पुरुष-वर्चस्व रहेको बाउन्सर पेसामा महिलाको प्रवेश

काठमाडाैं |
ज्ञानु आचार्य बाउन्सर हुन् । ठमेलको इबिजा लाउन्ज एन्ड बार डिस्को थेगमा काम गर्छिन् । बाउन्सर बनेको पाँच महिना मात्र भयो । आफ्नो काममा मजा लिइरहेकी छिन् । पुरुष बाउन्सर मात्र देखिरहेका अधिकांश उनलाई देखेर अचम्म मान्छन् । प्रायः रात्रिकालीन मनोरञ्जनस्थलमा बाउन्सर राखिन्छ । मनोरञ्जन दिनकै लागि खोलिएका रेस्टुरेन्ट एन्ड बार, गजल बार, डान्स रेस्टुरेन्ट, डिस्को थेग, लाइभ ब्यान्डजस्ता संस्था धेरै छन् । यी ठाउँमा मदिराको खपत राम्रै हुन्छ । झैझगडा पनि उस्तै । बाउन्सरको काम भनेकै शान्ति कायम गर्नु हो । त्यसैले यस्तो काममा पुरुषकै वर्चस्व छ ।

तर, यो क्षेत्रमा महिलाको पनि प्रवेश हुन थालेको छ । ठमेलमा मात्रै करिब दुई सयको संख्यामा लाउन्ज एन्ड बार, दोहोरी, डान्स बारजस्ता मनोरञ्जन प्रदान गर्ने व्यवसाय छन् । तीमध्ये केहीमा महिला बाउन्सर छन् । तिनैमध्येकी हुन्, ज्ञानु आचार्य ।

अर्घाखाँचीकी ज्ञानु चार वर्षअघि मात्र काठमाडौं आएकी हुन् । उनी सानैदेखि पुरुषले मात्र गर्ने भनिएका काम पनि गर्थिन् । त्यसैले उनी मार्सलआर्टतिर आकर्षित भइन् । उनी ब्ल्याकबेल्ट हुन् । आफूलाई महिला कमजोर हुन्छन् भन्ने कहिल्यै नलागेको उनी बताउँछिन् । ‘म महिला हो भन्ने नै लाग्दैन, घरमा पनि तँ छोरा होस् भन्नुहुन्छ, साथीसंगत पनि केटाहरू नै छन्,’ उनी भन्छिन् ।

काम सम्मानित हुँदाहुँदै पनि समाज र परिवारको गलत बुझाइका कारण कतिपयले निरन्तरता दिन नसकेको फरेनहाइट लाउन्ज एन्ड बार एवं डिस्को थेगका सुरक्षा इन्चार्ज रुपेश गुरुङ बताउँछन् । ‘बाउन्सर काम सम्मानित हुँदाहुँदै पनि समाज एवं परिवारको गलत बुझाइका कारण कामलाई निरन्तरता दिन सक्दैनन्, सुरुमा कसैलाई थाहा नदिई आउँछन्, परिवारले थाहा पाएपछि अनुमति दिँदैनन् र छाड्छन्, त्यसैले महिला बाउन्सर एकदम कम छन्,’ उनी भन्छन्, ‘परिवारको साथ पाएर काम गर्ने लेडिज बाउन्सर सीमित छन्, माग धेरै छ ।’

काठमाडौं आएपछि उनी पढ्दै जागिर खान थालेकी थिइन् । पहिला त उनले एउटा फाइनान्सको मार्केटिङ विभागमा काम गरिन् । कहिलेकाहीँ साथीहरूसँग डिस्को थेग जाँदा बाउन्सर देखेकी थिइन् । उनलाई पनि त्यस्तो काम गर्ने रुचि थियो । तर, महिलालाई बाउन्सर बनाउँछन् भन्ने थाहा थिएन ।

