नेपाललाई पराजित गर्दै भारत फेरि साफ च्याम्पियन

साफ च्याम्पियनसिप २०२१ 
माले (माल्दिभ्स)। भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थिति । सबै खाले चर्को दबाबबीच नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतको हातबाट शनिबार ३–० ले पराजित भएको छ । नेपालको ‘टेक्निकल एरिया’ मा प्रतिबन्धका कारण प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी थिएनन् ।

नेपालका लागि उनको अन्तिम खेलमा खेलाडीले जित उपहार पनि दिन सकेनन् । पहिलो हाफको गोलरहित बराबरीपछि भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उप विजेतामै सीमित रह्यो भने भारतले प्रतियोगितामा आफ्नो एकछत्र प्रभुत्व कायम राख्यो ।

भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको यो कीर्तिमान आठौं पल्ट हो । अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । दक्षिण एसियाली फुटबलको महाशक्ति रहेको भारत नेपालविरुद्धको खेलमा पनि पूर्णत: हाबी रह्यो र उपाधिका लागि टिम उत्तिकै योग्य पनि सावित भयो ।

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुआती दुई बराबरी खेलेर कमजोर सुरुआत लिएको भारतले त्यसपछि भने लगातार खेल जितेको थियो । फाइनलमा प्राप्त जित उसको लगातार तेस्रो थियो र यी तीनै खेलमा उसका लागि निश्चित जित आवश्यक थियो । यस्तोमा भारतले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै उपाधि चुमेको छ ।

वर्षाबीच चलेको खेलको पहिलो गोल सुनील क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । यो भारतका लागि उनको ८० औं गोल रह्यो । पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्स्टिच्युट साह अब्दुलले तेस्रो गोल गरे ।

फाइनलको यात्रा

नेपाली फुटबलका लागि शनिबारको खेल विशेष रह्यो किनभने नेपाल भारतविरुद्ध (साफ च्याम्पियनसिप २०२१) को ऐतिहासिक फाइनलमा भिडेको हो । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुगेको यो पहिलो पल्ट हो ।

नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा भएको खेलमा भारतलाई हराएको भए त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता हुने थियो।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन् । अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ ।

यसपल्ट भने नेपालले त्यो परम्परालाई ताडेर पहिलो पल्ट उपाधिको भिडन्तमा ओर्लिएको थियो । भारतका लागि भने शनिबारको खेल लगातार आठौं फाइनल थियो । समग्रमा कीर्तिमान सात पल्टको विजेता भारतले फाइनल खेल्न लागेको यो १२ औं पल्ट थियो, अहिलेसम्मका प्रतियोगिताका १३ संस्करणमध्ये सन् २००३ मा एकै पल्ट मात्र फाइनल पुग्न सकेको थिएन् ।

यसपल्टको फाइनलको एउटा सबैभन्दा ठूलो विशेषता, दुवै टिमका प्रशिक्षक ‘डगआउट’ मा थिएनन् । त्यसो भनेको नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाएनन्, एक प्रकारले दुवै दर्शक मात्र थिए ।

दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका थिए । बंगलादेशविरुद्धको खेलपछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । त्यसको एकदिनपछि उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिइएको थियो ।

भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि ‘डगआउट’ मा हुने छैनन् । नेपालका लागि प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका अञ्जन विष्टले पनि फाइनल गुमाउने छन् । उनी पनि दुई पहेँलो कार्डको मारमा परेका थिए ।

२८ वर्ष र ४२ खेलपछि फाइनल

सन् १९९३ मा भएको सार्क गोल्ड कपलाई साफ च्याम्पियनसिपको पहिलो संस्करणका रूपमा गणना गर्ने हो भने नेपाल २८ वर्षपछि पहिलोपल्ट फाइनल खेल्दै थियो  । यसपल्टको फाइनल अगाडि नेपालले ४२ खेल खेलिसकेको छ । यसमा राउन्ड रोबिनका आधारमा चलेको अहिलेको प्रतियोगिताका चार खेल पनि पर्छन् ।

