रंगभेद विरुद्धको आन्दोलन दबाउन ट्रम्पको आदेश

प्रहरीबाट एक अश्वेत नागरिकको जघन्य हत्या भएसँगै अमेरिकामा रंगभेदको मुद्दा फेरि एकपटक सतहमा आएको छ । कोरोनाको त्रास बिर्सेर लकडाउनकै बीच मानिसहरु सडकमा निस्केका छन् र न्याय एवं समानताका लागि लडिरहेका छन् ।

दुनियाँलाई प्रजातन्त्र र मानवअधिकारको पाठ पढाउन अभ्यस्त महाशक्ति देश हो अमेरिका । विश्वका जुनसुकै कुनामा मानवअधिकार उल्लंघनका गम्भीर घटना हुँदा उसका कान ठाडा हुन्छन् । लोकतन्त्र र मानवअधिकार रक्षाका नाममा अमेरिकाले विभिन्न देशमा आफ्ना सेनासमेत परिचालन गरेको छ ।

त्यही अमेरिकामा एक निहत्था नागरिक जर्ज फ्लोयड प्रहरीबाट नृशंस तरिकाले घाँटी थिचेर मारिएपछि अहिले देशैभरि आन्दोलन चर्किएको छ ।

आन्दोलन दबाउन ट्रम्पको आदेश

कोरोना भाइरसले अस्तव्यस्त बनाइरहेको बेला अमेरिकालाई रंगभेद विरुद्धको आन्दोलनले अर्को तनाव थपिदियो । कोरोनासँग लड्न सही रणनीति लिन नसकेको आरोप लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस प्रकरणलाई ठीक ढंगले सम्वोधन गर्न सकेका छैनन् ।

उनले दुई दिनअगाडि विभिन्न राज्यका गर्भनरहरुसँग भिडियो कन्फ्रेन्स गर्दै आक्रोश पोखे । गर्भनरहरुले आन्दोलन नियन्त्रणमा लिन नसकेको र आन्दोलनकारी प्रहरीमाथि हावी भइरहेको उनको आरोप थियो । साथै उनले बल प्रयोग गरेर आन्दोलन दवाउन आदेश दिएका छन् । यसका लागि सेना प्रयोग गर्ने तयारी पनि उनले गरेका छन् ।

तर, राष्ट्रपतिको ट्रम्पको यो रवैया आलोचित बनिरहेको छ । प्रहरीभित्रै पनि उनको विरोध भएको छ । अमेरिकाको एक राज्यका प्रहरी प्रमुखले सीएनएनसँग भनेका छन्, ‘यसबेला यदि राष्ट्रपतिले कुनै रचनात्मक कुरा गर्न सक्दैनन् भने आफ्नो मुख बन्द राखुन् ।’

राष्ट्रपति ट्रम्पका पूर्वरक्षा सचिव जेम्स मेटिसले ट्रम्पले अमेरिकीहरुबीच विभाजन ल्याउन खोजेको आरोप लगाएका छन् । हालका डिफेन्स चिफ मार्क एसपरले पनि सेना परिचालन गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।

यता रंगभेदविरुद्धको आन्दोलन देशब्यापी बन्दै गएको छ । लकडाउनले गर्दा धेरैले रोजगारी गुमाएको भएर पनि सडकमा आउनेहरुको कमी छैन । कम्तिमा ७५ शहरमा आन्दोलनको डढेलो सल्किएको छ । ४० भन्दा बढी सहरमा कफ्र्यू लगाइएको छ ।

कतिपय स्थानमा आन्दोलनकारी उग्र देखिएका छन् । भौतिक संरचना र सवारी साधन तोडफोड गर्ने मात्र नभएर पसलमा लुटपाट पनि हुन थालेको छ । दुईजना प्रहरीमाथि चक्कु प्रहार भएको छ । बुधबारसम्म प्रहरीले १० हजार जनालाई गिरफ्तार गरेको छ ।

