काठमाडौंमा अक्सर किन हुन्छ ‘फ्लाइट डिले’?

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) केही समययता बढीभन्दा बढी ‘फ्लाइट डिले’ को समस्यासँग पौैठेजोरी खेलिरहेको छ।

जब यात्रु आफ्ना गन्तव्य पुग्न जहाज कुर्दै विमानस्थलमा घन्टौं बस्नुपर्ने अवस्था सिर्जना हुन्छ तब विमानस्थल कुनै रमाइलो ठाउँ हुँदैन। यस्तो बेला यात्रुले प्रत्येक मिनेट प्रत्येक घन्टा बराबर र प्रत्येक घन्टा प्रत्येक दिन बराबर महसुस गरिरहेका हुन्छन्।

केही समययता हवाई यात्रा गर्ने यात्रुले उडान विलम्ब (फ्लाइट डिले) को कष्टदायी अवस्थाबाट गुज्रिनुपरेको छ। यसबाट प्रत्यक्ष यात्रु पीडित भए पनि सँगसँगै वायुसेवा कम्पनीहरू पनि त्यसैको मारमा परिरहेका छन्।

‘वायुसेवा कम्पनीले के चाहन्छ भने मेरो यात्रु तोकिएकै समयमा उडोस्, जसले गर्दा कम्पनीको प्रतिष्ठा बढोस्। मेरै जहाजबाट बढिभन्दा बढी यात्रुले उडान गरुन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन्, ‘ऊ कहिल्यै चाहँदैन कि मेरो जहाज डिले होस्। मैले अघि नै भनेँ विभिन्न कारणले फ्लाइट डिले हुने गर्छ । यसमा वायुसेवा कम्पनीको कुनै दोष छैन।’

ठाकुरका अनुसार व्यस्त पर्यटन मौसम, प्रतिकूल मौसम, त्रिभुवन विमानस्थलमा रहेको एकमात्र धावनमार्ग र यसको ‘वान वे एप्रोच’ जस्ता प्राविधिक कारण पछिल्लो समय फ्लाइट डिले भइरहेका हुन्।

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण त्रिभुवन विमानस्थल बिहान सबेरैदेखि आधा रातसम्म व्यस्त हुने गर्छ। यहाँ प्रत्येक दिन बिहान ६ बजेबाट मध्यरात साढे १२ बजेसम्म जहाज निरन्तर उडान र अवतरण भइरहन्छन्। योसँगै अन्य मर्मतका काम र जहाज पार्किङका काम लगायत दैनिक गतिविधि विमानस्थलमा निरन्तर सञ्चालन भइरहन्छन्। यात्रुले यस्ता गतिविधि नदेखे पनि यी यस्ता काम हुन् जसले विमानस्थललाई निरन्तर सञ्चालन गरिरहन महत्वपूर्ण योगदान गरिरहेका हुन्छन्।

त्यसबाहेक विमानस्थलमा यात्रु, वायुसेवा कम्पनी र ‘ग्राउन्ड ह्यान्डलिङ’ का कामदारलाई सबैभन्दा बढी समस्या पारिरहेको चुनौतीको अवस्था भनेको प्रतिकूल मौसमका कारण हुने फ्लाइट डिले हो र यसको प्रमुख प्रमुख कारण कुहिरो हो।

वायुसेवा कम्पनीहरूका अनुसार बिहान सबेरैको प्रतिकूल मौसमले दिनभरिको उडान तालिका प्रभावित पार्ने गर्छ। यसले गर्दा ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) ले मौसम सुधारको अनुमति नदिएसम्म कुनै पनि जहाजले उडान गर्न पाउँदैनन्। यद्यपि, अधिकांश वायुसेवा कम्पनीले प्रतिकुल मौसमका बेला ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) का भरमा उडान–अवतरण गर्नुपर्छ।

मौसम सफा भएका बेला पाइलटले पनि भिएफआर प्रविधिको सहयोगमा उडान–अवतरण गर्नुपर्ने हुनसक्छ। प्रतिकूल मौसमका बेला भने पाइलटले आइएफआर प्रविधिको सहयोगबाट उडान–अवतरण गर्नुपर्छ जसमा केही दुरीसम्म सफा र उपयुक्त मौसम हुनुपर्छ। आन्तरिक उडानका लागि पनि यही नियम पालना गर्नुपर्छ।

‘फ्लाइट डिलेको प्रमुख कारण के हो भने हाम्रो विमानस्थलमा एउटामात्र धावनमार्ग र एकमात्र एप्रोच छ । हामीसँग टु जिरो र जिरो टु गरी दुईतर्फी धावनमार्गको सुविधा भए पनि जिरो टु (कोटेश्वर क्षेत्र) बाट एकतर्फी उडान र एकतर्फी अवतरणको एप्रोच छ,’ त्रिभुवन विमानस्थलका प्रवक्ता ठाकुर भन्छन्, ‘साथै काठमाडौं उपत्यका कचौरा जस्तो आकारको छ, यसको आकास सानो छ जसले गर्दा जहाजलाई होल्ड गर्नुपर्ने बाध्यता छ।’

