भाइबहिनी पढाउँदै कराते खेल्ने पूर्व माओवादी कार्यकर्ता अनुपमाले जितिन् स्वर्ण

काठमाडौं । २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालकी रिता कार्की कास्य पदकबाट चुकिन्। उनी पाकिस्तानकी नर्गिससँग पराजित भएकी थिइन्।

तिनै नर्गिसले दक्षिण एसियाली खेलकदु (साग) अन्तर्गत बुधबार कराते फाइटको ६८ केजी माथि तौल समूहमा प्रतिस्पर्धा गर्दै थिइन्। त्यही समूहमा थिइन् नेपालकी अनुपमा मगर।

सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको समूह चरणमा श्रीलंकाकी विजेकुनमाथि ७-४ अंकको जित निकाल्दै अनुपमाले फाइनलमा नर्गिससँगको भेट पक्का गरिन्।

नर्गिससँग फाइट गर्न अनुपमाको लागि सजिलो थिएन।

एसियन पदक विजेता भएकोले पनि नार्गिस स्वर्ण जित्नेमा ढुक्क देखिन्थिन्। समूह चरणमा पनि उनले बंगलादेशकी खेलाडीमाथि सहज जित निकाल्दै फाइनलको यात्रा तय गरिन्।

अनुपमाले नार्गिसलाई सपना पूरा गर्न दिइनन्। उनले नार्गिसमाथि ६-३ अंकको जित निकाल्दै स्वर्ण सुनिश्चित गरिन्।

स्वर्ण अनुपमाको पोल्टामा गएपछि पाकिस्तानी समर्थक र खेलाडीले स्वीकार्न सकेजस्तो देखिन्थेन।

अनुपमाले विपक्षी सबैलाई स्तब्ध बनाइन्।

‘इन्डोनेसियमा नेपाललाई हराउँदा दुःख लागेको थियो। नेपाल नहारेको भए पदक आउने थियो। त्यसैले नार्गिसलाई नेपालमा हराउँछु भन्ने सोचेको थिए, त्यो आज पूरा भयो,’ अनुपमाले सेतोपाटीसँग भनिन्।

नर्गिस एसियन पदक वितेता हो भन्ने थाहा भएकोले पहिल्यैदेखि उसको प्रदर्शनलाई आफूले अध्ययन गरेको उनले बताइन्। नार्गिसलाई पराजित गर्न सके आफूले स्वर्ण जित्नेमा उनी ढुक्क थिइन्।

सिन्धुलीकी अनुपमाले १८ वर्षबाट कराते खेल्न सुरू गरिन्।

शरीरको तौल घटाउन उनले करातेमा भर्ना भएकी थिइन्।

‘तौल घटाउनलाई कराते खेलेको च्याम्पियन भइयो,’ उनले भनिन्।

अनुपमा कुनैबेला माओवादीकी कार्यकर्ता भएर भूमिगत बनेकी थिइन्। त्यहाँ पनि उनी कराते खेल्थिन्, सिकाउँथिन्। त्यहीँ सिलसिलामा उनी नवलपरासी पुगिन्।

नवलपरासीमै हुँदा उनले आमा बितेको खबर पाइन्। त्यसपछि त्यहाँ उनको मन अडिएन। उनी सिन्धुलीमा फर्किइन्। सिन्धुलीमा घर थियो तर आमा थिइनन्। आमा नभएको घर के घर! उनको मन थामिएन।

उनका दाइ काठमाडौंमा काम गर्थे। सानो भाइ र दुई बहिनी गाउँमै थिए।

केही दिनपछि भाइबहिनी च्यापेर अनुपमा काठमाडौं आइन्। दाइसँग दु:ख गरेर भाइबहिनीलाई यतै पढाइन्।

काठमाडौं आएपछि उनले बालाजु डोजोमा फेरि कराते सुरू गरिन्। त्यसपछि उनले नेपाल प्रहरीबाट खेलिन्। बुधबार जितेको स्वर्ण भने अनुपमाको लागि पहिलो साग स्वर्ण हो।

अब आफ्नो लक्ष्य एसियाली खेलकुद र ओलम्पिकमा राम्रो प्रदर्शन गर्नु रहेको बताइन्।

उनले एक पटक एसियाली खेलकुदमा सहभागिता जनाए पनि समूह चरणबाटै आउट भएकी थिइन्। त्यसैले पनि अब पाएको अवसरमा राम्रो प्रदर्शन गर्ने अनुपमाले अठोट लिइन्। (सेतोपाटीबाट साभार)

बुधबार, १८ मंसिर २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*