ट्रम्प, बहाल रहेकै बेला पराजित हुने ११औं राष्ट्रपति

वासिङ्गटन डिसी । संयुक्त राज्य अमेरिकमा गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन विजयी भएका छन् । उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार थिए । उनी वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उममेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका हुन् ।

यसरी पदमा बहाल रहेकै समयमा निर्वाचनमा पराजित भएपछि ट्रम्प दोस्रो कार्यकाल गुमाउने एघारौं अमेरिकी राष्ट्रपति भएका छन् ।

समाचारहरूमा जनाइएअनुसार, पछिल्लो समय महामारीका रूपमा फैलिएको कोभिड–१९, भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा आएको संकट, बेरोजगारी समस्या, आप्रवासीप्रतिको कठोर कदम, विदेश मामिलामा असफल नीति, रंगभेदी क्रियाकलाप तथा अघिल्लो चुनावताकाका वाचा पूरा गर्न नसकेका कारण ट्रम्प पराजित भएको विश्लेषकहरूको भनाइ छ ।

चुनावको अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रममा निकै बेचैन देखिएका ट्रम्पले पछिल्ला केही घण्टा टेलिफोन र टेलिभिजनमा समय बिताएका सीबीएस न्युजले जनाएको छ । शनिबार उनले आफ्नो समय ओभल अफिस तथा निवासमै बिताएका जनाइएको छ ।

मतगणनामा बाइडेनले अग्रता कायम गर्दै गएपछि मतगणना रोक्न माग गरेका ट्रम्प आफ्ना सहयोगीहरू निकै कम मात्रामा सडकमा उत्रेका भन्दै क्रुद्ध र निराश बनेका थिए । ट्रम्पको निर्वाचन अभियानले कानुनी लडाइँ लड्ने बताएको भए पनि कतिपय सहयोगीले त्यसबारे चुनाव हुनुभन्दाअघि वा मतगणना सुरु नहुँदै सोच्नुपर्ने बताएका जनाइएको छ ।

ट्रम्प समूहले हालसम्म विभिन्न ४ वटा राज्यमा कानुनी चुनौती पेस गरेको छ । तर चुनाव वा मतगणनामा धाँधली भएको कुनै ठोस प्रमाण नरहेको रिपब्लिकन नेताहरूको भनाइ छ । ट्रम्प समूहले कानुनी कारबाही अघि बढाउने भन्दै त्यसका लागि आवश्यक पर्ने दसौं लाख डलर चन्दामार्फत संकलन गर्नका लागि आह्वान गरेको छ । बीबीसीका अनुसार चुनावमा धाँधली भएको विषयमा कैयौं रिपब्लिकन नेताहरूले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । ट्रम्प पक्षधरले विवादित बताउन खोजेको पेनसिल्भेनियाका सिनेटर प्याट टुमेले धाँधली नभएको बताइसकेका छन् ।

सन् २०१२ मा राष्ट्रपति उम्मेदवार मिट रोम्नीले ट्रम्पले गरेका आधारहीन दाबीले अमेरिकामा मात्र नभई विश्वमा नै स्वतन्त्रताको विषयमा धक्का पुग्ने प्रतिक्रिया दिएका छन् । ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले रिपब्लिकन नेताहरू सञ्चारमाध्यमसँग डराएका आरोप लगाएका छन् ।

रिपब्लिकन नेताहरूको अनुरोधपछि सर्वोच्च अदालतले पेन्सल्भेनिया राज्यका अधिकारीलाई हुलाकमार्फत निर्वाचनको दिनभन्दा पछि प्राप्त भएका मतपत्र छुट्टै राख्न आदेश दिएको छ ।

तर त्यस्ता मतपत्रको संख्या निकै कम भएकाले चुनावी परिणाममा असर पर्ने सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् । दुई सय ३१ वर्ष लामो अमेरिकी राष्ट्रपतीय चुनावी इतिहासमा यसअघि ४४ मध्ये १० जना राष्ट्रपति दोस्रो कार्यकालका लागि असफल भएका छन् । जोन अफ केनेडीको भने राष्ट्रपति छँदै हत्या गरिएको थियो ।

