कोरोना भाइरसको उत्पत्तिबारे निष्कर्षमा पुग्ने बेला भएको छैन : डब्लूएचओ 

जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको उत्पत्तिबारे अहिले नै निष्कर्षमा पुग्ने बेला नभएको बताएका छन् ।

मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको उत्पत्तिबारे अझै गहन अध्ययन आवश्यक रहेको बताएका हुन् । ‘कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको हो/होइन भन्ने कुराको निष्कर्षमा पुग्न अझै गहन अध्ययन आवश्यक छ,’ उनले भने ।

महानिर्देशक गेहब्रेयससले भने, ‘ चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको हो भन्ने कुरा सत्य हुने सम्भावना निकै कम रहेको छ । बिना गहन अध्ययन यसका बारेमा केही भन्नु ठीक हुँदैन ।’ उनले अगाडि भने, ‘यो रिपोर्ट महत्वपूर्ण छ तर यो अन्त्य होइन । हामीले भाइरसको स्रोत पत्ता लगाउन सकेका छैनौँ ।’

डब्लूएचओले मंगलबार कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । १२० पेज लामो प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको बताइएको छ । चमेरो र सालकले कोरोना सारेको हुन सक्ने प्रारम्भिक अध्ययनमा बताइएको छ ।

डब्लूएचओको प्रतिवेदनमा फार्ममा पालिएको जंगली जनावर कोरोना भाइरस सार्ने प्रमुख स्रोत भएको हुन सक्ने सम्भावना बलियो भएको बताइएको छ । तर कोरोना भाइरसको उत्पत्तिको स्रोत मानिएको चमेरोले कुन जनावरलाई संक्रमित बनायो भन्नेचाहिँ अध्ययनमा खुल्न सकेको छैन । चमेरोबाट कुनै जनावरमा सरेर त्यसपछि मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित डब्लूएचओको टिम अध्ययनका लागि जनवरी १४ देखि फेब्रुअरी १४ सम्म कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको वुहान पुगेको थियो । अध्ययन टोलीमा १७ जना चिनियाँ र विभिन्न मुलुकका १७ जना विज्ञ सहभागी थिए ।

अमेरिका,बेलायत ,क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका छन् । त्यस्तै युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने बताएको छ ।

अमेरिकासहितका मुलुकले निकालेको संयुक्त वक्तव्यमा आगामी दिनको अध्ययनमा अझै पारदर्शी, प्रमाण तथा तथ्यांकसहितको रिपोर्ट आओस् भन्ने चाहना रहेको बताएका छन् । त्यस्तै अमेरिकाले डब्लूएचओलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेको छ । चीनले भने आफ्नो प्रयोगशालाबाट कोरोना फैलिएको भन्ने आरोप आधारहीन र झूट भएको बताउँदै आएको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाको नागरिकले यससम्बन्धी राम्रो सूचनाको अपेक्षा गरेको बताएका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकी भन्छिन् –‘विश्व समुदाय, बिरामीका ज्यान बचाइरहेका स्वास्थ्यकर्मी कोरोना उत्पत्तिबारेमा अझ पारदर्शी अध्ययन चाहन्छन् ।’

बिहीबार, चैत १९, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*