पितृसत्ताले घरभित्र श्रीमती राखेर बाहिर सेक्स खरिद गर्छ

लैंगिक समानता-समतादेखि शिक्षा, स्वास्थ्य, मानवअधिकारका लागि लामो समयदेखि दक्षिण एसियामा सक्रिय रहेकी अभियन्ता हुन्, कमला भासिन। झन्डै पाँच दशकदेखि यो क्षेत्रमा लागेकी भासिन महिला अधिकारको क्षेत्रमा काम गर्ने ‘संगत’ संस्थाकी संस्थापक पनि हुन्। उनका लाफिङ म्याटर्स, एक्स्प्लोरिङ मस्कुलिनिटी, बोडर्स एन्ड बाउन्डिज : वुमन इन इन्डियाज् पार्टिसन, ह्वाट इज पेटियार्क साथै विभिन्न कवितासंग्रह र बालपुस्तक पनि प्रकाशित छन्। उर्लंदो सय करोड २०२० को आरम्भ, संगत फेलोसिप र मीतो अवार्ड घोषणाका लागि नेपाल आएकी भासिनसँग फुर्सदका लागि सुनिता न्यौपानेले गरेको अन्तर्वार्ता :

महिला हिंसाविरुद्धको अभियानमा कहिलेदेखि लाग्नुभयो ?

विगत ४३ वर्षदेखि यो अभियानमा निरन्तर सक्रिय छु। एक देशमा मात्र नभई दक्षिण एसियाका सबैजसो देशमा आउने जाने गरिरहन्छु। तर भुटान, माल्दिभ्समा भने मलाई खासै बोलावट हुँदैन। त्यहाँ महिला संगठन पनि खासै सक्रिय छैनन्। बाँकी अन्य मुलुकमा म निरन्तर आवतजावत गरिरहन्छु। मैले संयुक्त राष्ट्रसंघमा पनि २७ वर्ष काम गरेँ।

समाजमा महिला हिंसा छ भनेर कहिले र कसरी महसुस गर्नुभयो ?

बच्चादेखि नै। जब म बाहिरतिर खेल्न निस्कन्थेँ, त्यहाँ केटी भनेको म मात्रै हुन्थेँ, बाँकी केटाहरू हुन्थे। मैले खेल्नका लागि केटी साथी पनि पाउँदिनथेँ। सबै केटा बाहिर खेलिरहेका हुन्थे तर तिनका दिदीबहिनी घरभित्र भाँडा माझिरहेका, घर सफा गरिरहेका हुन्थे। उनीहरूलाई बाहिर खेल्न छुट थिएन। तर मलाई भने छुट थियो। किनकि मेरा बुवा डाक्टर हुनुहुन्थ्यो। बालबालिकालाई बाहिर खेल्न जान नदिनु, घरमै काम गराउनु शारीरिक मात्र नभई मानसिक हिंसा पनि हो।

नेपालको महिला आन्दोलनलाई लामो समयदेखि नजिकबाट हेरिरहनुभएको छ। महिला आन्दोलनको अवस्था र अबको दिशा कस्तो हुनुपर्छ ?

हामी सबै महिला एकै तरिकाले सोच्दैनौं। समानताको लडाइँ नै महिला आन्दोलन हो। तर यसका पनि अलग अलग धार छन्। सबै महिला आन्दोलनले एकै सोच्दैनन्। कतिपय मुद्दामा एकअर्कासँग सहमत पनि छैनन्। नेपालको पछिल्लो दुई दशकको अवस्था हेर्दा कांग्रेस समर्थक महिलाको एउटा अलग समूह र विचार छ। उनीहरू पनि आफ्नो विचारअनुसार समानताका लागि नै बोल्छन्। तत्कालीन एमाले, माओवादी महिलाको आफ्नै विचारधारा छ। हतियार बोकेर महिलाहरू युद्धमा लागे। यसरी हेर्दा यी सबै समानताकै आन्दोलन हो। जस्तै- कुनै महिला समूहले वेश्यावृत्तिलाई कानुनी मान्यता दिनुपर्छ भन्ने मत राख्छ। किनकि उनीहरू वेश्यावृत्तिलाई पनि एउटा कामका रूपमा हेर्छन्। उनीहरू वेश्या शब्दलाई गाली मान्छन्। उक्त मानिसलाई यौनकर्मी भन्न रुचाउँछन्। त्यसैगरी अर्को समूह छ, जो यौनलाई कामका रूपमा स्वीकार्न सक्दैन। यो पितृसत्ताको परिणाम हो। पितृसत्ताले घरभित्र श्रीमती राखेर बाहिर सेक्स खरिद गर्छ।

