पूर्व राष्ट्रिय गोलकिपर लोकबहादुर शाहीको निधन

खेल संवाददाता/काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। उनी ६५ वर्षका थिए । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाही ‘मल्टीपल अर्गन फेलियर’का सिकार रहेको समाचारमा जनाइएको छ ।

शाहीको आइतबार राति दैलेखमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिए।

उनको दैलेखमा आइतबार दाहसंस्कार भएको छ।

शाही एक साताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए। विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाही पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपरमध्येमा पर्छन्।

राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गरेका थिए। त्यसक्रममा उनी सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बने।

नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष शाही पछिल्लो समय खेलकुद गतिविधिमा निक्रिय थिए।

सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीका महत्वपूर्ण खेलाडी थिए । शाहीले चार पटक साफ खेल खेलेका थिए । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उनी गोलरक्षक थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए ।

उनी २०५२ सालमा गणेश थापा एन्फाका अध्यक्ष हुँदा महासचिव भएका थिए । पछिल्लो पटक उनी नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहेका थिए । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घका संस्थापक अध्यक्षमा चयन भएका थिए ।

सोमबार, पुस २७, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*