नग्मा श्रेष्ठ अर्थात् भीजेदेखि मिस युनिभर्स स्टेजसम्म 

काठमाडौं, ७ फागुन ।

‘मिस युनिभर्स’मा पुग्ने सपना नेपालमा धेरै सुन्दरीले पाले । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पहिलो सुन्दरी हुने अवसर भने नग्मा श्रेष्ठले पाइन् । ‘वर्ल्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालको प्रतिनिधित्वसमेत गरेकी उनले नै ‘विश्व प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्र्याउन सफल रहिन् । मिस युनिभर्सिटीमा थर्ड रनर्स अपको उपाधि चुमेकी उनले ‘मिस फिट्नेसको अवार्ड’ समेत नेपाल भित्र्याएकी थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर ६ सौन्दर्य प्रतियोगिता अनुभव सँगालेकी उनले गत वर्ष इजिप्टमा आयोजित ‘मिस इको युनिभर्स २०१६’ मा पनि ‘बेस्ट टुरिजम भिडियो अवार्ड’ हात पारेकी छन् ।

सन् २०१२ की मिस नेपालबाट सौन्दर्य प्रतियोगिता यात्रा थालेकी उनले प्रतियोगितामा फस्ट रनर्स अपको ताजसहित मिस नेपाल अर्थ हात पारेकी थिइन् । उनी मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा अगाडि पुग्ने नेपाली सुन्दरीसमेत हुन् । सन् २०१२ देखि नै ‘मिस युनिभर्स’का लागि व्यक्तिगत प्रयास गर्दै आएकी उनी २०१६ सफल भइन् । २०१७ को प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागी हुँदैछिन् । इमेज टेलिभिजनको भीजेबाट सेलिब्रेटीको रूपमा चिनिएकी नग्मा मोडलिङ हुँदै सौन्दर्य प्रतियोगितामा होमिएकी हुन् ।

भीजेदेखि ‘मिस युनिभर्स’ प्रतियोगितासम्मको उनको यात्रा :

भीजे नग्मा
उनको पहिलो परिचय टेलिभिजन पर्सनालिटी हो । सन् २००९ मा इमेज च्यानलबाट यात्रा थालेकी उनले भीजेका रूपमा उक्त टेलिभिजनमा लाइभ कार्यक्रम, एसएमएस मोर, अन्तर्वार्तालगायतका थुपै्र कार्यक्रम चलाउँथिन् । १६ वर्षको उमेरमै भीजेका रूपमा चिनिएकी उनले टेलिभिजनमा नियमित ६ वर्ष काम गरिन् । काम गर्ने सिलसिलामा डाक्टर, कलाकारदेखि सर्वसाधारणसम्मको अन्तर्वार्ता लिएकी उनले टेलिभिजन काममा निक्कै इन्जोए गरेको बताइन् । भनिन्– ‘टेलिभिजन काम गर्दा निकै रमाइलो लाग्थ्यो । यसैबाट धेरै कुरा सिक्ने मौका पाएँ ।’

मोडियो यसरी पाइला
२००९ मा भीजेको रूपमा काम सुरु गरेकी उनले यसै वर्ष मोडलिङ पनि रोजिन् । सुरुवात र्याम्प मोडलिङबाट गरिन् । त्यतिबेला मोडलिङ भन्ने विधा अहिले जस्तो फस्टाएको थिएन । यसलाई हेर्ने मानिसको दृष्टिकोण पनि राम्रो थिएन । मोडलिङ भनेपछि मानिसहरू नाक खुम्च्याउँथे । यस्तो समयमा उनका बुबाआमाले मोडलिङका लागि हौसला दिने त कुरै थिएन । ‘किन मोडलिङमा लाग्नुपर्यो भनेर उल्टै गाली गर्थे’– उनले भनिन् ‘बुबाआमालाई सम्झाउँदै फेसन सोमा भाग लिन थालेँ ।’ एक दुई गर्दै उनले अहिलेसम्म ३० भन्दा बढी फेसन सो गरिसकेकी छन् । ‘मोडलिङको क्रममा मैले विभिन्न नेपाली डिजाइनरले तयार पारेका फेसनहरू प्रमोट गरेकी छु’– उनले थपिन् ।

