पञ्चेबाजा बजाएर प्रचण्ड र सीताले गरे पुनः विवाह

काठमाडौं ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् ।

गत वर्ष छोराप्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति थियो ।

सहकार्यको ५० औं वर्ष नाम दिइएको कार्यक्रममा प्रचण्ड र सीता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् ।

उपराष्ट्रपतिदेखि बहालवाला मन्त्रीसम्म

ललितपुरको सुनाकोठीमा विहीबार अपरान्ह प्रचण्ड र सीता दाहाल बेहुला-बेहुलीजस्तै बनेर सोफामा बसेका थिए । छेउमा साडीमा सजिएर दुई छोरीहरु बसेका थिए । सीता र प्रचण्डले जग्गेमा बेहुला-बेहुलीले जस्तै एक अर्कालाई माला लगाइदिएका थिए ।

छेउमा समारोहमा रातो लुगामा सजिएका महिलाले नरसिंगा, दमाहा लगायतका पञ्चेबाजा धन्काएका थिए । केहीबेर सामान्य भाषण-भुषण पनि चलेको थियो । सहभागीहरुलाई केक काटेर खुवाइएको थियो । सामान्य खानपिनको व्यवस्था पनि थियो ।

 

prachanda-sita bibah 1

 

समारोहमा जो मानिसहरु उपस्थित थिए, त्यो उल्लेखनीय थियो । पुनर्विवाह समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी जाने चर्चा चले पनि साँझसम्म उनको सहभागिता देखिएन । प्रधानमन्त्री केपी ओली विहीबार नै भियतनाम जानु परेकाले समारोहमा गएनन् । बाँकी उच्चपदस्थ सरकारी अधिकारीहरु विवाह वर्षगाँठ समारोहमा सहभागी बने ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेना, उपप्रधानमन्त्री उपेन्द्र यादव, अर्का उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, नेकपा नेता वामदेव गौतम लगायतको उपस्थिति थियो ।

नेकपाका शीर्षनेताहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, जनार्दन शर्मा, देव गुरुङ, लीलामणि पोख्रेल, देवेन्द्र पौडेलदेखि लिएर राप्रपाका सुनीलबहादुर थापासम्म समारोहमा सहभागी थिए ।

सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, उर्जामन्त्री वर्षमान पुन र उद्योग मन्त्री मात्रिका यादव लगायतका बहालवाला मन्त्रीहरु पनि समारोहमा सहभागी थिए ।

कार्यक्रममा नीलो प्लेटको गाडी लिएर ब्यापारी अजय सुमार्गी पनि पुगेका थिए । (अनलाइनखबर)

बिहीबार, वैशाख २६,२०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*