काठमाडौंमा बर्डफ्लु, ३५०काग मरे

संवाददाता
काठमाडौं ।
काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ ।

‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच५एन१ पोजेटिभ देखियो,’ प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने ।

नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलोपटक पुष्टि भएको चिकित्सकहरूले बताएका छन् । पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको बताए । उनका अनुसार पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको छ ।

टोखा क्षेत्रमा केही समयअघि कुखुरामा बर्डफ्लु देखिएको र फालेका कुखुरा खाँदा कागमा सरेको हुन सक्ने अनुमान पशु चिकित्सकको छ । श्रेष्ठले बर्डफ्लु कुखुरा र कागबाट मानिसमा सर्ने सम्भावना बराबर हुने बताए । मानिसबाट मानिसमा सर्ने क्रम झन् तीव्र हुने उनले बताए ।

काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको (कागमा बर्डफ्लु) देखिएपछि सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले थप सजग रहन सबैलाई आग्रह गरेका छन् ।

भक्तपुरमा करिब तीन हजार कुखुरा नष्ट
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटको उत्कृष्ट बहुउद्देश्य कृषि फर्ममा बर्डफ्लु संक्रमित दुई हजार नौ सय ८५ कुखुरा नष्ट गरिएको छ । सोही फर्ममा एक सय ५० केजी दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।

दधिकोटको तर्खालका सञ्जीव बुढाथोकीले सञ्चालन गरेको फर्ममा रहेका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण भएको पुष्टि भएपछि वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठ नेतृत्वको टोलीले सो संख्याका कुखुरा नष्ट गरेको हो । अहिले सो क्षेत्रमा भाइरस नियन्त्रणको प्रयास भइरहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए । फर्म आसपासको क्षेत्रमा रहेका अन्य फर्महरूमा समेत ल्याब परीक्षण भइरहेको विभागले जनाएको छ ।

शुक्रबार, चैत २२, २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*