मोडलिङ विधालाई प्रोफेसन बनाउन सकिने अहिले उनको बुझाइ छ । मोडलिङलाई उनले धेरै राम्रो फिल्डका रूपमा पाएकी छन् । नेपालमा यसको विकास बिस्तारै हँुदै गएको देखेकी उनले मोेडलिङ रोज्नुको पछाडि पनि बेग्लै कथा छ । ‘म पहिलेदेखि नै अग्ली थिएँ । कक्षामा पनि सबै विद्यार्थीमध्येकी अग्ली । अग्ली भएका कारणले आफन्तले पनि सानैदेखि तिमी मोडलिङका लागि उपयुक्त छौ, मोडलिङ गर भन्थे’ उनी भन्दै थिइन्– ‘आफन्तका ती शब्द मेरो मनमा छापा बनेर बसेको थियो । यही कारणले पनि मेरो पाइला मोडलिङमा मोडियो ।’

परिचय फेरियो
‘मिस नेपाल’ बनेर चिनिने उनको सानैदेखिको सपना थियो । मोडलिङ र भीजे पेसाबाट उनी पूर्ण सन्तुष्टि हुन सकिरहेकी थिइन् । ‘मिस नेपाल’मा भाग लिने रहर उनले सानैदेखि पालेकी थिइन् । ‘मैले ७ वर्षको उमेर आमालाई भनेको थिए । एक दिन मिस नेपाल बन्छु’ नग्माले विगत सम्झिइन्– ‘त्यतिबेला उमेरले सानी भएकाले मेरो कुरामा कसैले चासो नै दिएनन् ।’ सानैदेखि उनको मिस नेपाल भएर देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्य थियो । सोहीअनुसार उनले तयारी पनि गर्दै गइन् ।

सन् २०१२ को मिस नेपालको जब फर्म खुल्यो, उनी प्रतियोगी बनेर छिरिन् । प्रतियोगितामा शीर्ष उपाधि जित्न नसके पनि फस्ट रनर अप र ‘मिस नेपाल अर्थ’को उपाधि उनको हात लाग्यो । उनले आफूमा पनि धेरै परिवर्तन महसुस गरिन् । आत्मबलसमेत बढ्यो । उपाधिले चौतफी तारिफ पाइन् । धेरैले चिन्न पनि थाले । ‘आम मानिसको मलाई हेर्ने दृष्टिकोणमै चेन्ज पाएँ । त्यसपछि भीजे नग्माबाट मेरो परिचय ‘मिस नेपाल अर्थ’ भयो’– नग्माले थपिन् ।

पाँच टाइटल नेपाल भित्र्याएँ
जब नग्माले ‘मिस नेपाल’मा मिस अर्थ टाइटल चुमिन् । उनलाई नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड अर्थमा’ जाने अवसर मिल्यो । प्रतियोगिताका लागि उनले मेकअप, फिटनेस, हेयरस्टायलदेखि खानपानमा समेत ध्यान दिन थालिन् । ९० भन्दा बढी देशका सहभागी रहने प्रतियोगिता उनको लागि चुनौतीपूर्ण थियो । नेपाल कुनै पनि ठाउँ नघुमेकी उनको फिलिपिन्स यात्रा सहज थिएन । २० वर्षकी उनी उमेरले पनि कच्ची थिइन् ।

‘पहलो पटक देश छोडेर जाने कुराले म नर्भस जस्तै थिएँ’ उनले सुनाइन् ‘नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कार्यक्रममा जाने कुराले एक्साइटेड पनि थिएँ । तर उड्ने दिन नजिकिँदै गर्दा केही रात निदाउन सकिनँ । कार्यक्रममा के हुने हो, कस्तो हुने भन्ने कुराले मनमा डेरा जमाएको थियो । कार्यक्रममा बोल्नेदेखि हिँड्नेसम्मको प्रशिक्षण लिएकीले उनी केही कन्फिडेन्ट लिएर उडिन् । त्यहाँ मेकअप र हेयर डिजाइनर पनि आफैले गर्नुपर्ने भएकाले यसको पनि प्रशिक्षण उनीसँग थियो । कार्यक्रममका लागि उनले सानोसानो कुरामा ध्यान पुर्याइन् । ‘धेरैले विदेशका सौन्दर्य प्रतियोगीलाई इजी लिन्छन् । स्वदेशको भन्दा धेरै कुरामा विचार पुर्याउनु पर्छ’ उनले थपिन् ।

