकुशल रहेको जानकारी पाएपछि बल्ल उ ढुक्क हुन्छे । घरभित्रै रहेको पराक्रम ‘मोहनी मोहिनी’ भन्दै चिच्याउँछ, उ घरबाहिर पुगिसकेकी हुन्छे । दुईजना सँगै घरभित्र पुग्छन् । फेरि भूकम्प (परकम्प) को झड्का आउँछ, दुई श्रीमान–श्रीमती एकअर्कालाई अँगालो मारेर उभिन्छन्, । अपार्टमेन्टभरि हल्लीखल्ली मच्चिइरहेकै हुन्छ ।

तेस्रो कथा, जुन सङ्ग्रहको शीर्षक पनि हो, ‘कठपुतला’ उच्चस्तरीय काल्पनिक विज्ञान कथा हो । यसमा रोबोटिक युगको रोचक कथा वर्णन छ । यसमा मूलतः दुई पात्र छन्, मानव पात्र मलक र रोबोट पात्र जैबरवोकी रोबोक्रोम । युटोपिया देशको एम.ओ.के. सहरको सघन सेक्टर नं.३७४ को घना औद्योगिक बस्तीमा बस्दै आएको र प्रतिष्ठित भर्चुअल कम्पनीमा लेखापाल पदमा जागिरे मलक र रोबोक्रोमका बीचमा भइरहने संवाद नै कथामा रोचकता जगाइरहने पक्ष हो भने मलकको मनोसंवाद पूरक पक्षका रूपमा रहेको छ ।
एक ठाउँ अझ रमाइलो प्रसङ्ग छ । मलकको मनोसंवाद छ, ‘जनता भनेको के हो ? सी.आई.पी.(कमन महत्वपूर्ण नागरिक) ? भी.आई.पी. (अत्यन्त महत्पूर्ण नागरिक) ? दुवै जनता हुन् कि होइनन् ?’

युटोपिया देशका बासिन्दामा इच्छा–आकांक्षा त थुप्रै हुन्छन् तर उनीहरू मन लागेअनुसार हिँडडुल गर्न वा अन्य व्यापार गर्न सक्दैनन् । उनीहरूका सबै गतिविधि केन्द्रबाट सञ्चालित रोबोक्रोमको मातहत मात्र सञ्चालित हुन सक्दछन् । मानिस फगत कठपुतला बनेर जिन्दगी गुजार्न विवश हुन्छ, अभिशप्त देखिन्छ ।
सङ्ग्रहको चौथो कथा ‘परमात्मा समाहिता’ शीर्षक कथा कठपुतला जत्तिकै तीस पृृष्ठ लामो छ र पढ्ने हिसाबले सम्भवतः सङ्ग्रहकै सबैभन्दा रमाइलो कथा पनि हो । यसमा आफ्नो बुबा खोज्दै अमेरिकाबाट नेपाल आएकी युवतीको कथा वर्णन छ जो अन्ततः उही बुबाकै हातबाट अकल्पनीय दुर्घटनाको सिकार हुन पुग्छे । उसकी आमा जेनी रबिन जनसन अमेरिकी राज्य कोलोराडोमा रेस्टुरेन्ट व्यवसायी हुन्छिन्, आमाबुबासित विद्रोह गरी घर छाडेर देशबाहिर पुग्छिन्, नेपाली युवक दीपकसित प्रेममा पर्छिन् र छोरी श्रुतीकी आमा बन्न पुग्छिन् । दीपकले धोका दिएपछि उनी श्रुतीलाई लिएर आमाबाबुकैमा कोलोराडो फर्किन्छिन् । एकल आमा भई बसेकी जेनी रबिनसित ठुली हुँदै गरेकी श्रुतीले आफ्ना पापाबारे सोधिरहन थाल्छे । युवा भएपछि प्रेममा पर्छे र विश्वासघातको सिकार बन्छे, बिरामी पर्छे, निको भएपछि धर्म, अध्यात्म र दर्शन पढ्न आकर्षित हुन्छे । अनि एक दिन आमाबाट अनुमति पाएपछि शिक्षक स्वयम्सेविकाका रूपमा छ महिनाका लागि नेपाल आउँछे जहाँ उसले ‘बाबा दिव्यदेव’ का रूपमा गोदावरीमा प्रवचन दिँदै ख्याति कमाएका आफ्ना पापालाई फेला पार्छे । अनि धेरै प्रयासपछि एक दिन बाबा दिव्यदेवलाई एकान्तमा भेट्ने अनुमति प्राप्त हुन्छ र त्यसपछि ऊसित दुर्घटना घट्न पुग्छ ।