फ्लोयड हत्याको त्यो दर्दनाक दृश्य

खुल्ला सडकमा मानिसहरुको भिडबीच भएको जघन्य अपराधको भिडियो बाहिर आउनासाथ त्यसले विश्वव्यापी तरंग ल्याएको छ । संसारभरका मानिसहरु यो ८ मिनेटको भिडियो हेरेर उद्धेलित बनेका छन् ।

भिडियोमा देखिन्छ, हातमा हत्कडी लगाइएका एक पुरुष सडकमा पार्क गरिएको प्रहरीको गाडी छेउ घोप्टो परेर लडेका छन् । एक प्रहरी आफ्नो घुँडाले उनको घाँटी निरन्तर दबाउँछन् । पुरुष छट्पटाउँदै भनिरहन्छन्, ‘मलाई छोडिदेउ… मैले सास फेर्न सकिनँ… आमा… आमा…’ । प्रहरीको मनमा दया पलाउँदैन । छेउमै तीन प्रहरी मुकदर्शक भएर हेरिरहन्छन् ।

केहीबेरपछि पुरुष शान्त र स्थिर बन्छन् । तर, त्यसपछि पनि धेरै बेरसम्म प्रहरीले आफ्नो घुँडा हटाउँदैनन् । ८ मिनेट ४६ सेकेन्डसम्म घाँटी दवाएपछि प्रहरीले विश्राम लिन्छन् । अनि अभियुक्तलाई एम्बुलेन्समा हालिन्छ । अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिन्छ ।

George-Floyd

यसरी प्रहरीको बर्बरताबाट ज्यान गुमाएका व्यक्ति हुन् ४६ वर्षीय जर्ज फ्लोयड । शहरको एउटा नाइट क्लवमा बाउन्सरको रुपमा काम गरिरहेका उनले कोरोनाको महामारीपछि जागिर गुमाएका थिए ।

अमेरिकाको उत्तरी राज्य मिनिसोटाको मिनियापोलिस सहरमा भएको घटना हो यो । गत २५ मे, सोमबारका दिन एक व्यक्तिले २० डलरको नक्कली नोट दिएर चुरोट किनेको भन्दै मिनियापोलिस प्रहरीमा फोनमार्फत मौखिक उजुरी आएको थियो । प्रहरी तुरुन्तै परिचालन भयो ।

फ्लोयड त्यस दिन उनी दिउँसोतिर नजिकैको ग्रोसरी स्टोर ‘कप फुड्स’ मा चुरोट किन्न गएका थिए । यो स्टोरका लागि उनी नौला ग्राहक होइनन् । फ्लोयडले एक बट्टा चुरोट किनेर २० डलर दिए र आफ्नो बाटो लागे ।

उनी गएपछि स्टोरका कर्मचारीले नोट चेक गर्दा नक्कली भएको आशंका भयोे । त्यसपछि उनैले प्रहरीमा खबर गरेका थिए । फ्लोयडले दिएको २० डलर नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । उनले त्यसबेला मदिरा सेवन गरेको पनि प्रहरीको भनाइ छ ।

स्टोरबाट निस्केको केहीबेरमा नै प्रहरीले फ्लोयडलाई एउटा कारभित्र फेला पार्यो । कारको ड्राइभिङ सिटमा फ्लोयड बसेका थिए भने अन्य दुई जना व्यक्ति पनि गाडीभित्र थिए ।

प्रहरीको भ्यान एउटा रेस्टुरेन्ट अगाडि रोकियो । दुई प्रहरी अधिकृत अलेक्जेन्डर कुयङ र थोमस लेन गाडीबाट निस्केर बाटो क्रस गर्दै फ्लोयड बसेको गाडीतिर आए । दुई प्रहरीले दुईपट्टिको ढोकाबाट फ्लोयडसँग कुरा गर्न थाले । उनलाई पक्राउ गर्न आएको भन्दै बाहिर निस्किन आग्रह गरे । फ्लोयडले मानेनन् । त्यसपछि एक प्रहरीले बन्दुक देखाएर बाहिर निकाले र नियन्त्रणमा लिए । उनको हातमा हत्कडी लगाइयो ।

