
क्यालिफोर्निया । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’ बनाएको छ। कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ।
यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्स एपजस्ता कुनै एउटा प्लेटफर्मका लागि मात्र नभइ कम्पनीको नाम नै परिवर्तन गरिएको हो। फेसबुकका प्रमुख मार्क जुकरबर्गले ‘मेटाभर्स’ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन्।
अहिलेको नामले आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको जुकरबर्गले बताएका छन्। कम्पनीले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ। यसअघि बुढी औँला माथितिर फर्किएको ‘लाइक’ लोगो थियो भने कम्पनीको नाम परिवर्तन भएसँगै लोगोलाई परिवर्तन गरेर इनफिनिटी आकार बनाइएको छ।
एकजना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ नाम घोषणा गरेको हो। ती पूर्वकर्मचारी फ्रान्सेस हाउगनले फेसबुक कम्पनीले सुरक्षालाईभन्दा नाफालाई प्राथमिकता राखेको आरोप लगाएकी थिइन्।
सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो। (एजेन्सी)
सोमबार, मंसिर १३, २०७८ मा प्रकाशित
Leave a Reply