भो, नगरौं लुगा–गहना र राम्री देखिने मात्र कुरा !

आलेख/बन्दना उप्रेती

“ओहो कत्ति राम्रो कुर्ता, कहाँ किन्नुभएको दिदी यो ?”

“अँ… उहाँले बाहिरबाट ल्याइदिनुभएको, राम्रो कलर छ है !! डिजाइन पनि मार्केटमा नयाँ हो ।”

एक संस्थाको औपचारिक कार्यक्रममा उपस्थित उच्च पदीय हैसियत ग्रहण गरेका दुई महिलाबीचको संवाद हो यो । कार्यक्रम अवधिभर उनीहरूबीच यस्तै ‘महत्वपूर्ण’ छलफल भैरह्यो । औपचारिक कार्यक्रम हुनाले धेरै कुरा जान्ने–सिक्ने अवसर प्राप्त होला भन्ठानेर गएकी म भने फेरि पनि उही लगाएको, खाएको, नयाँ गरगहना जोडेको कुरा सुनेर आजित–आजित भएँ ।

महिला र औपचारिकता

विभिन्न समारोह, गोष्ठी, सभा र सम्मेलनहरूमा देखिने गरेको यो एउटा सानो प्रतिनिधि घटना मात्र हो जसलाई हामी सबैले कुनै न कुनै बेला भोगेकै छौँ । प्रश्न उठ्न सक्छ, आफूलाई मन परेको लुगा सामान इत्यादिलाई राम्रो भन्न पनि नपाइने ? त्यस विषयमा कुरा गर्न पनि नपाइने ? म भन्छु, हो पाइने तर अनौपचारिक ठाउँहरूमा मात्र । औपचारिक स्थानहरूमा आफूलाई कसरी प्रस्तुत गर्ने, के गर्ने, के नगर्ने भन्ने सबैले सिक्नु जरुरी छ, विशेषतः महिलाहरूले जो सशक्तीकरणको अवधारणा बोकी विभिन्न गाउँ ठाउँहरूमा प्रतिनिधित्व गर्छन् । किनभने, उनीहरूका यस्ता गतिविधिले एकातिर उनीहरूबाट प्रभावित गाउँठाउँका साधारण महिलाहरूले सोही व्यवहार सिको गर्ने प्रचलन विकास हुने डर रहन्छ भने अर्कोतिर यस्तो गतिविधि गर्नु सामान्य हो भन्ने भ्रम जनमानसमा फैलिने खतरा हुन्छ ।

bandana upreti

– बन्दना उप्रेती

यसको परिणामस्वरूप यहाँ सामान्य मानिएका जस्ता गतिविधिहरू (जुन कुराकानीका विषय, लवाइखवाइ, तौरतरिका आदिसँग जोडिन्छन्) अन्तर्राष्ट्रिय मंचहरूमा गर्दा आफ्नो मात्र नभई देशकै बेइज्जती हुने अवस्था पनि आउन सक्छ । यसको एक गतिलो उदाहरण पूर्वप्रधानमन्त्री प्रचण्ड र उनकी श्रीमती सीता दाहालको भारत भ्रमण हो जहाँ सीता दाहाल सोफामाथि पलेटी कसेर बसेको फोटोले निकै चर्चा र बहसहरू निम्त्याएको थियो ।

यसै परिप्रेक्ष्यमा, महिलाहरूसँग सम्बन्धित अन्य धेरै गहकिला र महत्वपूर्ण विषयहरू हुँदाहँुदै सामान्य जस्तो लाग्ने यस्तो विषय किन उजागर गरेको भन्ने प्रश्न उठ्न सक्छ । जवाफ सोझो छ, यस्तो परिपाटी हाम्रो समाजको यथार्थ हो र यिनलाई अनदेखा गरी समग्र समाज तथा यही समाजका अभिन्न अंगका रूपमा रहेका महिलाहरूको विकास असम्भव छ । विश्व प्रसिद्ध दार्शनिक सोक्रेटसले भनेका थिए, “कुनै पनि प्रश्न राम्रोसँग बुझ्नु नै आधा जवाफ पाए सरह हो ।”

हाम्रो समाजमा आजका दिनसम्म आइपुग्दा पनि महिलाहरूको अवस्थामा खासै गुणात्मक सुधार किन आउन सकेन भन्ने प्रश्नको उत्तर केलाउन अत्यन्त आवश्यक छ । यही प्रश्न बुझ्नका निम्ति पितृसत्तात्मक सोचले खेलेका भूमिकासंगै अन्य विभिन्न कारणहरूले महिलाको मानसिकतामा पारेको प्रभाव जान्न जरुरी छ ।