प्रहरी नियन्त्रणमा रहेका बेला फ्लोयड कमजोर र असन्तुलित देखिएका छन् । उनलाई प्रहरी भ्यानसम्म लैजाने क्रममा दुईपटक थुचुक्क भूईंमा बस्न खोजेका थिए । भ्यानमा पुर्‍याइएपछि उनलाई पछाडिको ढोका खोलेर सिटमा राख्न खोजियो । उनी मानिरहेका थिएनन् । ठिक त्यही बेला घटनास्थलमा अर्का दुई प्रहरी डेरेक चाउभिन र तोउ थाओको प्रवेश हुन्छ । उनीहरु स्क्वायड कारमा आएर नजिकै रोकिन्छन् ।

चाउभिनले अर्कोपट्टिको ढोकाबाट फ्लोयडलाई तानेर बाहिर निकाल्छन् । फ्लोयड सडकमा घोप्टिन पुग्छन् । दुई प्रहरीले उनलाई खुट्टापछि अठ्याउँछन् भने चाउभिनले उनको घाँटीमा आफ्नो घुँडाले दाब्छन् । फ्लोयडले आफूलाई सास फेर्न गाह्रो भएको भन्दै कराउन थाल्छन् ।

फ्लोयड छट्पटाएपछि लेनले चाउभिनलाई भन्छन्, ‘माथि पल्टाउने हो त ?’

चाउभिनले जवाफ दिन्छन्, ‘होइन, यही अवस्थामा राख ।’

लेन फेरि भन्छन्, ‘दिमागमा असर पर्ने त होइन ?’

चाउभिनले जवाफ दिन्छन्, ‘त्यही भएर त घोप्टो पारेको नि ।’

८ बजेर १९ मिनेट जाँदा घाँटी दाविएका फ्लोयड ८ः२४ देखि हलचल गर्न छोड्छन् । त्यसको एक मिनेटपछि केउङले उनको नाडी छामेर भन्छन्– मैले धड्कन भेटाउन सकिनँ । तर, पनि चाउभिनले आफ्नो घुँडा हटाउँदैनन् । अन्य प्रहरीले पनि कुनै हस्तक्षेप गर्दैनन् । वरिपरि जम्मा भएका मानिसहरुले लगातार विरोध गर्छन् र पनि चाउभिन टसमस हुँदैनन् । यत्तिकैमा घटनास्थलमा एम्बुलेन्स आउँछ ।

८ः२७ मा बल्ल चाउभिन उठ्छन् र फ्लोयडलाई एमबुलेन्समा राखिन्छ र हेन्नेपिन काउन्टी मेडिकल सेन्टरतर्फ लगिन्छ । प्रहरीले अस्पताल पुर्‍याउने क्रममा उनको मृत्यु भएको बताएको छ । तर, प्रहरीले घाँटी दवाउने क्रममा घटनास्थलमै फ्लोयडको प्राणपखेरु उडेको भिडियो हेरेर अनुमान गर्न सकिन्छ । चार जना प्रहरी र थुप्रै सर्वसाधारणको बीचमा नै उनको ज्यान गएको छ ।

फ्लोयडमाथि कुनै जघन्य अपराधको अभियोग थिएन । पक्राउ परिसकेपछि उनले कुनै हिंस्रक व्यवहार देखाएका पनि थिएनन् । हत्कडी लगाइएको अवस्थामा उनी प्रहरी नियन्त्रणबाट उम्केर भाग्न सक्ने अवस्था पनि थिएन । त्यसैले प्रहरीबाट भएको बल प्रयोग अस्वभाविक, नृशंस र आपराधिक देखिन्छ । प्रहरीले उनी आफूहरुसँग जान नमानेको, पहिल्यै अस्वस्थ रहेको लगायत दाबी गरेको छ । यी दावी सत्य नै हुन् भने पनि प्रहरीले गरेको अपराध क्षम्य हुन सक्दैन ।

