छात्रवृत्तिमा पढ्न मात्र सरकारी स्कुुल

काठमाडौं: थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालयमा गत वर्ष कक्षा ९ मा मात्र एक सय चालीसजना विद्यार्थी भर्ना भएका थिए । यो संख्या अन्य कक्षामा भर्ना भएका विद्यार्थीको तुलनामा निकै धेरै थियो । भर्ना हुन आएका नयाँमध्ये अधिकांश विद्यार्थी निजी स्कुलका थिए । स्कुलका प्रधानाध्यापक लीलानाथ घिमिरेका अनुसार पचास प्रतिशतभन्दा धेरै विद्यार्थी निजी स्कुल छोडेर आएका थिए । कक्षा ८ सम्म निजीमा पढेर कक्षा ९ र १० मा मात्र किन सरकारी स्कुलमा भर्ना हुन आए त ?

प्रधानाध्यापक घिमिरे भन्नुहुन्छ, ‘सरकारी स्कुलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई एमबीबीएसलगायत अन्य विषयको छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने सरकारी नीति भएका कारण कक्षा ९ मा भर्ना हुने विद्यार्थी बढेका हुन् ।’डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक स्कुलमा पनि हरेक वर्ष कक्षा ८ र ९ मा भर्ना हुने विद्यार्थीमात्र धेरै आउँछन् । यसरी भर्ना हुन आउने विद्यार्थीमध्ये अधिकांशको एउटै उद्देश्य हुन्छ-सरकारी स्कुलबाट छात्रवृत्तिमा अध्ययन गरेको देखाएर उच्च शिक्षा अध्ययनका लागि सरकारले प्रदान गर्ने छात्रवृत्तिमा प्रतिस्पर्धा गर्ने ।

‘कक्षा ८ र ९ मा मात्र विद्यार्थी भर्ना हुने प्रवृत्तिले गर्दा सरकारी स्कुलमा तल्ला कक्षाहरूमा थोरै र माथिल्लो कक्षामा धेरै विद्यार्थी भएपछि सरकारी स्कुल पिरामिडजस्ता भएका छन् । माथिल्लो भाग सुकेको र तल्लो भाग फुकेको’, विद्यालयकी प्रधानाध्यापक रीता तिवारी भन्नुहुन्छ। अभिभावकहरूले तल्ला कक्षाहरूमा निजी र माथिल्लो कक्षामा सरकारी विद्यालयमा नानीबाबु भर्ना गर्ने प्रवृत्तिका कारण सामुदायिक विद्यालय समस्यामा परेको तिवारीको भनाइ छ। सरकारले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले कक्षा १ देखि नै सरकारी स्कुलमा पढेको हुनुपर्ने नीतिगत व्यवस्था गर्न सकेमा सामुदायिक स्कुलको स्तर उकास्न मद्दत पुग्ने तिवारीको सुझाव छ ।

सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेमा सरकारी निकायले प्रदान गर्ने मेडिकल, इन्जिनियरिङ, नर्सिङ लगायतका सबै विषय अध्ययन गर्न छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाइन्छ । अहिले शिक्षा विभागले विद्यालय तहमा अध्ययनका लागि उपलब्ध गराउने छात्रवृत्ति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी)ले उपलब्ध गराउने मेडिकल, इन्जिनियरिङ, ओभरसियर, नर्सिङ लगायतका संस्थाले छात्रवृत्ति प्रदान गरिरहेका छन् ।

विद्यार्थी आफैंले रकम खर्च गरेर पढ्नुपर्दा महँगो पर्ने हुनाले धेरै अभिभावकले छात्रवृत्तिमा नाम निकालेर छोराछोरीलाई यस्तो विषय पढाउने चाहना राख्छन्। यस्ता विषय पढ्नका लागि छात्रवृत्तिमा प्रतिपस्पर्धा गर्न सरकारी स्कुलबाट एसएलसी उत्तीर्ण हुनुपर्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि उपलब्ध गराउने कोटामा प्रतिस्पर्धा गर्न सरकारी स्कुलमा कक्षा ८ देखि र शिक्षा मन्त्रालयलगायत अन्य निकायले प्रदान गर्ने कोटामा प्रतिस्पर्धा गर्न कक्षा ९ देखि सामुदायिक स्कुलमा पढ्नुपर्ने कानुनी व्यवस्था छ ।

निजी स्कुलमा अध्ययन गरेर एसएलसी उत्तीर्ण गरेका विद्यार्थी यस्तो प्रतिस्पर्धामा सहभागी हुन पाउँदैनन् । बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले राम्रा कहलिएका सामुदायिक विद्यालयमा तल्ला कक्षादेखि नै विद्यार्थी आकर्षण बढे पनि धेरैजसो विद्यालयमा छात्रवृत्तिको लोभमा भर्ना हुने प्रवृत्ति रहेको बताउनुभयो ।

(सुर्यप्रसाद पाण्डे, २०७४ बैसाख १२, मंगलबार, अन्नपूर्ण पोष्ट दैनिक)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*