 

kathputla

 

पाँचौँ कथा ‘विमर्द’ मा एकजना ‘ट्रान्सवुमन’ नीरज उर्फ निर्जलाको वर्णन छ जो अमेरिकी राज्य बोस्टनबाट नयाँ दिल्लीको एउटा सेमिनारमा कार्यपत्र प्रस्तुतकर्ता हुँदै आफ्ना विधुर पिता प्रतिष्ठित बोर्डिङ स्कुलका अवकाशप्राप्त प्राचार्यलाई भेट्न काठमाडौं आएकी हुन्छे । घरमा आमाको शेषपछि बुबाको बेहाल भएको, सहयोगीका रूपमा घरमा राखेको सुकबीरले घरमा कब्जा जमाएको, आजीवन कडा अनुशासनमा रहेका र परिवारका सबैलाई उस्तै अनुशासनमा राखेका बुबाको बिजोग अवस्था आदि सबै देखेर सुकबीरलाई भनेर बुबालाई पहिले जस्तै यथासमय खानपीन, खाजा आदिको व्यवस्था गर्छे ।
एक ठाउँ उसको सोचाइ कथाकारले उल्लेख गर्दै लेखेकी छिन्, ‘सानैदेखि लुकेर आमाको टीका, लिपिस्टिक र नेलपालिस लगाउँथेँ । ‘यो बौलायो’ भन्दै बुबाले नीलडाम बनाउनुहुन्थ्यो । एउटा छोरो त्यो पनि विमर्द, लैङ्गिक नियम उल्लंघन गरी नयाँ क्षितिजमा उडान भर्न आतुर । बुबाको कुरा बुझ्थेँ म, तर बुबालाई बुझाउन असमर्थ थिएँ ।

‘परिवार र घरबाट निष्काशित भएपछि अरू कहीँबाट निष्काशित हुने डरै नहुने रहेछ । आत्मदृढताको घुँडा टेकाएर हीनताबोध गराउने अथवा विश्वासको सगरमाथा चढाएर आत्मविश्वासी हुन सिकाउने आफ्नै परिवारजन नै हुन् । परिवारबाटै हीनताबोध र आत्मग्लानीको भारी बोकाउन थालियो भने त जीवन नै भार हुन थाल्छ । … मैले बढी समय आत्मपरिचय, आत्मअधिकार र आत्मसम्मानबारे सोच्नुपर्ने छ । मलाई म हुनु जरुरी छ ।’

सङ्ग्रहको छैटौँ कथा ‘विवस्त्र रामायण’ ले आर्यनारी मर्यादाकी मोडेल मैथिलीको आत्मकथाको पाण्डुलिपि पढ्दै गरेकी र मधेस बन्दले गर्दा बाटोमा ‘ध्रुवेको हुटेल’ मा बिसाउन पुगेको मीनाक्षी र मैथिलीका पति कौशल्यासुत रामानन्दजीका भाइ लक्ष्मणबीचको संवादका माध्यमबाट रामायणको पुनव्र्याख्या गर्न खोजेको छ । निश्चय पनि यो कथा पढ्ने धर्मभीरु अथवा रामायणभक्त मानिसले यसलाई मन पराउने छैन र कथाकारलाई मतिभ्रष्टको संज्ञा दिने छ किनभने कथाले अप्रत्यक्ष तवरले रामायण (समग्रमा धार्मिक ग्रन्थहरू) को भाष्य परिवर्तनको वकालत गरेको छ । रामायणलाई मैथिली अर्थात् सीताको नजरबाट कहेको छ । रामलीलाको वर्णन सर्वत्र छ भने सीतालीलाको वर्णन खोइ त भनेर प्रश्न उठाएको छ । एक ठाउँ मीनाक्षीको भनाइ छ, ‘शब्द आडम्बरमा आफ्नो सक्क्कली प्रतिबिम्ब नभेटेपछि विवस्त्र रामायण लेख्नुपर्ने बाध्यता भयो ।’