फ्लोयडको आपराधिक पृष्ठभूमि नभएको भने होइन । होस्टनमा बस्दा सन् २००७ मा उनीमाथि डकैतिको अभियोग लागेको थियो । अदालतको आदेशबाट उनी ५ वर्ष जेल बसेका थिए । सन् २०१४ मा जेलबाट निस्केपछि उनी आफ्नो परिवार छोडेर मिनियापोलिस आएका हुन् । उनकी श्रीमती र ६ वर्षिया छोरी होस्टनमै छन् ।

मिनियोपोलिसमा आएपछि भने उनी सुध्रिएका थिए । साथीभाइहरुका अनुसार उनी हँसमुख स्वभावका थिए र रमाइलो गर्न रुचाउँथे । ७ फिट ६ इन्च अग्ला उनलाई साथीहरुले ‘बिग फ्लोयड’ भन्ने गर्थे ।

स्मरणीय के छ भने फ्लोयड र ४४ वर्षिय चाउभिन गत वर्ष नाइट क्लवमा सँगै काम गर्थे । चाउभिनले त्यहाँ सुरक्षाकर्मीका रुपमा १७ वर्षसम्म पार्टटाइम काम गरेका थिए भने फ्लोयडले एक वर्ष बाउन्सरका रुपमा काम गरेका थिए । त्यहाँ काम गर्दा उनीहरुबीच झैझगडा वा दुश्मनी रहेको हुन सक्ने अनुमान गरिए पनि प्रष्ट भएको छैन । नाइट क्लवकी मालिक माया सान्टामारियाले अमेरिकी मिडियालाई बताएअनुसार फ्लोयड क्लवभित्र बस्थे भने चाउभिन बाहिर बसेर सुरक्षा दिन्थे । उनीहरु आपसमा परिचित थिए वा थिएनन् भन्नेबारे सान्टामारियाले अनभिज्ञता जनाएकी छन् ।

यो घटनाको फुटेज बाहिरिनासाथ अमेरिकामा आन्दोलनको आँधिबेरी उत्पन्न भएको छ । कोरोना संक्रमणको जोखिम मोलेर मानिसहरु सडकमा आवाज बुलन्द गरिरहेका छन् । मुख्य आरोपी मिनियापोलिसका प्रहरी अधिकृत चाउभिनलाई पक्राउ गरिएको छ । चाउभिन प्रहरीमा पहिल्यैदेखि आलोचित व्यक्ति हुन् । उनीमाथि १७ वटा उजुरी छन् । उनले यसअघि गोली चलाएर एक अभियुक्तको ज्यान लिएका थिए । फ्लोयडलाई पक्राउ गर्न आएका अन्य दुई प्रहरीलाई पनि बर्खास्त गरिएको छ ।

USA Protest- G Floyd 2

अमेरिकामा अश्वेतको इतिहास

प्रहरीबाट निहत्था नागरिकको हत्या भएपछि अमेरिकामा यसलाई रंगभेदसँग जोडिएको छ । के जर्ज फ्लोयडमाथि चाउभिनले देखाएको बर्बरता रंगभेदकै परिणाम हो त ? गोरो छाला नभएकैले प्रहरीले उनीमाथि यो कुकृत्य गरेको हो ?

फ्लोयड र चाउभिनै एकै ठाउँमा काम गरेको हिसाबले उनीहरुबीच व्यक्तिगत दुश्मनी रहेको हुन सक्ने र चाउभिनले त्यही दुश्मनी साँधेको हुन सक्ने अनुमान एकथरिको छ । तर, अर्को तथ्य के हो भने घटनास्थलमा चाउभिन मात्रै थिएनन् । थप ३ प्रहरी पनि थिए । उनीहरुले पनि चाउभिनलाई रोक्न खोजेका छैनन् । त्यसैले अमेरिकाको प्रहरी संगठनमै अश्वेत नागरिकप्रति कठोर दृष्टिकोण राखिन्छ भन्ने चर्चालाई यो दृष्यले बल पुर्‍याएको छ ।

