भरतमणिलाई ‘कमेडी च्याम्पियन–२’ को उपाधि

काठमाडौं । चर्चित रियालिटी शो कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार भएको फाइनलमा पौडेलले उपाधि जितेका हुन् ।

विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन् । पछिल्लो समय उनले पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए । रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलले अन्त्यमा उपाधि पनि आफ्नो पक्षमा ल्याउन सफल भए । ताप्लेजुङमा पौडेलले राजनीतिक व्यंग्यहरू गरेर उनले चर्चा कमाएका थिए ।

पेन्टोमाइम गरेर चर्चामा आएका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बने ।

Comedy Champion-2

भरतमणीले उपाधिसँगै २५ लाख र कार पुरस्कार पाएका छन् । पूर्व संचारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचरबाट दर्शकको नजरमा परेका उनको पूर्व युवराज पारस शाहको क्यारिकेचरलाई अत्यधिक रूचाइएको थियो । सेमिफाइनलको उक्त प्रस्तुतिपछि उनी भोटिङ बिना नै फाइनलमा पुगेका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।

पूर्वमन्त्री योगेश भट्टराईसमेतले उनलाई भोट माग्दै आएका थिए।

पहिलो उपविजेता अग्रवाल भने सेमिफाइनलमा पेन्टोमाइम गरेर अत्यधिक चर्चामा आएका थिए। उनी भारत सिक्किमका हुन् । उनले पुरस्कारमा टिभिएस अपाचे बाइक पाए । दोस्रो उपविजेता बनेका गोरखाका सन्तोषले टिभिएस स्कुटी पुरस्कार पाए ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको हो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी छन् ।

मंगलबार, असोज ५, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*