उनका अनुसार हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजको आवागमन हेर्ने हो भने दैनिक ४ सय ७० भन्दा बढी उडान–अवतरण हुने गर्छ। यो याममा मौसमले पनि धोका दिइरहेको छ। छिनछिनमा मौसम परिवर्तन भइरहेको हुन्छ । राति मेघगर्जन र दिउँसो तँुवालोले ढाकिरहेको हुन्छ। जसले आइएफआर उडान गर्नुपर्ने अवस्था आइपर्छ। यस्तो अवस्था आउनेबित्तिकै प्रतिघन्टा अधिकतम १२ देखि १३ भन्दा बढी उडान व्यवस्थापन गर्न सकिँदैन। जसको प्रभाव अन्य उडानमा पर्न जान्छ।

पछिल्लोपटक नेपाल घुम्न आउने पर्यटक संख्या बिस्तारै बढ्दै गएका कारण धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौं उडान संख्या वृद्धि गरेका छन्। ताजा तथ्यांकअनुसार त्रिभुवन विमानस्थलमा हाल २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले दैनिक करिब १ सय उडान–अवतरण गरिरहेका छन् भने आन्तरिकतर्फ दैनिक ३ सय ५० भन्दा बढी उडान–अवतरण भइरहेका छन्।

प्राकृतिकरूपमा व्यस्त पर्यटन यामका बेला त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान संख्या पनि उल्लेख्य हिसाबले वृद्धि भइरहेको हुन्छ। यसबाट राम्रो आम्दानी हुने देखिए पनि एकमात्र धावनमार्ग रहेकाले धावनमार्गमा पर्ने चाप तथा त्यसका कारण फ्लाइट डिले हुने गरेको विमानस्थलको भनाइ छ।

त्यसैगरी धावनमार्ग खाली भएका बेला जहाज ट्याक्सीवे र पार्किङ क्षेत्रमा थुप्रिने गर्छन्। ‘यसको अर्थ जब कुनै जहाज उडान गर्न तयार हुन्छ तब अवतरण गर्न आइरहेको अर्को जहाज थप केही घन्टा होल्ड गर्नुपर्ने अवस्था उत्पन्न हुने गर्छ,’ प्रवक्ता ठाकुर भन्छन्, ‘यो असाध्यै कष्टदायी अवस्था हो। यसबाट उड्न ठिक परेको जहाज थप केही समय रोकिनुपर्छ जसले गर्दा हवाई ट्राफिक चाप बढाउन मद्दत पुगिरहेको हुन्छ।’

त्यसबाहेक त्रिभुवन विमानस्थलमा हाल सञ्चालन भइरहेका विभिन्न पूर्वाधार निर्माणका गतिविधिले ट्याक्सीवेलाई थप सीमित गरिदिएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय जहाजका उडान–अवतरणलाई बढी प्राथमिकता दिने गरिएको छ। जसका कारण आन्तरिक उडानमा सम्झौता हुने गरेको वायुसेवा कम्पनीहरूको गुनासो छ।

‘जबसम्म विमानस्थलमा जारी पूर्वाधार निर्माणका काम पूरा हुँदैनन् तबसम्म थप केही वर्ष फ्लाइट डिलेको समस्या यथावत र अनिवार्य हुने निश्चित छ,’ एक वायुसेवा सञ्चालकले भने, ‘यसमा नियामक निकायको ध्यान जान जरुरी छ।’

त्रिभुवनसहित देशभरिका विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो। प्राधिकरणले हाल त्रिभुवन विमानस्थलमा मात्र करिब ११ अर्ब रुपैयाँ खर्च गरी विभिन्न पूर्वाधार निर्माण, विद्यमान पूर्वाधार सुधार र मर्मतलगायत काम गरिरहेको छ।

‘हो, यहाँ धेरै समस्या छन् र यो पनि हो कि यो सोचे जति सजिलो पनि छैन। यस्ता सबै समस्या समाधान हुन केही वर्ष पक्कै लाग्ने छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘र, नेपालका सबै आन्तरिक वायुसेवा कम्पनीहरू यात्रुलाई उत्कृष्ट उडान अनुभव तथा सेवा दिन सधैं प्रतिबद्ध रहेको र सधैं यही प्रयास गरिरहनेमा हामी विश्वस्त छौं।’ (आयोमेलबाट सधन्यवाद साभार)

सोमबार, मंसिर १३, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*