यसबारे अझ स्पष्ट हुन अमेरिकी अश्वेतहरुको पृष्ठभूमि केलाउन आवश्यक छ । अश्वेत वा काला भनेर चिनिने अफ्रिकन–अमेरिकनहरुको ईतिहास १६ औं शताब्दीबाट सुरु हुन्छ । त्यसबेला पश्चिम अफ्रिकाबाट मानिसहरुलाई दासको रुपमा ल्याटिन अमेरिकामा बलजफ्ती ल्याइएको थियो । १७ औं शताब्दीमा पश्चिम अफ्रिकी दासहरुलाई उत्तर अमेरिकाको ब्रिटिश उपनिवेशहरुमा लगियो । अमेरिकाको स्थापनापछि पनि ती अश्वेतहरु निरन्तर दासकै रुपमा रहे । उनीहरु कुनै मालवस्तु सरह खरिद विक्री हुन्थे ।

सन् १७९० को अमेरिकी कानुनले अमेरिकामा गोराहरुलाई मात्रै नागरिकता दिने व्यवस्था गर्यो । मतदानको अधिकार पनि गोराहरुमा मात्रै सिमित राखियो । सन् १८६५ मा भएको गृहयुद्धपछि आएर ४० लाख अश्वेतहरुले दासत्वबाट मुक्ती पाएका थिए । ६ लाख अमेरिकीहरु मारिएको उक्त गृहयुद्धपश्चात अमेरिकाको संविधानमा १३ औं संसोधन गरेर दासप्रथा अन्त्य गरिएको थियो ।

त्यसको पाँच वर्षपछि पुन संविधानमा १४ औं र १५ औं संसोधन गरेर अश्वेतहरुलाई नागरिकता र मताधिकार पनि प्रदान गरियो । सन् १८६६ देखि १८७६ को बीचमा अमेरिकामा अश्वेत मतदाताहरुको संख्या ९० प्रतिशतले बढेको थियो । तर, पनि उनीहरु दोस्रो दर्जाकै नागरिकको रुपमा नै रहे । गोरा अमेरिकीहरुले कालाभन्दा धेरै अधिकार एवं सहुलियत पाउँथे । शिक्षा, आप्रवासन, मताधिकार, नागरिकता, भूमिमाथि स्वामित्व लगायतमा यूरोपियन अमेरिकनलाई अग्राधिकार थियो ।

आधा शताब्दी अगाडि सन् १९६० मा मानवअधिकारवादी अगूवा मार्टिन लुथर किङ जुनियरले रंगभेदविरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गरे । त्यही आन्दोलनले कानुनमा अश्वेतहरुलाई बराबरीमा ल्यायो । कागजमा कालाहरुमाथिको विभेद हट्यो । व्यवहारमा भने आजका मितिसम्म पनि रंगभेदका अवशेषहरु बाँकी छन् । आमरुपमा उनीहरुको सामाजिक तथा आर्थिक हैसियत गोराहरुको भन्दा तल छ । प्रहरीले अहिले पनि अश्वेत नागरिकहरुमाथि कडा रवैया देखाउने गरेको पाइन्छ । एउटै अपराधमा अदालतले तोक्ने सजाय काला र गोराहरुको लागि फरक हुने गरेको त्यहाँका मानवअधिकारवादी बताउँछन् ।

हुन त अश्वेत वर्णकै बाराक ओबामा अमेरिकाको राष्ट्रपति बने । त्यो पनि दुई कार्यकाल । त्यसका बाबजुद अश्वेतहरुको सामाजिक अवस्थामा ठोस परिवर्तन हुन सकेको छैन । बाराक ओबामाकै कार्यकालमा फर्गुसन राज्यको मिसौरीमा एक प्रहरीले १८ वर्षिय अश्वेत युवा मिचेल ब्राउनलाई आठ गोली हानेर मारेका थिए । त्यसबेला पनि देशव्यापी प्रदर्शनहरु भएका थिए । यति मात्रै होइन, ओबामाको कार्यकालमै न्यूयोर्कका अश्वेत अमेरिकन एरिक गार्नरलाई एक प्रहरीले नियन्त्रणमा लिने क्रममा घाँटी अँठ्याएर मारेका थिए । गार्नरले पनि मर्नुअघि ‘मैले सास फेर्न सकिन’ भन्दै छट्पटाएका थिए ।