‘सत्य’ यस सङ्ग्रहको सातौँ कथा हो । यस कथामा उत्तर–पश्चिम एटलान्टिक महासागरमा पर्ने र संसारमै अत्यन्त रहस्यमय मानिने बरमुडा ट्रायङ्गलबारे विस्तृत जानकारी गल्प शैलीमा वर्णन गरिएको छ । खासमा यो ट्रायङ्गललाई डेभिल्स ट्रायङ्गल अथवा हरिकेन एले पनि भनिन्छ र यो अमेरिकी राज्य मायामी, पोर्तोरिको र बरमुडाले घेरिएको त्रिकोणात्मक क्षेत्र हो । कथाको एक प्रमुख पात्रले भन्छ, ‘बरमुडा ट्रायङ्गल यस्तो ठाउँ हो जहाँ सन् १९६४ देखि १९७४ सम्ममा ३७ ओटा र सन् १९९४ देखि २००३ सम्ममा थप २० ओटा हवाइजहाज रहस्यमय ढंगले हराए । सानाठुला, निजी जहाज, चार्टर जहाज, पानीजहाज, लक्जरी याच, अमेरिकन नेभीका बम खसाउने लडाकु टोरपिडो बम्बर र प्रसिद्ध फ्लाइट–१९ समेत कति जहाज पानीमा नुन बिलाए सरह बिलाए । ती हराएका जहाजको अवशेष आजसम्म भेटिएको छैन ।’

त्यसरी हराएका जहाजबारे खोजको सिलसिलामा गठन भएका आयोग र त्यससम्बन्धी किम्बदन्ती आदिबारे उक्त पात्र पामर आर्नोल्डले कथाकी सूत्रधार ‘म’ पात्रलाई भनेको हुन्छ जुन पात्र अमेरिकी स्वस्थ्य स्वयम्सेविका शर्ली लिबरम्यानसित खुम्बुको फेरिचे क्षेत्रमा पुगेकी हुन्छे र त्यही फेरिचेमा उनीहरूको भेट भएको हुन्छ । समसामयिक घटना र प्रवृत्तिबारे चासो राख्नेहरूका लागि कथा रमाइलो छ ।

सङ्ग्रहको आठौँ तथा अन्तिम कथा हो ‘सेतो बास्ना’ । यो बुझ्नेलाई फुलको माला सुन्नेलाई सुनको माला भन्नुपर्ने जस्तो कथा छ किनभने कथाकी एक मूल पात्रलाई के कुन कारणले मानसिक बिरामी बनाउँछ भन्ने भेउ पाउन सामान्य पाठकलाई कठिन नै हुने देखिन्छ । कथामा चारजना युवती मूल पात्र छन्– किरण, प्रेमा, तुषार मल्लिका र गौरिका । उनीहरू पद्मकन्या क्याम्पसमा अध्ययनरत हुन्छन् । चारैजना एकदम मिल्ने साथी । अन्तरंग साथी । एउटै सखीमण्डल । पछि एकपटक गौरिका अचानक क्याम्पसमा अनुपस्थित हुन थाल्छे । धेरै दिन गौरिका क्याम्पस नआएपछि अन्य तीनजना साथी उसलाई भेट्न उसको घर खोज्दै बसन्तपुर पुग्छन् जहाँ उनीहरूले आफ्नो साथीलाई मगज बिग्रेको अवस्थामा एउटा कोठामा थुनिएको, बाहिर निस्कन नदिइने गरेको र हात बाँधेरसमेत राख्ने गरेको अवस्थामा राखिएको देख्छन् ।

