फर्केर हेर्दा : बितेको वर्ष सन् २०२० का प्रमुख घटना

अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ ।सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्‍यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् । यस वर्षका मुख्य घटनाहरु यहाँ छोटकरीमा चर्चा गरिएको छ ।

कोरोना महामारी

यस वर्षको सवैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यो यस वर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ । कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ ।कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोपपनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्युनिकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई विदाई गरिँदैछ ।

इयूबाट बोलायतको बहिर्गमन

लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ । जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो ।पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो । यूरोपेली संघबाट बाहिरिएपछि अहिले ब्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।

ट्रम्पमय राजनीति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो ।गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उहाँले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उहाँको दृष्टिकोणलगायतका कारणले उहाँ चर्चाको केन्द्रमा नै रहनुभयो । दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उहाँलाई यस वर्षले टुंगो लगायो । उहाँलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित हुनुभयो । निर्वाचनपछि पनि उहाँले नतिजा अस्वीकार गरेर थप चर्चा बटुल्नुभयो । वर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो सदनमा पारित ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गर्‍यो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता

अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो ।सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गर्नु भएको थियो । त्यो घोषणा उहाँको कार्यकालको अन्त्यतिर मात्रै लागुभयो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ । तर शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन ।

सलह आतंक

यस वर्षका विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो । विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो ।कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक वर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्‍याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ ।

ठूला दुःखद घटना

यस वर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो ।जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए ।

लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो । अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्‍यो । आगलागीको असर अन्य देशहरुमा पनि पर्‍यो । विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो ।

किमको मृत्युको हल्ला

बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस वर्ष धेरैको ध्यान खिच्यो ।दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहिन हुँदा उहाँको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए । उहाँको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए । सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झण्डै २० दिनपछि उहाँ प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक हुनुभएको थियो । उहाँको मृत्युको चर्चा यसअघि पनि पटक पटक हुनेगरेकोमा यस पटक पनि झुटो सावित भएको छ ।

अलविदा म्याराडोना

फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्याराडोनालाई यसै वर्ष गुमाउनु पर्‍यो । उहाँले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउनुभएको थियो ।सन् २००० मा फिफाले मतदान गराउदा अर्र्जेिन्टनाका फुटबल हस्ती म्याराडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन हुनुभएको थियो । खेल जगत्मा कतिपयले उहाँलाई फुटबलमयी खेलाडी र भगवान्समेतको संज्ञा दिने गरेका छन् । म्याराडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए । उहाँको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो ।

माथि उल्लेखित बाहेक पनि वर्ष सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरुलाई गुमाएको छ । त्यसैगरी अरु धेरै दीर्घकालिन महत्व राख्ने घटनाहरु पनि भएका छन् । धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादमा बेला बेलामा चर्चामा रहेका थिए।(जीवन भण्डारी/रासस)

बिहीबार, पुस १६,२०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*