पारखीको मनै छोयो, सन्ध्या मिश्रको दुई दिने चित्रकला प्रदर्शनीले

संवाददाता । काठमाडौं, १४ पुस ।

चित्रकार सन्ध्या मिश्रद्वारा सिर्जित विभिन्न शैलीका चित्रहरुको प्रदर्शनी गत पुस ११ र १२ गते ललितपुरको पार्क ग्यालरीमा सम्पन्न भएको छ । करिव १७ वर्ष अघि अर्थशास्त्र विषयमा उच्च अध्ययनको क्रममा जापान बस्दा त्यहाँको चित्रकलाबाट प्रभावित मिश्रले स्व–अध्ययनबाटै चित्रकलामा दक्षता प्राप्त गरेकी हुन् ।

सन् २००४ मा इजरायल बसाईंका क्रममा स्टोन आर्ट अर्थात् ढुंगामा चित्र बनाउन शुरु गरेकी मिश्रले विगत १० वर्षदेखि फ्रान्समा रहेर सिल्क आर्ट अर्थात् रेशम कपडामा चित्र बनाउने विधालाई समेत अँगाल्दै आएकी छन् ।

चित्रकारिता विषयमा औपचारिक शिक्षा हासिल नगरे पनि रुचिका कारणले चित्रकार बन्न पुगेकी मिश्रले यस प्रदर्शनीमा रेशम कपडामा बनाइएका १३ वटा चित्र, २१ वटा तैल चित्र र २० वटा प्रोक्लिन आर्ट (सेरामिक भाँडावर्तनमा बनाइएका चित्र) हरुको प्रदर्शनी गरेकी थिइन् ।

 Sandhya Mishra

         – चित्रकार सन्ध्या मिश्र

चार वर्षको अवधिमा तयार भएका यी कृतिहरु आफू बसेका विश्वका विभिन्न स्थानमा प्रचलित चित्रकलाका शैलीहरूबाट प्रेरित रहेको उनले बताइन् ।

जापानमा रहँदा आफ्ना छिमेकमा बस्ने चित्रकारको रङ संयोजन सीपबाट प्रेरित मिश्रले त्यतिखेर अध्ययनका कारणले चित्र बनाउने काम गर्न नसके पनि इजरायल गएपछि एक्रेलिक रङबाट ढुंगामा चित्र कोर्ने अभ्यास सुरु गरेकी थिइन् ।

यस प्रदर्शनीलाई दुई सयभन्दा बढी कलाप्रेमीले अवलोकन गरेका थिए, जसमा कला क्षेत्रका पारखी र चित्रकारिताका शिक्षकहरु पनि सामेल थिए ।

Samdhya-porcelain-2

अवलोकनकर्ताहरुले रेशम र सेरामिक चित्रकलालाई बढी रुचाएको मिश्रले जानकारी दिइन् । अवलोकनकर्ताहरूले यो कला सिक्नका लागि जिज्ञासा व्यक्त गरेको पनि उनले बताइन् ।

यस प्रदशर्नीको अवलोकन गर्न आएकी काठमाडौं, धुम्बाराहीकी सरीता श्रेष्ठले मिश्रको व्यक्तिगत रुचिका कारण नेपालले विश्वका विभिन्न भागमा प्रचलित चित्रकारिताका विधालाई नेपालीहरूले अवलोकन गर्न पाएको प्रतिक्रिया दिइन् ।

यस्तै अर्का अवलोकनकर्ता बालकुमारी ललितपुरका अक्षय अधिकारीले नेपालले चित्रकार मिश्रका रूपमा एक सिद्धहस्त कलाकार पाएको बताए ।

Sandhya- flowers in a vase -2074

चित्रकला प्रदर्शनीकै लागि नेपाल आएकी मिश्रले अवलोकनकर्ताहरूबाट प्राप्त हौसलाले आफू ज्यादै उत्साहित भएको बताउँदै आगामी दिनमा नेपाली पारखीहरूको मागअनुसारका कलाकृति सिर्जना गर्ने बताइन् ।

शुक्रबार, पुस १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*