यी चार खेलमध्ये नेपालले सुरुआती दुई प्रतिस्पर्धामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । त्यस लगतै नेपाल भारतसँग पराजित भएको थियो । निर्णायक खेलमा भने नेपालले बंगलादेशलाई बराबरीमा रोकेको थियो । भारतले भने सुरुआती दुई खेलमा बराबरी खेलेको थियो, बंगलादेश र श्रीलंकाविरुद्ध । त्यसपछि उसले नेपाल र माल्दिभ्सलाई हराएको हो ।

((सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १३ संस्करण सम्पन्न भइसकेका छन्। १३ संस्करणमध्ये भारतले ८ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।

सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो। नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। 

प्रत्येक संस्करणको साफमा नेपालको लक्ष्य उपाधि जित्ने नै हुन्छ। तर मैदानमा नेपाल सफल हुन सकिरहेको छैन। साफको इतिहास हेर्ने हो भने भुटान र पाकिस्तान पछिको कमजोर टिम नेपाल हो। किनभने नेपाल १३ संस्करणमा एक पटक उपविजेता (२०२१) एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको छ।))

भारतविरुद्ध नेपाल

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारतबीच सात खेल भएका छन् । त्यसमध्ये नेपाल एकै खेलमा मात्र विजयी रहेको छ । सन् २०१३ मा नेपालले काठमाडौंमा भएको प्रतियोगितामा भारतमाथि २–१ को ऐतिहासिक जित निकालेको थियो । यो भारतमाथि नेपालले हात पारेको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली जित रहेको छ ।

नेपाल बाँकी पाँच खेलमा भने पराजित रहेको छ । यसपल्टको लिग चरणको हारलाई छाडेर नेपाल अन्तिम पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध पराजित भएको थियो । भारतको केरलामा भएको त्यस खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । यी दुई टिमबीचका पछिल्ला पाँँच खेलमा भारत चारमा विजयी रहेको छ ।

एक भने बराबरीमा टुंगेको छ । नेपालले अन्तिम पटक पछिल्लो महिना काठमाडौंमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतलाई १–१ को बराबरीमा रोकेको थियो । त्यति बेला नेपालले भारतसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसको दोस्रो खेलमा भने नेपाल २–१ ले पराजित भएको थियो ।

नेपाल आठौं फाइनलमा

नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबलमा खेल्न लागेको यो आठौं फाइनल हुनेछ । यसअघिका सात फाइनलमध्ये नेपाल पाँच पल्ट विजयी रहेको छ र यसमध्ये दुई फाइनल भारतविरुद्ध रहेको छ । यस्तोमा यसपल्टको फाइनल नेपाल र भारतबीचको तेस्रो उपाधि भिडन्त हुनेछ । नेपालले सन् १९८४, १९८७ , १९९३ र १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनल खेलेको थियो ।

त्यसमध्ये दुई टिम संलग्न भिडन्तमा सन् १९८७ मा भारत विजयी रह्यो भने सन् १९९३ मा नेपाल । त्यसयता नेपालले सन् २०१६ को बंगबन्धु गोल्डकप, सन् २०१६ को एएफसी सोलिडारिटी कप र सन् २०२१ को थ्री नेसन्स कप फाइनल खेलेको थियो र यी तीनैमा नेपाल विजयी रहेको छ । बंगबन्धु गोल्डकपको फाइनल भने बहराइनको यू २३ टिमविरुद्ध थियो ।

नेपालका लागि रोहित चन्दले शनिबारको फाइनल खेलेसँगै नेपालका लागि यो उनको ७४ औं क्याप भयो । यसक्रममा उनी पूर्व कप्तान विराट महर्जनलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल्ने दोस्रो खेलाडी भएका छन् । विराजले थ्री नेसन्स कप खेल्ने क्रममा कीर्तिमान ७३ औं क्याप जितेका थिए । पछि त्यसलाई उछिनेर अहिलेका कप्तान तथा गोलरक्षक किरण लिम्बू नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका थिए । बंगलादेशविरुद्धको पछिल्लो खेल किरणको ७८ औं क्याप थियो । त्यसै खेलमा रोहितले ७३ औं क्याप जिते र अब उनी आउटफिल्डमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुनेछन् । (– हिमेश//कान्तिपुरबाट सधन्यवाद साभार )

आइतबार, असोज ३१, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*