गौरिकाले साथीहरूसित कुरा गर्दा सधैँ आमा, बा र बहिनीका कुरा गर्थी तर साथीहरूले घर पुग्दा उनीहरू कसैलाई भेट्दैनन्् बरु गौरिकाकी हजुरआमा (अजी) र काम गर्न राखिएकी मैयाँलाई मात्र भेट्छन्, आमा पैसा कमाउन इजरायल गएको र गौरिकाका आमा–बा वर्षौं पहिले छुट्टिएको अजीले बताउँछिन् ।
समग्रमा कथा–सङ्ग्रह पढ्दा सरस छ । भाषाको मिठासले किताब सुरु गरेपछि कतिबेला सकियो भन्ने हेक्का हुँदैन अर्थात् भाषा सलल बगेको छ । आकर्षक छ । तापनि यो सामान्य पाठकका लागि भने हो जस्तै लाग्दैन बरु तुलनात्मक तवरले बौद्धिक वा राम्रै पढालेखा पाठकहरूका लागि लेखिएको प्रतीत हुन्छ । सङ्ग्रहको अन्तिम कथा ‘सेतो बास्ना’ मा ठाउँठाउँमा नेवारी शब्द र वाक्यहरू आएका छन् जसको अन्त्यमा फुटनोटका अंक दिइएका छन् तर तल कतै पनि तिनको नेपाली रूपान्तर दिइएको छैन ।

कथा–सङ्ग्रहको पहिलो कथा अन्तर्दाहमा वर्णन गरिएको घटना, जुन स्कुलको इन्टरभल समयमा भएको बुझिन्छ, सामान्यतया नेपालमा भए घटेको सुनिएको छैन । अक्सर भारतमा र हिन्दी सिनेमा, त्यसमा पनि जुभेनाइल जेलमा, भने यस्ता घटना भए गरेका देख्न पाइन्छ । त्यसकारण यो कथा आमा र छोराको मनोविज्ञानको सुन्दर वर्णन भए पनि कथानक वस्तुपरक लाग्दैन ।

त्यसैगरी परमात्मा समाहिता कथाको अन्त्यमा जे जस्तो प्रभाववादी वर्णन छ, त्यस किसिमका घटना परिघटना छिमेकी भारतमा जति पनि घटे घटाइएको सुन्न, पढ्न पाइन्छ तर नेपालको सन्दर्भमा यस्तो घटना परिवेश दुर्लभ छ, कतै सुनिएको छैन । यस्तो लाग्छ, कथाकारले आयातीत कथानक ल्याएर नेपाली परिवेशमा बुनिदिएर प्रस्तुत गरिएको मात्र हो ।

सङ्ग्रहका आठमध्ये पाँचओटा कथामा विदेश वा विदेशीको प्रसङ्ग छ । ती सबैमा अमेरिका वा अमेरिकी नागरिककै प्रसङ्ग छ । यसो हुनुको कारण कथाकारले बेलाबखत अमेरिकामा लामो वा छोटो बसाईं गरेकाले हुनुपर्छ । जे भए पनि यी प्रसङ्गहरूले कथाहरूलाई रोचक नै बनाएका छन्, पूरकापेक्षी भूमिका खेलेका छन् ।

माथि पनि उल्लेख भइसकेको छ, दुई कथा –कठपुतला र सत्य– जस्ता उच्चस्तरीय रचना बुझ्न सामान्य पाठकलाई औधि कठिन छ । खासगरी कठपुतलाको स्वेरकाल्पनिक रोबोक्रोम कथानक त झनै कठिन प्रतीत हुन्छ । तर जिज्ञासु एवम् अध्ययनशील पाठकका लागि भने यो एक उपलब्धिमूलक रचना हो ।

बरमुडा ट्रायङ्गलबारे यसरी सविस्तार वर्णन नेपाली साहित्यमा भए गरिएको पहिलो रचना सम्भवतः प्रस्तुत कथा–सङ्ग्रहको ‘सत्य’ कथा नै होला । सङ्ग्रहको यो पनि एक उल्लेखनीय सिर्जना हो ।

निष्कर्षतः के भन्न सकिन्छ भने कठपुतला कथा–सङ्ग्रह आठओटा लामा र राम्रा कथाहरूको सङ्ग्रह हो । कथाकार अर्चना थापा यस सङ्ग्रहमार्फत राम्रो सम्भावना बोकेकी एकजना असल एवम् स्तरीय सर्जकका रूपमा देखा परेकी छिन् । उनले यही एउटै सङ्ग्रहमै कथा लेखनको बीट नमार्लिन र अरू पनि अनेक कथा–सङ्ग्रह बजारमा ल्याउने छिन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

शनिबार, असार १४, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*