आजसम्म प्रायः लेख रचना वा अन्य माध्यमबाट जति पनि बहसहरू भए, ती प्रायः पितृसत्तात्मक सोच र यसले पारेको असरकै सेरोफेरोमा भए । तर यस्ता बहसहरूमा अझै पनि समाजका अन्य यथार्थलाई पूर्ण रूपमा चित्रण गर्न नसकेको हो कि भन्ने भान हुन्छ । तसर्थ समाजमा रहेका अन्य आयामहरूमा पनि ध्यान केन्द्रित होस् भन्ने उद्देश्यका साथ आफना विचारहरू व्यक्त गर्दैछु । उनै सोक्रेटसले भनेका थिए, “शिक्षाको उद्देश्य खाली भाँडो भर्नु नभई आगो बाल्नलाई झिल्काको सुरुआत गरे सरह हो ।”

यही सन्दर्भमा नयाँ विषयको उठान पनि यस लेखबाट गर्न खोजिएको हो ।

औपचारिक कार्यक्रमहरूमा गरिने माथि उल्लिखित जस्ता अनौपचारिक सन्दर्भ र व्यवहारको अर्को गम्भीर असर भनेको सम्पूर्ण महिला सशक्तीकरण आन्दोलनमाथि पनि पर्न जान्छ । यस्ता गतिविधिले महिलाहरू स्वभावैले कुरौटे (gossipers) हुन्छन्, जति पढेलेखे पनि समूहमा आफूलाई राम्रोसँग प्रस्तुत गर्न जान्दैनन् भन्ने गलत अवधारणालाई बलियो बनाउन भूमिका खेल्छ ।

त्यसमाथि पनि जब शिक्षित र महिलावादी भनेर परिचित समूहले औपचारिक कार्यक्रमहरू र सार्वजनिक स्थानहरूमा यस्ता सूक्ष्म तर आवश्यक पक्षतिर ध्यान दिइँदैन, त्यसले साधारण जनताले महिला सशक्तीकरणको अभियानलाई हेर्ने दृष्टिकोणमा पनि व्यापक नकारात्मक प्रभाव पार्छ । सामान्य उदाहरण दिनुपर्दा विभिन्न मंच र फोरमहरूमा उपस्थित हुँदा आफूलाई महिलावादी भनेर प्रस्तुत गर्ने धेरैले लुगा गरगहना आदिको अस्वाभाविक प्रदर्शन गर्दा कतै महिला मुक्ति र सशक्तीकरणका प्रयासहरू आफ्नो पथबाट दिग्भ्रमित त भै रहेका छैनन् भन्ने भान हुन जान्छ ।

आखिर के नै पो फरक रह्यो र विभिन्न समाहरोहरूमा महँगो तर सादा रंगका साडी, नौला गरगहना, विचित्रका टीका लगाउने र तीजमा महँगो तर रातो साडी अनि झपक्कै गहना र छड्के तिलहरी लगाउनेहरूमा ? कुरा छड्के तिलहरी लगाउनु, नौला गहनाहरू लगाउनु वा ती लगाउने व्यक्तिहरू नराम्रा भन्न खोजिएको हैन, तर एक थरीलाई भड्िकलो प्रदर्शनको संज्ञा दिने र अर्कोलाई शालीनताको प्रतिक मान्ने गलत संस्कार, मानसिकता र परिपाटीको हो ।

महिला सशक्तीकरणको अभियानमा लागिपरेका हामी धेरैलाई यो कुरा अपाच्य होला तर आजको हाम्रो तितो यथार्थ यो पनि हो, यी र यस्तै व्यवहारका आधारमा, आज महिलावादी हुनु भनेको डलरको खेती गर्नु हो भन्ने जमातको कमी छैन हाम्रो समाजमा । यस्ता भनाइहरूले महिलामुक्ति, महिला जागरण र महिला सशक्तीकरणका लागि गरिएका अथक प्रयास, त्याग र उपलब्धिहरू क्षणभरमै मूल्यहीन तुल्याइदिएको अवस्था छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के पनि हो भने यस्तो जटिल स्थितिबाट महिला सशक्तीकरण आन्दोलनलाई जोगाउनु समयको माग मात्रै नभई यस क्षत्रमा निरन्तर क्रियाशील हामी सबैको नैतिक जिम्मेवारी पनि हो । तसर्थ यस्ता कार्यक्रमहरूमा सरिक हँुदा आफूलाई तथाकथित घरानियाँ (elites) को रूपमा प्रस्तुत गर्ने गलत संस्कारको पनि समीक्षा गर्नु अत्यन्त जरुरी छ ।

