तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको शव तीन सातापछि भेटियो

तुलसीपुर, १६ असार । दाङको तुलसीपुरबाट वेपत्ता व्यापारी राजकुमार श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिकाको जंगलमा मृत फेला परेका छन् । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ ।

तुलसीपुरमा बुटवल बस्त्रालय सञ्चालन गरेका श्रेष्ठ र स्काभेटरको ठेक्कापट्टा गर्ने हापुरका घर्तीमगर गत जेठ २७ गतेदेखि वेपत्ता थिए ।

श्रेष्ठको शव शुक्रबार छत्रेश्वरी गाउँपालिकाको रैजीकुटी जंगलमा फेला परेको तुलसीपुर प्रहरीले जनाएको छ ।

शवलाई अञ्चल प्रहरी कार्यालय तुलसीपुरले पोष्टमार्टम समेत गरेको छ । हत्यामा संलग्न केहीलाई पक्राउ पनि गरेको र उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने प्रहरीले जनाएको छ ।

श्रेष्ठ र घर्तीमगरका अपहरणकारीको स्केचसमेत प्रहरीले सार्बजनिक गरेको थियो । उनीहरुको सूचना दिने व्यक्तिलाई प्रहरीले एक लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

घटना अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य थिए । (अनलाइनखबरबाट)

     असार १६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*