एक दिन साथीले महिला बाउन्सर पनि राख्छन् भन्ने जानकारी दिएपछि आफूले जागिरका लागि फारम भरेको ज्ञानु बताउँछिन् । उनले सामान्य तालिम लिइन् । अनि, ड्युटीमा खटिएपछि खासगरी महिला सेवाग्राहीले विशेष हौसला दिने गरेको बताउँछिन् । उनले भनिन्, ‘सेवाग्राही मलाई देखेर खुसी हुनुहुन्छ । राम्रो काम गर्नु, निरन्तरता दिनु भनेर सल्लाह दिनुहुन्छ । त्यसले थप हौसला मिल्छ ।’ परिवार पनि आफ्नो पेसाप्रति खुसी भएको उनको भनाइ छ ।

अर्की बाउन्सर निरुता कुमाललाई पनि परिवारको साथ छ । आफूले रोजेको पेसा गर्न पाउँदा उनी खुसी छिन् । गोर्खाकी निरुता यो पेसामा लाग्नुको पछाडि एउटा कथा छ । उनी ९ कक्षा पढ्दा बिरामी भइन् । वार्षिक परीक्षा छुट्यो । अनि पढ्न छोडिन् र काठमाडौं हानिइन् ।

काठमाडौंमा आफन्त थिए । यतै अलमलिइन् । साथीहरूसँगको भेटघाटमा बाउन्सरबारे थाहा पाइन् । उनलाई पनि यो पेसामा आउने रहर पलायो । कम्पनीमा गएर फारम भरिन् । त्यसको केही दिनमा नै तालिमका लागि बोलाइयो । अनि फरेनहाइट लाउन्ज एन्ड बार डिस्को थेगमा बाउन्सर भइन् । जागिर खान थालेपछि आफ्नो स्वभावमा पनि परिवर्तन आएको उनले अनुभव गरेकी छिन् । भन्छिन्, ‘बाउन्सरको तालिम लिएपछि सेल्फ डिफेन्समा आत्मविश्वास हुन्छ, जागिर खान थालेपछि त झन् अरूको सुरक्षाका लागि खटिनुपर्ने भएकाले छुट्टै आत्मविश्वास हुँदोरहेछ ।’

उनले भनेजस्तै बाउन्सरले ग्राहकको सुरक्षामा विशेष ध्यान पुर्‍याउनैपर्छ । यसै पनि रात्रिकालीन मनोरञ्जनका लागि आउनेमा युवा नै बढी हुन्छन् । मदिराजन्य पदार्थ पिउँछन् । होहल्ला गर्छन् । कहिलेकाहीँ झगडासमेत गर्छन् । अन्य सेवाग्राहीलाई असर पुग्छ । होहल्ला र झगडा गर्नेलाई सम्झाउने, नियन्त्रणमा राख्ने गर्नुपर्छ । कहिलेकाहीँ त नियन्त्रणमा लिएर बाहिर निकाल्नुपर्छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ रात्रिकालीन व्यवसायमा रोजगार गर्नेको सुरक्षाका लागि परिषद्ले पनि विभिन्न योजना बनाइरहेको बताउँछन् । यो संगठित काम भएकाले व्यक्तिगत रूपमा कसैलाई असुरक्षा नहुने उनको भनाइ छ ।

बाउन्सरको ड्युटी सुरु हुन्छ, साँझ ७ बजे । बिहान ३ बजेसम्म खटिनुपर्छ । सहरका धेरै मान्छे मस्त निदाइरहेका वेला रात्रिकालीन मनोरञ्जन गर्नेहरूलाई उनीहरू सुरक्षा दिइरहेका हुन्छन् । सिन्धुपाल्चोककी रोश्ना थापा बाउन्सर भएको एक महिना मात्रै भयो । उनी कामको मजा लिइरहेकी छिन् । रोश्नालाई आफ्नो पेसा विशेष लाग्छ । भन्छिन्, ‘हामी सेवाग्राहीको भिआइपी सेक्युरिटी हो, त्यसैले मलाई यो पेसा विशेष र आकर्षक लाग्छ ।’ एकल आमा र भाइसँग बस्दै आएकी रोश्ना कामप्रति सन्तुष्ट भएको बताउँछिन् ।

