कोरोना : फोहोरमैला व्यवस्थापनमा चुनौती थपिँदै

काठमाडौं । कोरोना संक्रमण (कोभिड– १९)ले विश्वभर महामारीको रूप लिँदै गएपछि नेपाल पनि गत ११ चैतबाट लकडाउनमा छ । यस अवधिमा सरकारले अत्यावश्यक सेवा मात्र चल्न पाउने निर्णय गरेको छ ।

अत्यावश्यक सेवाभित्रै पर्छ फोहोरमैला व्यवस्थापन पनि । र, सरकारले फोहोरमैला व्यवस्थापन गर्न निर्देशनसमेत दिइसकेको छ । तर, फोहोरमैला व्यवस्थापन अपेक्षाकृत हुन सकिरहेको छैन । सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीका लागि मास्क, स्यानिटाइजरलगायतको व्यवस्था गरेको भए पनि पर्याप्त छैन ।

यहीबीचमा फोहोरमैलाको डम्पिङसाइट सिसडोलका बासिन्दाले कोरोनाको जोखिम हुन सक्ने भन्दै फोहोर डम्पिङ गर्न कडाइ गर्दै आएका छन् । त्यसैले निश्चित परिमाणमा मात्र फोहोरमैला व्यवस्थापन हुँदै आएकाले पछिल्लो समय फोहोर उठाउने परिमाण पनि घटेको फोहोर व्यवस्थापन संघका पूर्वअध्यक्ष वासुदेव उप्रेतीले बताए ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक दुई सय ५० वटासम्म फोहोरमैला बोकेका गाडी सिसडोल जाने गरेको उनले बताए । तर, अहिले दैनिक सयको हाराहारीमा मात्र गाडी सिसडोल जाने गरेका छन् । यद्यपि ककनी गाउँपालिकाका अध्यक्ष केदार पौडेले भने दैनिक ६० वटा मात्र ल्याउन भनिएको बताए । उनले फोहोरमैला टिप्न आउनेलाई पनि रोकिएको बताए ।

सरकारले बेवास्ता गर्‍यो : संघ
फोहोर व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । ‘सरकारले स्वास्थ्यकर्मीलाई २५ लाखसम्मको बिमा गरिदिने भएको छ,’ उनले भने, ‘तर अस्पतालहरूको फोहोर उठाउने फोहोरमैला व्यवस्थापनका कर्मचारीलाई भने पर्याप्त मास्कसमेत उपलब्ध गराएको छैन ।’

घिमिरेले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीको पनि अभाव हुन थालेको बताए । कोरोना भाइरसकोे जोखिम बढ्ने भन्दै अधिकांश कर्मचारी घर गएको उनको भनाइ छ । उनले भने, ‘हामीले काउन्सिलिङ गरिरहेका छौँ, तर यस्तो अवस्था लम्बिँदै गयो भने कर्मचारी नै नआउने अवस्था रहन सक्छ ।’

बोरा बोकेर फोहोर उठाउने थप समस्यामा
लकडाउनका कारण बोरा बोकेर कवाडी तथा फोहोर संकलन गर्नेहरू झनै समस्यामा परेको संयुक्त सफाइ जागरण अभियानकी सदस्य माया तामाङले बताइन् । फोहोर बोक्नेले ज्यालाबापतको रकम पाउने भए पनि बोरामा कवाडी तथा फोहोर संकलन गरेबापतको मात्र पाउने भएकाले उनीहरू चरम संकटमा परेको तामाङको भनाइ छ ।

‘अहिले त्यस्ता मजदुर कतै फोहोर उठाउन जान सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘त्यस्तै कवाडी खरिद गर्ने उद्योग पनि बन्द छन् ।’ फोहोर व्यवस्थापन संघले ४० जनालाई खाद्यान्नसमेत वितरण गरेको संघका पूर्वअध्यक्ष उप्रेतीले बताए । उप्रेतीका अनुसार बोरा बोकेर फोहोर उठाउने करिब सात सय छन् । (नयाँ पत्रिकाबाट) 

शुक्रबार, २०७६ चैत २१,  मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*