नाम धनपति कर्मले मनपति

उनी हुन्, दाङको सबैभन्दा पछाडि परेको मानिने राजपुर गाउँपालिकाकी उपाध्यक्ष ।

‘जुन तहमा पुगे पनि त्यति सजिलो छैन, अरुले भन्दा थप बल वा प्रयास त गर्नै पर्छ । शायद महिला भएकै कारण हामीले जहाँ पनि केही बढी जोड लगानु पर्ने भएको हो कि ?’ झण्डै वर्षदिनअघि उनकै ठाउँ र केही महिनाअघि काठमाडौँमा भएको भेटमा उनले यस्तो बताएकी हुन् ।

आत्मबल तथा आशा या केही निराशाका कुराहरुमा भिन्नता आएका थिए, तर आफ्ना कुरा कानुन या निमय संगत रुपमा स्थापित गराउनका लागि गर्नु पर्ने प्रयासको कुरा उस्तै थियो उनले बताए अनुसार ।

उनी अर्थात दाङको सबैभन्दा पछाडि परेको मानिने राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति यादव ।

पहिलोपटक धनपतिसँगको भेट गज्जबको थियो, उनी गाउँपालिकाको एक नीतिगत बैठकमा सहभागी थिइन् । त्यहिबिचमा केहीबेर हामीसँग कुराकानीका लागि समय निकालिन् । नाम धनपति भए पनि कर्मले मनपति रहेको उनका कुरा सुन्दै जाँदा थाहा लाग्दै थियो ।

गाउँपालिकाकी उपाध्यक्ष धनपतिले त्यो बेला भनेकी थिइन्, ‘जिम्मेवारीहरु थपिएका छन्, आशहरुको खात बढेको छ । अवसर आएको छ र चुनौतिहरु पनि उसैगरि बढेका छन् । मेरो जाँगर पनि तीव्र बनेको छ ।’

४४ वर्षकी धनपति यादव महिला मात्रै होइन मधेसी समुदायको प्रतिनिधि पनि हुन् । सामान्यतया भैँसी पाल्ने यादव समुदायमा महिला घर बाहिर सामुदायिक काममा निस्कने सम्भावना कम नै छ । तर धनपतिका लागि घरको भन्दा समुदायको कामले व्यस्त बनाइरहन्छ ।

आफैले घरेलु हिंसा भोगेर त्यसबाट बाहिर निस्कनका लागि उपायको खोजी गर्ने क्रममा उनी अधिकारको प्राप्तिको यात्रामा होमिएकी रहिछन् । उनको पहिलो विवाह हिंसाकै कारण लामो समय जोडिन सकेको रहेनछ ।

त्यहि विवाहमा भोगेको तितो अनुभवबाट सिकेर उनी आफ्नो लागि मात्रै होइन गाउँका अरु समस्यामा परेका महिलाहरुका लागि पनि बोल्नु पर्छ भन्ने लागेर सामाजिक कार्यमा जुटेकी रहिछन् ।

समस्याबाट निस्केर उपाध्यक्षसम्म
धनपति यावदले महिलाहरुका लागि आर्थिक, सामाजिक रुपमा सबलिकरण प्राथमिकताको केन्द्रमा छ भन्ने थाहा पाएर महिलाहरुकै सहकारी संस्था सञ्चालन गरि सामाजिक काममा लागेकी थिइन् ।

उनको कामले गति लियो, समस्यामा परेका महिलाहरुका लागि उनी उपलब्ध भइन्, यसले उनलाई आफ्नो अप्ठ्यारो भुलाउन पनि सहयोग गर्थ्यो । त्यसपछि स्थानीय निकायको चुनावमा उपाध्यक्षको टिकट पाइन्, चुनावमा जनताको भोटले जितिन् र गाउँपालिकाको उपाध्यक्ष बनिन् ।

सामान्य लेखपढ गर्न जानेकी धनपतिले उपाध्यक्षमा निर्वाचित भएपछि जिम्मेवारी बढेको बताएकी थिइन् । उनले सबैभन्दा पहिले आफू आएकै समुदाय र महिलाको अवस्था सुधारका लागि सम्पूर्ण प्रयास लगाउने बताएकी थिइन् ।

केही महिनाअघि काठमाडौँ आएका बेला भएको भेटमा उनले भनेकी थिइन्, ‘कामले गति लिएको छ, तर अझै पनि नीति, नियमको स्पष्ट जानकारी भइसकेको छैन र महिला भएकै कारण आफ्ना कुरा स्थापित गराउनका लागि गर्नु पर्ने थप मेहनतमा कमी आएको छैन । म हार मान्नेवाला पनि छैन ।’