मिस अर्थको सहभागिता नेपालका लागि पहिलो थियो । एक महिना आयोजना हुने यो कार्यक्रमका लागि उनले राष्ट्रिय कलरको विभिन्न मन्दिरमा कोरिने बुट्टा शैलीका बुट्टा भरिएका गाउन डिजाइन गरेकी थिइन् । राष्ट्रिय गिफ्टका रूपमा ढाकाका थान्काहरू समेत लगेकी उनले अन्य देशका सहभागीहरूका लागि ढाकाको बाघ गिफ्टसमेत दिन छुटाइनन् ।

प्रतियोगितामा उनले राम्रो रिजल्ट पनि ल्याउन सकिन् । ९० देशका ९२ जना सहभागी प्रतियोगितामा उनले ८औँ स्थान हासिल गरिन् । साथमा उनलाई पाँच सबटाइल समेत मिल्यो ।

मिस युनिभर्सको बाटो खुल्यो
उनी ‘मिस युनिभर्स’ नेपालको प्रतिनिधित्व गर्न छिट्टै उड्दै छिन् । यो प्रतियोगितामा नेपाल सहभागी हुने अवसर उनले नै जुटाएकी हुन् । छोटो समय र सानो प्रयासको नतिजा होइन यो । सन् २०१२ देखि निरन्तर लेखिएको एकोहोरो मेल र सन् २०१६ मा मिस युनिभर्सकै हेड अफिसमा पुगेर गरिएको भेटको फल हो ।

‘मैले नेपाल पनि सहभागी हुन चाहन्छ भन्ने सन्देशसहितको मेल कति लेखेँ, मलाई नै याद छैन । तर रिप्लाई कहिल्यै पनि आएन’ नग्मा भन्दै थिइन्– ‘२०१६ मा एक कार्यक्रमको जज बन्न जब म अमेरिका पुगेँ । मिस युनिभर्सको हेड अफिसमा सम्पर्क कोसिस गरेको पहिलो फोन उठ्यो र मैले भेट्ने मौका पाएँ । डालसबाट काठमाडौँ फर्किन पर्ने मान्छे न्युयोर्क पुगेँ र कुरा गरेँ ।’

भेटमा उनलाई प्रश्न गरिएको थियो, त्यो मेल गर्ने केटी तिमी हो  ? भनेर । उनले हिम्मतका साथ नेपाल पनि सहभागी चाहन्छ भनेर बताइन् । विभिन्न तरिकाले आयोजकलाई सहभागीका लागि कन्भिन्स् गरिन् । मिस युनिभर्सको लागि भरपर्दो नेपाल डिरेक्टर खोज्न आयोजकले सुझाए । उनले तरुन्तै नेपाल फर्किएर मिस युनिभर्सको नेसनल डिरेक्टर हिडन ट्रेजरसँग कुरो मिलाइन् । तब मात्र उनको मिस युनिभर्सको यात्रा सुनिश्चित भयो ।

मिस युनिभर्स नै किन ?
मिस युनिभर्स विश्वकै सबैभन्दा ठूलो ब्युटी प्याजेन्ट हो । उनले पनि यो बुझेकी छन् । प्रतियोगितामा सहभागिता हुन पाए अन्तर्राष्ट्रिय अवसरका बाटाहरू खुल्नेमा दुई मत छैन । अर्को कुरो ६५औँ मिस युनिभर्स भइसक्दा पनि नेपालको सहभागिता नरहेकाले उनी नेपालका लागि प्रतियोगिताको ढोका पनि खोल्न चाहन्थिन् । अर्को एक कारण पनि छ । त्यो हो मिस अर्थमा टिम म्यानेजर रहेकी रुरु । रुरुले मिस अर्थको सुरुवातदेखि उनलाई साथ दिएकी थिइन् । रुरुसँगै उनले पनि टप ४ मा आफूलाई देखेको थिइन् । तर त्यसो भएन । ‘कार्यक्रमबाट म आउट हुँदा अब तिमीले ‘मिस युनिभर्स’मा भाग लिनुपर्छ रुरुले भन्नुभएको थियो । त्यसपछि मेरो लक्ष्य मिस युनिभसको बन्यो’ खुसी हुँदै नग्माले भनिन् ।  – कुबेर गिरी/रातोपाटीको सहयोगमा

सोमबार, फागुन ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*