एउटा अर्काे महिला समूह छ, जो बोल्छ तर ‘मोनार्की’ चाहन्छ। उनीहरूलाई राजतन्त्र नै प्रिय लाग्छ। यसरी सरसर्ती हेर्दा फरक फरक विचार रहे पनि वामपन्थी विचारधारामा विश्वास गर्ने समूह सशक्त देखिन्छ। यही विचारधाराले राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्‍यो। धर्मनिरपेक्ष राष्ट्र बनायो। यसै आन्दोलनबाट राजनीतिमा महिला सहभागिता सुनिश्चित गर्‍यो। वैवाहिक बलात्कार र समलैंगिकतालाई स्वीकार गर्‍यो। यो महिला आन्दोलनका लागि ठूलो उपलब्धि हो। फरक क्षेत्रमा रहेर पनि महिला आन्दोलनलाई अगाडि बढाउन राधा पौडेल, रेणु राजभण्डारीहरूले पनि महत्वपूर्ण भूमिका खेलेका छन्। नेपालको महिला आन्दोलन सशक्त रूपमा अगाडि बढेको छ।

जहाँसम्म महिला आन्दोलनको अबको बाटोसम्बन्धी जुन तपाईंको प्रश्न छ, त्यसबारेमा म खासै बोल्न चाहन्नँ। म बाहिरबाट आएको मान्छे हुँ। म त तपाईंहरूबाटै सिकिरहेकी छु। म बोल्नु भनेको यहाँका महिला अधिकारकर्मी साथीहरू सक्षम छैनन् भन्ने अर्थ जान्छ। मलाई थाहा छ, उहाँहरू नेपालमा कति बेला के कुराको आवश्यकता छ र आन्दोलनलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरामा सचेत हुनुहुन्छ। मभन्दा सयौं गुना उहाँहरूलाई थाहा छ। खासमा भन्दा म नेपालमा सिकाउन नभई केही सिक्न आउँछु। मैले नेपालको महिला आन्दोलनको दिशाबारे बोल्न आवश्यक छैन।

महिला आन्दोलन अझ प्रभावकारी बनाउन राजनीतिक सहभागिता कत्तिको जरुरी देख्नुहुन्छ ?

मलाई लाग्छ, प्रत्येक क्षेत्रमा समानताका बारे कुरा हुनु जरुरी छ। राजनीतिमा त यो झनै अनिवार्य छ। हाम्रो देशको योजनादेखि भविष्यसम्मको निर्धारण राजनीतिले गर्छ। हरेक क्षेत्रको अधिकारदेखि न्यायसम्मको कुरा तय गर्ने भनेको अन्ततः राजनीतिले नै हो। यसर्थ राजनीतिमा पनि महिला सहभागिता जरुरी छ। यद्यपि हरेक महिला पनि राजनीतिमै हुनुपर्छ भन्ने जरुरी छैन। जस्तो कि म। तर मैले पनि राजनीतिक सम्बन्ध भएका महिला तथा पार्टीहरूमा सम्बन्ध राख्न भने जरुरी छ।

हामीले ती व्यक्तिसम्म मुद्दा पुर्‍याउने हो, ती व्यक्तिहरूले न्याय अधिकारलाई कानुनी रूपमा मान्यता दिलाउने हो। तल्लो स्तरसम्म पुग्ने भनेको राजनीतिक महिला नै हुन्। कुनै महिला नर्स अथवा डाक्टर हुन्छन् भने उनीहरूले महिलाको स्वास्थ्यसम्बन्धी चेतनालाई जनतासम्म पुर्‍याउने हो। त्यसैगरी मिडियामा भएका साथीहरूले जनताका कुरा मिडियामा ल्याउने र मिडिया क्षेत्रभित्रको महिलाको अवस्थालाई जनतासम्म पुर्‍याउने हो। यसरी महिला सहभागिता भएका हरेक क्षेत्र, स्कुल, कलेज, विश्वविद्यालयमा महिला मुद्दाबारे छलफल हुन जरुरी छ। एकअर्काप्रति सम्बन्ध स्थापना हुन पनि जरुरी छ।

विकासको कारणले पनि हिंसाको स्वरूपमा फरक पार्छ ?

