एभिसी सेन्ट्रल जोन महिला भलिबल स्वर्ण विजेता सम्मानित

खेल सम्बाददाता
काठमाडौं । बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल सरकारले नगद सहित सम्मान गरेको छ । पूर्व घोषित तीन लाख रुपैयाँबाट खेलाडीलाई सम्मान गरिएको हो । ३ प्रशिक्षक र १ व्यवस्थापकले भने जनही १ लाख ५० हजार नगद पुरस्कार पाए ।
बंगलादेशमा भएको प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपाली महिला टिमले पहिलो पटक नै उपाधि जितेको थियो । ऐतिहासिक सफलता हात पार्ने खेलाडीलाई राष्ट्रिय खेलुकद परिषद्ले विमानस्थलमा स्वागत गर्ने क्रममा पुरस्कार घोषणा गरेको थियो ।
खेलाडीलाई अर्थमन्त्री डा। युवराज खतिवडाले नगदसहित सम्मान गरे । उनले दक्षिण एशियाली खेलकुदमा पनि पदक जित्नेका लागि शुभकामना दिए ।
नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको कर्भडहलका लागि सरकारले नै लगानी गर्ने भएको छ । जसका लागि अर्थमन्त्री खतिवडाले नेपाल भलिबल संघलाई उपयुक्त जग्गाको खोजी गर्न आग्रह गरेका छन । सरकारले हाल पदक जितेवापत खेलाडीले पाउँदै आएको पुरस्कार राशिमा पनि बृद्धी गर्ने अर्थ मन्त्री खतिवडाले बताए ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सेन्ट्रल जोनमा स्वर्ण विजेता खेलाडी सम्मानित भएकोमा बधाइ दिँदै उक्त सम्मान सबै खेलाडीको सम्मान भएको बताए । उनले यो सम्मानलाई सरकारले सिंगो खेल क्षेत्रलाई गरेको सम्मानका रुपमा लिन पनि आग्रह गरे ।
उनले सिंगो नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद क्षेत्रको गौरवका रुपमा रहेको बताए ।

मंगलबार, मंसिर  १० , २०७६ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*