किन लकडाउन हटाउन चाहन्छन् ट्रम्प ?

वासिङ्गटन डिसी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) पछिल्लो समय अमेरिकामा अनियन्त्रित बन्दै गएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ का कारण अमेरिकामा बिहीबार एकैदिन ४ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमण देखिएयता कुनै पनि देशमा एकैदिन मृत्यु भएको यो सबैभन्दा बढी हो ।

कोभिड–१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा विश्वकै उच्च छ । मृतकको संख्या हालसम्म ३३ हजार ३ सय नाघिसकेको छ । संक्रमितको संख्या सात लाख पुग्न लागेको छ ।

भाइरसको संक्रमण अनियन्त्रित भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले कपितय राज्यमा लगाइएका प्रतिबन्ध मे पहिलो सातादेखि हटाउन गभर्नरहरूलाई निर्देशन दिएका छन् । हाल जारी प्रतिबन्धहरू तीन चरणमा हटाइने जनाउँदै ट्रम्पले केही राज्यहरूमा त्यो प्रक्रिया चाँडै सुरु हुने बताए ।

‘अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन्,’ राष्ट्रपति ट्रम्पले बिहीबार पत्रकारहरूसँग भने, ‘देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन ।’ लकडाउन लम्बिँदै जाँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपिएको ट्रम्पको दाबी छ ।

राष्ट्रपति ट्रम्पले लकडाउन लामो समयसम्म जारी राख्दा औषधि तथा मदिराजन्य पदार्थको दुरुपयोग हुने, मुटुरोगलगायत शारीरिक तथा मानसिक समस्यामा पनि तीव्र वृद्धि हुने दाबी गरे । उनका अनुसार स्वस्थ नागरिकहरू काममा फर्किन प्रतीक्षारत छन् । सामाजिक दूरी कायम गर्नुका साथै स्वस्थ वातावरण महसुस नगरेको खण्डमा घरमै बसे लकडाउन गरिरहनु आवश्यक छैन ।

ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार भेटघाटका क्रममा उनले गभर्नरहरूलाई आवश्यकताअनुसार आआफ्ना राज्यमा कदमहरू चाल्न अनुमति दिइने जनाए । गभर्नरहरूले चाल्ने कदमको सहयोग र व्यवस्थापन आफैं गर्ने ट्रम्पको भनाइ छ ।

यसअघि ट्रम्पले गभर्नरले चाहे मे पहिलो साताभन्दा अघि पनि कतिपय राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए । तर प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम पुन: सञ्चालन गर्ने समयबारे गभर्नरहरू र ट्रम्पबीच गम्भीर मतभेद छ ।

यसअघि ट्रम्पले अमेरिकाले नयाँ संक्रमितको उत्कर्ष पार गरिसकेको बताएका थिए । अमेरिकाले हालसम्म जनसंख्याको करिब एक प्रतिशत हाराहारीमा कोभिड–१९ को परीक्षण गरिएको जनाएको छ ।

विश्वभर कोभिड–१९ का कारण ज्यान गुमाउनेहरूको आधारमा अमेरिकामा मृत्यु दर बढी छ । तर ट्रम्पले अन्य देशले मृतकको संख्या लुकाएको दाबी गर्दै आएका छन् । ‘ती केही देशहरूले भनेको संख्यामा साँच्चिकै कोहीले विश्वास गर्छ ?’ चीनको नाम लिँदै ट्रम्पले पत्रकारहरूलाई भनेका थिए ।

चिनियाँ समकक्षीसँगको टेलिफोन कुराकानीमा विदेशमन्त्री माइक पोम्पियोले कोभिड–१९ बारे पूर्ण रूपमा पारदर्शी हुनुपर्ने बताएका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पोम्पियोले यसअघि पटकपटक चीनले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या लुकाएको बताउँदै आएका थिए । तर उक्त भनाइलाई चीनले अस्वीकार गर्दै आएको छ ।

अर्थतन्त्रको चिन्ता

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको अर्थतन्त्र पुन: खोल्ने विषय एक पटक चालिने एउटा सावधानीपूर्ण कदम भएको बताए । आफ्नो प्रशासनद्वारा राज्यका गर्भनरहरूका लागि जारी १८ पृष्ठ लामो निर्देशिकामा ट्रम्पले अर्थतन्त्र तीन चरणमा खोलिने उल्लेख गरेका छन् । उनका अनुसार एक चरण कम्तीमा दुई साता लामो हुनेछ ।

निर्देशिकाअनुसार कुनै क्षेत्र महिना दिन लामो मूल्यांकनपछि सामान्य अवस्थामा फर्किन सक्नेछन् । तर संक्रमण धेरै रहेका र वृद्धिदर बढी भएका स्थानमा त्योभन्दा बढी लाग्न सक्छ । तर कतिपय विश्लेषकहरूले राष्ट्रपति भाइरसका कारण उत्पन्न संकट चाँडै हट्नेमा बढी नै आशावादी भएको बताएका छन् ।

अहिले सबै अमेरिकी राज्यमा संकटकाल लगाइएको छ । जसका कारण बेरोजगारहरूको संख्या हालसम्मकै उच्च छ । ७० लाखभन्दा बढी मानिसले बेरोजगारी सुविधाका लागि आवदेन दिइसकेका छन् । कोभिड–१९ कै कारण एक करोडभन्दा बढी मानिसले रोजगारी गुमाएको जनाइएको छ ।

बजारबाट कोरोना फैलिएकामा आशंका

ट्रम्पले कोभिड–१९ चीनको वुहानस्थित बजारबाट नभई प्रयोगशालाबाट उत्पन्न भएको भन्ने अपुष्ट रिपोर्टहरू हेरिरहेको बताए । ‘म फेरि पनि भन्छु हामीले यसबारे सुनेका छौं । हामी यसबारे हेर्छौं,’ उनले भने । पछिल्ला वर्षहरूमा वुहानस्थित दुइटा प्रयोगशालाको सुरक्षाबारे बेइजिङस्थित अमेरिकी दूतावासले यसअघि नै चासो व्यक्त गरेको अमेरिकी सञ्चार माध्यमले समाचार प्रकाशन गरेका थिए । तर अमेरिकी चिफ अफ स्टाफ प्रमुख जर्नेल मार्क मिलीले अमेरिकी गुप्तचर सेवाले भाइरस प्राकृतिक रूपमा नै उत्पन्न भएको विश्वास गरेको जनाएका छन् ।

नियमित पत्रकार भेटका क्रममा ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लूएचओको पुन: आलोचना गरेका छन् । उनले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णय सुरुमा डब्लूएचओले आलोचना गरेको बताए ।

‘दुर्भाग्यवश अझै पनि कतिपय देशहरूले डब्लूएचओमाथि विश्वास गरिरहेका छन् । संगठनप्रति कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्,’ ट्रम्पको भनाइ छ । इटाली, स्पेन र फ्रान्सका भाइरस संक्रमितको उदाहरण दिँदै ट्रम्पले ती देशहरूले गम्भीर गल्ती गरेका भए पनि बुझिसकेको जनाए ।

यसअघि ट्रम्पले ‘कोभिड–१९ को महामारी रोक्न न्यूनतम कर्तव्य पूरा गर्न असफल भएको’ भन्दै डब्लूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्न निर्देशन दिइसकेका छन् । चीनमा भाइरसको संक्रमण देखिएपछि त्यसलाई डब्लूएचओले सही ढंगले व्यवस्थापन गर्न नसकेको र ढाकछोप गरेको उनको आरोप छ । (एजेन्सी/कान्तिपुर )

शुक्रबार, ५ वैशाख २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*