हिंसाको स्वरूपमा विकासको कारणले मात्र फरक पार्दैन। हिंसा हाम्रो धर्म, संस्कृति, जातिप्रथामा व्यापक रूपमा छ। यी तीन कुराले फरक पार्छ। यी ४० ÷४५ वर्षमा मैलै जे सिकेँ, दक्षिण एसियामा पुरुष सर्वाधिक बलियो छ। यो मैले मात्र भनेको कुरा होइन। नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेन पनि यो कुरालाई मान्छन्। दक्षिण एसियाका महिलाको अवस्था हेर्ने हो भने दक्षिण अफ्रिकाका महिलाका अवस्थाभन्दा पनि दयनीय र कमजोर छ। जब कि विकासको हिसाबले दक्षिण अफ्रिकाभन्दा दक्षिण एसिया अगाडि छ। जस्तै भारत र नेपालमा पनि श्रीमान्लाई पति परमेश्वर मानेर खुट्टा धुने, जल खाने परम्परा अझै छ। यो परम्परा विश्वमा सायदै विकसितमा त के अतिकम विकसित मुलुकमा पनि छैन। तपाईंहरूकै तीजलाई नै हेरौं। मैले सुनेको छु, महिलाहरू ३६५ पटक आफ्नो योनी धुन्छन्। शुद्धताकै कुरा हो भने पुरुषले पनि धुनुपर्ने हो। यस्तो अपमानजनक चाड नेपालमा पहिलेभन्दा अझ व्यापक रूपमा मान्दै आइरहेको देखिन्छ। अब त तीजलाई पूरै पुँजीवादले कब्जा गरिसकेको छ। पहिले घरभित्र मात्र थियो, अहिले होटलमा पनि पुगिसकेको छ।

मेरो आफ्नै देशको कुरा गर्नुपर्दा म पनि हिन्दू धर्मभित्र पर्छु। मलाई धर्मविरोधी पनि भन्छन्। तर म हिन्दू हुनुको नाताले आफ्नो धर्मबारे बोल्ने अधिकार छ नि ! पहिले आफ्नो धर्मलाई सुधारौं अनि अरू धर्मप्रति बोलौंला। आफूभित्र सुधार नगरी अरूप्रति बोल्ने कुनै अधिकार मसँग छैन। देशमा धर्म बढी मान्छन् कि संविधान ? मान्नुपर्ने संविधान हो तर धर्म मानिन्छ।

तपाईंले कुरा उठाइहाल्नुभयो; ढोग्ने, जल खाने आदि परम्परालाई कतिपयले श्रीमान्- श्रीमतीको व्यक्तिगत कुरा हो, यसको सामाजिक चर्चा हुनु जरुरी छैन पनि भन्छन् नि !

कसरी व्यक्तिगत हुन सक्छ ? केवल एकदुई महिला मात्रै हुन्थे भने व्यक्तिगत पनि मान्न सकिन्थ्यो होला। यहाँ पूरै समाज र देश नै यसरी चलेको छ। यो धेरै समयदेखि चल्दै आइरहेको छ भने यो कसरी व्यक्तिगत हुन सक्छ। त्यसो भए आफ्नी श्रीमती कुट्नु पनि व्यक्तिगत भयो। विश्वमा तीनमध्ये एक महिला श्रीमान्बाट कुटिनु परेको छ। त्यसैले यी मुद्दा भनेको सामाजिक कुरा हुन्। श्रीमान्लाई पति पनि भनिन्छ। पति भनेको मालिक हो। यो हिन्दी र नेपाली भाषामा पनि छ। भाषा भनेको त सामाजिक हो। मैले तीज, कर्वा चौथ मनाइनँ भने पूरै समाज मेरोविरुद्ध लाग्छ।

महिला हिंसामा वर्गीयताले कत्तिको फरक पार्छ ?