हिजो आफू समस्यामा हुँदा धनपतिको प्रयास त्यसबाट बाहिर निस्कनेमा थियो, त्यसपछि अरुका समस्याहरु सुन्ने र त्यसका लागि प्रयास गर्दैगर्दा उनमा आत्मविश्वास थपियो । अहिले गाउँपालिका उपाध्यक्ष भएर काम गर्दा विशेष गरि गाउँका महिलाका लागि ठोस रुपमा सबलिकरणका काम गर्नका लागि प्रयासलाई थप घनिभूत बनाउनु परेको धनपतिका कुराले दर्साएका थिए ।

‘गाउँपालिका अध्यक्षले हाम्रा कुरा सुन्नु हुन्छ, हामीले मिलेर काम गरिरहेका छौँ । तर महिलाका सवालका कुरा नीतिगत रुपमा कार्यान्वयन गराउन वा महिलाको पक्षमा निर्णय गराउनका लागि आवाज अलि बढी बुलन्द बनाउनै पर्छ’, धनपतिले भनिन्, ‘यो क्रम निरन्तर चलिरहन्छ शायद ।’

गाउँमा महिलाका लागि गर्नु पर्ने काम
धनपतिका अनुसार राजपुरमा विशेष गरि मधेसी महिलाको अवस्था सुधारका लागि उनीहरुलाई सचेत गराउनु पर्ने छ । अवसरबाट वञ्चितिकरणमा परेका समग्र महिलालाई सबैभन्दा पहिले उनीहरुको अवस्थाबारे थाहा गराउनु पर्ने र त्यसपछि पाउनु पर्ने अधिकार तथा कानुनी व्यवस्थाका बारेमा बताउनु पर्ने धनपतिले बुझेकी छन् ।

‘जबसम्म कसैले आफ्नो अवस्था र त्यो भन्दा राम्रो हुन सक्छ है भन्ने थाहा पाउँदैनन्, तबसम्म अवस्थामा परिवर्तन आउँदैन’, उपाध्यक्ष धनपति भन्छिन्, ‘यसका लागि यहाँका महिलालाई शिक्षाको खाँचो छ, सीप वा रोजगारमुलक अवसरको खाँचो छ, आफूमाथि भएका हिंसा विरुद्ध बोल्न सक्ने बनाउनु पर्नेछ, गर्नु पर्ने धेरै छ । सबैभन्दा ठूलो कुरा महिलालाई समान अवसरको व्यवस्था गर्नु छ ।’

अझै पनि धेरै महिलाको नागरिकता नरहेकाले आफू उनीहरुलाई नागरिकता दिलाउनका लागि प्रयासरत रहेको धनपतिले पछिल्लो पटकको भेटमा पनि बताएकी थिइन् । यस्तै हिंसाविरुद्ध बोल्ने बनाउनका लागि कानुनी व्यवस्थाबारे थाहा दिनका लागि गाउँपालिकाबाट प्रयास गरिरहेको धनपतिले बताएकी छन् ।

धनपतिको निजी सपना
धनपति यादव गाउँपालिकाको न्यायिक समितिमा छन् । यसको अर्थ न्याय माग्नेहरु सबैभन्दा पहिले उनीसम्म आइपुग्छन् । उनलाई अब न्यायिक व्यवस्थाका बारेमा जान्ने मन छ । त्यसका लागि सिकिरहेकी छन् । अलि पढाइ कम भएकाले समस्या भएको उनलाई थाहा छ, त्यसैले सिकिरहेकी पनि छन् ।

यस्तै गाउँपालिका ठूलो छ, सबै क्षेत्रमा पुग्न सजिलो छैन । उनलाई मोटरसाइकल चलाउन सिक्न मन छ ताकि गाउँ गाउँमा अरुलाई गुहार नलाई पुग्न सकुँ भन्ने छ उनलाई । उनका छोरा वैदेशिक रोजगारीका लागि खाडीमा छन्, लोग्ने खेतिपातीमा छन्, परिवारलाई केही समय दिनु पछि छ । सबैभन्दा ठूलो कुरा जीवनभर विशेषगरि महिलाकै हितमा काम गर्ने मन छ उनको । भन्छिन्, ‘मेरो निजी त केही छैन । महिला दिदीबहिनीका लागि काम गर्नु छ । त्यसमै जीवन लगाउने रहर छ ।’

चित्त नबुझेको कुरा फ्याट्ट भन्ने धनपतिलाई गाउँपालिकाका उपाध्यक्ष लोकराज केसीले भन्छन्, ‘तपाईँ पो अध्यक्ष बन्नु पर्ने’ । धनपतिलाई आउँदो दिनमा उपाध्यक्ष होइन, अध्यक्ष नै बन्ने मन छ र काम गर्नु छ गाउँका लागि । र उनी भन्छिन्, ‘यसका लागि सबै बाधाहरु भत्काउने आँट छ र अठोट पनि ।’ (– टंक ढकाल/देशसञ्चार)

शुक्रबार, फागुन २४,२०७५  मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*