नेपालमा कोभिड-१९ बाट पहिलो मृत्यु, संक्रमित २८१

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो मृत्यु भएको छ। माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि एकजनाले ज्यान गुमाएका हुन्।

कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिम्सिना रहेकी छन्। त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति एक विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन्।

तिमल्सिनाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले पनि गरेका छन्। त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर घर फिरेकी उनलाई उच्च ज्वरोसहित श्‍वास फेर्न गाह्रो भएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो। सिन्धुपाल्चोकको राम्चे स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि धुलिखेल ल्याइएकी उनले त्यहीँ ज्यान गुमाएकी हुन्। उनको नौ दिनको शिशु जिवित रहेका छन्।

कोरोनासँग मिल्दो लक्षण देखिएपछि ती महिलाको स्वाब संकलन गरेर धुलिखेलस्थित पिसिआर ल्याबमा परीक्षण गरिएको थियो। तर यसअघि गरिएको आरडिटी परीक्षणमा भने उनमा कोरोना नेगेटिभ देखिएको थियो।

धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनको स्वाब पुन:परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनवस्वास्थ्य ल्याबमा ल्याइएको थियो। त्यहाँ दुई पटक गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। उनमा कोरोना देखिएपछि धुलिखेल अस्पतालमै पति, नन्द र सासुको पनि स्वाब लिइएको छ। उनीहरुको स्वाब अहिले परीक्षण भइरहेको छ। नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो।

त्यसपछि देशमा २६ वटा जिल्लामा कोरोना पुष्टि भइसकेको छ। अहिलेसम्म नेपालमा २ महिने शिशुदेखि ८१ वर्षीया वृद्धामा पनि कोरोना देखिएको छ। नेपालमा सबैभन्दा धेरै पुरुषमा कोरोना देखिएको छ। महिलामा भने पुरूषको तुलनामा न्यून संक्रमण देखिएको छ। यससँगै नेपालमा जम्मा संक्रमितको संख्या पनि २८१ पुगेको छ। जसमा अहिलेसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६ रहेको छ।

बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको खबरले सबैजना त्रसित बनेका छन् ।

‘स्थानीय एकदमै आतंकित बनेका छन् । सचेतना अपनाउनको लागि सल्लाह दिइरहेका छौं । गाउँदेखि बजारसम्मै डरले बाहिर निक्लिएका छैनन्,’ बाह्रबिसे नगरपालिका वडा ९ का अध्यक्ष सानु लामाले भने । स्थानीयको सुरक्षाको लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई गुर्हार्दै यसबारे नगरभरका जनप्रतिनिधि छलफलमा जुटिरहेको उनले जनाए ।

२९ वर्षकी महिलाले बैशाख २३ गते काठमाडौंको महराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएलगत्तै एम्बुलेन्सबाट बाह्रबिसे फिरेकी उनी बिहीबार बिहानदेखि बिरामी परेकी थिइन् ।

निजी बोलेरोबाट उपचारर्थ बाह्रबिसे बजार आइपुगेकी उनलाई ज्वरो, रुघाखोकी र स्वासप्रस्वासमा समस्या भएर अवस्था जटिल बनेपछि तत्कालै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको बाह्रबिसे नगरस्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रकी डा. सिर्जना मर्हजनले बताइन् ।

‘उनमा छात्ती दुख्ने र स्वासप्रस्वासमा समस्या, ज्वरोको देखिएको थियो, अवस्था एकदमै गम्भिर देखिएपछि काभ्रेको धुलिखेल अस्पताल रिफर गरेका थियौं,’ मर्हजनले भनिन् ।

बिहीबार साँझ नै बाह्रबिसे नगरस्थित स्वास्थ्य केन्द्रबाट स्वाप्रश्वासमा समस्या भएपछि उपचारको लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । स्वाब लिएर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएपछि थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला पठाइएको थियो ।

आफन्तकाअनुसार सुत्केरी महिलाले बुधबार मासुभात खाएपछि अचानक स्वासप्रस्वासमा समस्या सुरु भएको थियो । रातमा एक्कासी स्वासप्रस्वासको समस्याले च्यापेपछि बिहीबार बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल लगिएको थियो ।

मृतक महिलाको घर र माइती गाउँ सेना खटाएर सिल

धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ। शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको निचोडसहित गाउँ नै सिल गरेको हो।

उनको स्वाब जनस्वास्थ्य प्रयोशालामा परीक्षण भइरहेकाले सम्भावित सङ्क्रमणई रोक्न उक्त गाउँ सिल गरिएको हो। यसैबीच मृतक महिलाका परिवारका सबै सदस्यको स्वाब पनि संकलन गरिएको छ। उनको शव धुलिखेल अस्पतालमै राखिएको छ।

नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ। ती महिलाको माइती बलेफी-९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो। उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ। सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ।

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्‍वारेन्टाइनमा राखी स्वाब सङ्कलन गरिने समितिको बैठकले निर्णय गरेको छ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो।

शनिबार, जेठ ३, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*