हेर्नुस्; वर्ग, जाति, पितृसत्ता सबै कुरा एकआपसमा जोडिएका छन्। म महिला मात्र होइन; एउटा वर्ग, धर्म, जाति आदिको प्रतिनिधि हुँ। मेरो वर्गको आधारमा हेर्ने हो भने मैले पुरुषलाई पनि शासन गर्न सक्छु। जस्तै मेरो ड्राइभर। उसले मेरो आदेश पालना गरिरहन्छ। यसकारण कि मैले उसलाई जागिर दिएकी छु, न कि म महिला हुँ। त्यसैगरी म ब्राह्मण हुनुको नाताले एक दलित महिलालाई मैले हेपिरहेकी हुन्छु। म कुर्सीमा बस्छु। ऊ भुइँमा बसेकी हुन्छे। यसरी हेर्दा यी सबै सिस्टम एकआपसमा अन्तर्सम्बन्धित छन्।

दक्षिण एसियाली राजनीतिमा महिलालाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

राजनीति भनेर सबै एकै प्रकारका छैनन्। वामपन्थी विचार राख्ने र दक्षिणपन्थी विचार राख्ने पनि उत्तिकै सशक्त छन्। जस्तो- भारतको एउटा मन्दिरमा महिलाको प्रवेश निषेध छ। केही महिला साथीले यो विषयलाई सुप्रिम कोर्टमा पुर्‍याए। सुप्रिम कोर्टले पनि महिलाकै पक्षमा फैसला गर्‍यो। तर, केही राजनीतिक पार्टी भाजपा, कांग्रेसले यसलाई स्वीकार्न सकेनन्। परम्परा, धर्म, संस्कृतिका नाममा महिलालाई मन्दिरमा निषेध नै गरे। जो पार्टी सत्तामा छ, जसले कानुन निर्माण गर्ने, पालना गराउने जिम्मेवारी पाएको छ; उसैले धर्मको नाममा कानुन उल्लंघन गरेको छ। तर, अन्य केही पार्टी र सीपीआईले महिलाको समर्थन गर्‍यो। त्यसैले सबै राजनीतिक पार्टीले एकै तरिकाले सोच्छन् भन्ने छैन। नेपालमा पनि लगभग यही सन्दर्भ लागू हुन्छ। यहाँ पनि राष्ट्रपति मन्दिर प्रवेश गरेको भनेर विधवाको नाममा मन्दिर चोख्याएको भन्ने समाचार पढेँ। यसैले हामी आफैंले पनि विचार गर्नुपर्ने कुरा हो, कुन पार्टी महिलाका मुद्दामा सकारात्मक छ, वास्तविक समानतामा विश्वास गर्छ भनेर। सामान्यतया हेर्ने हो भने वामपन्थी विचारधाराका पार्टीहरू महिलाका मुद्दाहरूमा धेरै सकारात्मक देखिन्छन्। पार्टी सहभागिताका हिसाबले पनि महिलाहरू यी पार्टीहरूमा अलि बढी पाइन्छन्। यद्यपि महिलाहरू बोल्ने बेलामा बोल्ने तर शक्ति र सत्तामा पुगेपछि भने चुप लाग्ने अवस्था विद्यमान छ।

महिला हिंसा र पुँजीवादबीच कस्तो सम्बन्ध छ ?

धेरै ठूलो सम्बन्ध छ। तर, दोहोरो पनि छ। पुँजीवादले एक दुई कुरामा महिलालाई सहयोग पनि गरेको छ। जस्तो कि पुँजीवादले गर्दा धेरै कारखाना खुले। उनीहरूलाई मजदुरको आवश्यकता थियो। महिला मजदुर थोरै ज्यालामा पनि पाइन्छन्। यसले गर्दा महिलाले जागिरको अवसर प्राप्त गरे। घरबाहिर निस्कने थोरै हैसियत बनाए। थोरै भए पनि पितृसत्ताबाट छुटकारा पाए। आर्थिक रूपमा सबल हुनाले थोरै भए पनि सम्मान प्राप्त गरे। योबाहेक पुँजीवादले नोक्सान धेरै गर्‍यो। पुँजीवाद भनेकै लाभका लागि काम गर्नु हो। उनीहरूको एक मात्र खोजी भनेको फाइदा हो। पुँजीवादले पोर्नाेग्राफी बनायो। यसले महिलाको अवस्था कस्तो बनायो, हामी सबैले बुझिरहेका छौं। पोर्नाेग्राफीले पुरुषलाई कति हिंस्रक बनायो भने त्यसको सीधा असर महिलामाथि पर्‍यो।