पछिल्लो पटक सन् १९९२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुस दोस्रो कार्यकालका लागि पराजित भएका थिए । उनलाई डेमोक्य्राट उम्मेदवार बिल क्लिन्टनले हराएका थिए । अमेरिकाका ४१ औं राष्ट्रपति बुस सन् १९७६ देखि १९८० सम्म केन्द्रीय अनुसन्धान संस्थाको निर्देशक थिए । उनका छोरा जर्ज डब्लू बुस भने २००० देखि दुई कार्यकाल राष्ट्रपति भए । त्यस्तै, सन् १९८० मा जिमी कार्टर पनि दोस्रो कार्यकाल निर्वाचनमा असफल भएका थिए । उनी रोनाल्ड रेगनसँग पराजित भएका थिए । आफ्नो जीवनमा कुनै पनि चुनाव नजितेका गेराल्ड फोर्ड पनि दोस्रो कार्यकालका लागि असफल भएका थिए । स्न १९७३ देखि उपराष्ट्रपति रहेको उनी रिचार्ड निक्सनको राजीनामासँगै सन् १९७४ देखि ३ वर्ष राष्ट्रपति भएका थिए । उनी १९७६ को चुनावमा जिम्मी कार्टरसँग पराजित भए ।

सन् १९२८ मा राष्ट्रपति बनेका हर्बट हुभर एक वर्षपछिको आर्थिक संकट पार लगाउन नसकेपछि १९३२ को चुनावमा फ्रांकलिन डी रुजबेल्टसँग पराजित भए । सन् १९०९ देखि १९९३ सम्म राष्ट्रपति बनेका विलियम होवार्ड टाफ्ट दोस्रो कार्यकालका लागि असफल भए । १९१२ को चुनावमा उड्रो विल्सनसँग हारेका उनी अमेरिकाको राष्ट्रपति र प्रधानन्यायाधीश बन्ने एकमात्र व्यक्ति हुन् । राष्ट्रपति भएसँगै उनले अफ्रिकी मूलका अमेरिकीलाई संघीय जागिरमा नियुक्त नगर्ने उद्घोष गरेका थिए ।

सन् १८८८ मा आफूले पराजित गरेका ग्रुभर क्लिभल्यान्डसँग १८९२ हारेपछि बेन्जामिन ह्यारिसन दोस्रो कार्यकाल राष्ट्रपति हुन पाएनन् । लगातार दोस्रो कार्यकाल पदमा बस्न नपाएका भए पनि क्लिभल्यान्डले ह्यारिसनलाई पराजित गर्दै १८९२ मा दोस्रो पटक राष्ट्रपति भएरै छाडे । त्यसअघि उनी १८८४ मा विजयी भएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको १८८८ को चुनावमा लोकप्रिय मत भने क्लिभल्यान्डकै पक्षमा परेको थियो । दोस्रो कार्यकाल ताकेका मार्टिन भान बुरेन पनि १८४० मा पराजित भएका थिए ।

जोन एडम्स दोस्रो कार्यकालका लागि पराजित हुने पहिलो राष्ट्रपति हुन् । सन् १७८९ मा अमेरिकी राष्ट्रपति कार्यालय स्थापना भएपछि जर्ज वासिङ्टनलाई राष्ट्रपति बनाइएको थियो । जोन त्यतिबेला उपराष्ट्रपति बनेका थिए ।

त्यसैगरी, जोन क्विन्सी एडम्सले पनि दोस्रो पटकको चुनावमा हार व्यहोरेका थिए । उनी अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सका छोरा हुन् । त्यतिबेला उनको दल विभाजन नजिक पुगेका कारण पनि उनी पुनः निर्वाचित हुन नसकेको बताइन्छ । उनको पराजयसँगै डेमोक्य्राटिक–रिपब्लिकन दल विभाजन भएको थियो ।  (एजेन्सी)

सोमबार, कात्तिक २४, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*