काम सम्मानित हुँदाहुँदै पनि समाज र परिवारको गलत बुझाइका कारण कतिपयले निरन्तरता दिन नसकेको फरेनहाइट लाउन्ज एन्ड बार एवं डिस्को थेगका सुरक्षा इन्चार्ज रुपेश गुरुङ बताउँछन् । ‘बाउन्सर काम सम्मानित हुँदाहुँदै पनि समाज एवं परिवारको गलत बुझाइका कारण कामलाई निरन्तरता दिन सक्दैनन्, सुरुमा कसैलाई थाहा नदिई आउँछन्, परिवारले थाहा पाएपछि अनुमति दिँदैनन् र छाड्छन्, त्यसैले महिला बाउन्सर एकदम कम छन्,’ उनी भन्छन्, ‘परिवारको साथ पाएर काम गर्ने लेडिज बाउन्सर सीमित छन्, माग धेरै छ ।’

केही महिला बाउन्सरले परिचय खुल्ला भन्ने डरले कुरा गर्न चाहेनन् । उनीहरू भन्छन्, ‘रात्रिकालीन पेसा, त्यसमा पनि मनोरञ्जन क्षेत्रमा भनेपछि नराम्रो ठान्छन्, तर हामी सन्तुष्ट छौँ, आफ्नो पेसाप्रति ।’ आफूहरू अरूको हिंसा रोक्ने भएकाले पनि आफैँले त्यस्तो हिंसाजन्य व्यवहार भोग्नुनपर्ने उनीहरूको भनाइ छ । त्यसो त उनीहरू बाउन्सरको पोसाकमा हुन्छन् । पुरुष सहकर्मी पनि साथै हुन्छन् । त्यसकारण हिंसा हुने सम्भावना न्यून भएको अधिकांशको भनाइ छ ।

सेभेन स्टार बडीगार्ड एन्ड बाउन्सर सप्लायर्सका निर्देशक रुद्र लिम्बू क्लब, डिस्को थेग, रेस्टुरेन्ट एन्ड बार, लाउन्ज एन्ड बारको मागअनुसार महिला बाउन्सर तयार गर्न नसकेको बताउँछन् । सप्लायर्सले २५ महिला बाउन्सर विभिन्न क्लब, डिस्को थेग, लाउन्ज एन्ड बारमा पठाएको छ । तर, अझै धेरैजनाको माग छ । उनी भन्छन्, ‘अहिले महिला बाउन्सरको माग एकदमै धेरै छ, हामीले माग पूरा गर्न सकेका छैनौँ । रात्रिकालीन मनोरञ्जन क्षेत्रमा काम गर्ने भन्नेबित्तिकै परिवार तथा समाजको दृष्टिकोण नै फरक हुन्छ । जसले इच्छा भए पनि काम गर्न आउन सक्दैनन् ।’ लिम्बूका अनुसार काम गरिरहेका बाउन्सर पनि विवाहपछि छोडेर जान्छन् । श्रीमान्ले नरुचाएकै कारण काम छाड्ने धेरै भएको उनको अनुभव छ ।

डेजा भू क्लबका म्यानेजर कृष्ण श्रेष्ठका अनुसार बाउन्सरमा असल व्यक्तिमा हुनुपर्ने सबै गुण हुनुपर्छ– कम रिसाउने, मिठो बोल्ने, अंग्रेजी बोल्न सक्ने, मार्सलआर्ट सिकेकोलगायत ।

उनी भन्छन्, ‘कतिपय ग्राहकले हमला गर्न सक्छन्, आत्मरक्षा गर्न सक्नुपर्छ, एकदम कम रिसाउने हुनुपर्छ, ग्राहकलाई समेत शान्त गराउन सक्नुपर्छ, विदेशी ग्राहक पनि आउने हुनाले अंग्रेजी बोल्न सक्ने पनि हुनुपर्छ ।’ सबै गुण भएका महिला पाउन मुस्किल भएको उनले बताए । भएकालाई पनि टिकाउनुपर्ने उनको भनाइ छ । -नुनुता राई /  तस्बिर : विनोद विष्ट / (नयाँ पत्रिकाबाट)

शुक्रबार, वैशाख २०, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*