खेलौना उद्योगलाई नै हेरौं। उनीहरू पुरुषका लागि बारुद, बन्दुकजस्ता खेलौना उत्पादन गर्छन्। महिलाका लागि डल उत्पादन गर्छन र पुरुषलाई योद्धाका रूपमा चित्रण गर्छन्। महिला भनेको छाती ३६ इन्च, कम्मर २८ र हिप ३६ इन्च भएकी। तीबाहेकका महिला त उनीहरूको दृष्टिकोणमा महिला नै भएनन्। पुँजीवादले पुरुषलाई हिंस्रक बनाएको छ भने महिलालाई वस्तु बनाउँदै लगेको छ। हलिउड बलिउडकै कुरा गरौं, जहाँ ९५ प्रतिशत फिल्मले पितृसत्तालाई अँगालेको छ। तपाईंकै सञ्चारमाध्यमलाई नै हेरौं, मेरो अन्तर्वार्ता छापियो भने त्यसको छेउमै महिला सौन्दर्य प्रसाधनका ठूलाठूला विज्ञापन छापिन्छन्। पाठकले मलाई भन्दा पहिला विज्ञापनलाई हेर्छन्। म जे कुराको विरोध गरिरहेकी छु, तिनै कुरा पत्रिकामा झन् महत्वका साथ छापिएका हुन्छन्। यस्तो विरोधाभास छ।

कुनै पनि यस्ता उद्योग छैनन् जसले महिलाको दिमाग तेज बनाओस्, आफ्नो हैसियत मजबुत बनाओस् र आफ्नै खुट्टामा उभियोस्। महिलाले शृंगार गर्नु छ, पुरुषका लागि स्न्दर देखिनु छ। महिलालाई मेकअप योर बडी, डन्ट मेकअप योर माइन्ड भन्छ। त्यसैले हामीले भन्ने गरेका छौं, बडी मेकअप नभई माइन्ड मेकअप गरौं। यी तमाम विषय पुँजीवादका उपज हुन्।

महिला आन्दोलन भुइँमान्छेसम्म नपुगेको आरोप लाग्ने गरेको छ नि ?

कसले भन्यो तपाईंलाई ? यो एकदमै गलत सोच हो। हामीले गर्ने भनेकै भुइँमान्छेका लागि हो। उपल्लो वर्गका मान्छेसँग हाम्रो सम्बन्ध नै स्थापित हुन गाह्रो छ। उनीहरू पुँजीवादमै रमाउने गर्छन्। सम्पत्ति प्रदर्शनमा उनीहरू खुसी छन्। दाइजो प्रथा धनीमा धेरै छ कि गरिबमा ? नारीवादी सोच त्यहाँ कहाँ छ ? उनीहरू त हाम्रो विचार सुन्नै चाहन्नन्। तपाईं कुनै आन्दोलन गर्नुस्, त्यहाँ सम्पन्न परिवारका कति मानिस सहभागी हुन्छन् ? आजसम्मका सबै आन्दोलनमा भुइँमान्छेकै सहभागिता छ। यो जुन आरोप छ, त्यो पितृसत्तात्मक सोच बोकेका मान्छेले लगाउँछन्। उनीहरू चाहन्नन् कि महिलाहरू बराबर हुन्। जो सम्पत्तिवान् परिवारका महिला सदस्य छन्, तिनीहरूले नै बढी पितृसत्तालाई प्र श्रय दिइरहेका छन्। मलाई लाग्छ, यी मुद्दालाई खासमा पढेलेखेका र सम्पन्न परिवारसम्म पुर्‍याउन अझ बढी जरुरी छ। (साभार : अन्नपूर्ण/फुर्सद;२१ भदौ २०७६)

आइतबार, भदौ २२, २०७६ मा प्रकाशित

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*