औपचारिक कार्यक्रम र महिलाको कुरा गरिरहँदा, यस्तो संस्कारको विकास किन भयो भन्ने कुराको पनि विश्लेषण गर्नु अपरिहार्य हुन्छ र विषयवस्तु गएर ठोकिन्छ उही मानसिकतामा । जब कुनै बालिका घर वा आफन्तका बीच आफूले देखेका, भोगेका र सुनेका कुराहरू राख्दा “ए नानी चुप लाग्, आफूभन्दा ठुलो मान्छेहरू कुरा गरिरहँदा बोल्नु हँुदैन” भन्ने सिक्न पाउँछिन् तर चिटिक्क परेको फ्रक लगाउँदा “कस्ती राम्री गुडिया जस्तै देखिएकी” भन्ने प्रशंसा सुन्छिन्, उनमा आफ्नो बौद्धिकताभन्दा महत्वपूर्ण त आफ्नो सुन्दरता पो हो रैछ भन्ने सोच प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकसित हँुदै जान्छ र त्यही झल्कँदै जान्छ उनको बाँकी जीवनमा पनि ।

यसको मतलब, आफ्ना नानीहरूलाई अनुशासन नै नसिकाई जतिखेर जे पनि बोल्न दिनुपर्छ भन्ने हैन तर उनीहरूको आवाजलाई पनि महत्व र स्थान दिन जरुरी छ ताकि समयक्रमसँगै उनीहरूमा विचार राख्ने तरिका, विषयवस्तुको गुणस्तर, आफूप्रतिको विश्वास र समग्र व्यक्तित्व विकासमा सकारात्मक सहयोग पुगोस् ।

यहाँ एउटा सानो भोगाइ राख्न चाहन्छु ।

म कक्षा सातमा अध्ययनरत थिएँ । पहिलो कक्षा सिद्धिएको अवस्थामा म लगायत साथीहरू दोस्रो विषय पढाउने शिक्षिकाको प्रतिक्षामा थियौँ, विषय थियो नेपाली । केही समयको अन्तरालमा म्याम आउनुभयो, “आज तिमीहरूको सरप्राइज टेस्ट सबैलाई शब्द अर्थ सोध्छु” भन्नुभयो । सिट रोटेसनको तालिका अनुसार पहिलो बेन्चमा म थिएँ । सरप्राइज टेस्टको पहिलो सिकार मै हुने भएँ । म्यामले उठाएर शब्द अर्थ सोध्नुभो । धन्न मलाई आउने सजिलो शब्द थियो र म जवाफ दिन थालेँ । म बोल्दा बोल्दै म्यामले बीचैमा “नानी तिम्रो आँखिभौं राम्रो रैछ थ्रेडिङ नगर्नु है । ल बस ।” भन्नुभो ।

मलाई आजसम्म पनि शंका लाग्छ, उहाँले मैले भनेको उत्तर सुन्नु पनि भो कि भएन । कक्षा ७ मा पढने छात्रालाई कक्षाकोठामा दिनुभएको यो सल्लाह कत्तिको सही छ, त्यो आफैँमा विश्लेषणको पाटो हो तर यी र यस्तै विभिन्न घटनाले मलाई सोच्न बाध्य तुल्याउँछन्– कतै महिलाको शारीरिक सुन्दरतालाई प्राथमिकता दिने प्रचलनकै कारण शारीरिक सुन्दरतालाई टेवा पुर्याउने र लत्ताकपडा अनि गरगहनातिर पढेलेखेका बुद्धिजीवीलगायत सम्पूर्ण महिलाहरूको विशेष झुकाव रहेको हो कि ?

तसर्थ आम जनमानसमा महिलाहरू साँच्चै आफ्नो स्थिति सुदृढ गर्न र आफ्नो सर्वपक्षीय विकासका लागि तत्पर छन् भन्ने कुरामा शंका रहन नदिनका लागि आफ्नो क्षमता विकास गर्न जरुरी छ । विभिन्न औपचारिक कार्यक्रममा आफूलाई प्रस्तुत गर्ने सही तरिका जान्न अपरिहार्य छ । साथै प्रस्तुति भनेको लगाएका कपडा र गरगहना मात्रै नभई आफ्नो बौद्धिकता व्यक्त गर्ने तरिका पनि हो भन्ने ज्ञान हुन आवश्यक छ ।

नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री अमत्र्य सेनले आफ्नो “क्षमता अभिवृद्धिको सिद्धान्त” मा ‘व्यक्तिको क्षमता विकास गर्नु नै समग्र आर्थिक विकासको पाटो हो’ भनेका छन् । तसर्थ, समग्र देशकै विकासका निम्ति पनि झट्ट हेर्दा सामान्य तर गहिरो प्रभाव पर्ने यस्ता कुरामा ध्यान जान जरुरी छ ।

शनिबार, कात्तिक ४, २०७४ मा प्रकाशित

1 Comment on भो, नगरौं लुगा–गहना र राम्री देखिने मात्र कुरा !

Leave a Reply

Your email address will not be published.


*