अमेरिकामा कालाहरुमाथि विभेद कायम रहेको पुष्टि गर्ने केही तथ्य हेरौं (स्रोत :बीबीसी)

– सन् २०१९ को तथ्यांकअनुसार अमेरिकाको जनसंख्यामा अफ्रिकन नागरिकको हिस्सा १४ प्रतिशतभन्दा कम छ । तर, प्रहरी इन्काउन्टरमा मारिनेहरुको तथ्यांक हेर्दा २३ प्रतिशत अश्वेतहरु छन् ।

– सन् २०१८ मा प्रत्येक एक लाख अश्वेत नागरिकमा ७ सय ५० जना लागूऔषधको प्रयोगमा पक्राउ परेका थिए । गोराहरुमा यो संख्या प्रत्येक १ लाखमा ३ सय ५० मात्रै थियो । जबकि लागूऔषध दुव्र्यसन सम्वन्धमा गरिएका अध्ययनहरुले भने काला र गोरा मानिसहरु उत्तिकै अनुपातमा लागूऔषधको दुर्व्यसनमा रहेको पाइएको छ ।

– एउटै अपराधमा गोरा अमेरिकीभन्दा काला अमेरिकी जेल जाने सम्भावना पाँच गुण बढी हुन्छ । अमेरिकामा १३ प्रतिशत मात्रै कालाहरुको जनसंख्या छ तर जेलमा एक तिहाई कैदीहरु अश्वेत छन् । औसतमा काला अमेरिकीले गोरालेभन्दा १९.१ प्रतिशत लामो जेल सजाय पाउने गरेको अध्ययनले देखाएको छ ।

– अश्वेत महिलाहरुको गर्भवती अवस्थामा मृत्यु हुने दर गोरा महिलाहरुको भन्दा ३ देखि ४ गुणा बढी छ । शिक्षा र स्वास्थ्यमा पनि अश्वेत महिलाहरु धेरै पछाडि छन् ।

– सन् २०१५–१६ मा गरिएको एक अध्ययनले अमेरिकामा काला विद्यार्थीहरु १५ प्रतिशत रहेको तर शैक्षिक संस्थाबाट निलम्बित हुनेमा ३५ प्रतिशत अश्वेत विद्यार्थीहरु रहेको देखाएको छ ।

समाज बदलिँदै छ, तर…

अमेरिकामा विभेद छ, तर यसको अर्थ अमेरिकी समाज परापूर्व कालदेखि जहाँको त्यहीँ छ भन्ने पनि होइन । विगतको तुलनामा रंगभेद घट्दो क्रममा नै छ । अन्यथा अमेरिकाजस्तो देशमा बाराक ओबामा राष्ट्रपति बन्न सम्भव थिएन ।

अमेरिकाको पछिल्लो युवा पुस्ताले अश्वेतलाई हेयको दृष्टिकोणले हेर्दैन । अहिले जारी रहेको आन्दोलनमा गोरा युवाहरुको बलियो उपस्थितिको कारण पनि यही नै हो । उनीहरुको न्याय र समानता चाहन्छन् । आफ्नो वर्णको प्रभूत्व चाहँदैनन् । अमेरिकाको संविधानले पनि सबै नागरिकमा समानता र स्वतन्त्रताको प्रत्याभूति गरेको छ ।

अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने आलोचकहरुले रंगभेदी भन्ने गर्छन् । उनको व्यवहार पनि त्यस्तै देखिदै आएको छ ।

ट्रम्पले आफ्नो कार्यकालको सुरुदेखि नै निश्चित धर्म र सम्प्रदायका मानिसहरुप्रति तिरस्कारको नीति लिए । खासगरी मुस्लिमहरुप्रति उनी नकारात्मक छन् । अहिलेको आन्दोलनका क्रममा पनि अश्वेत नागरिकहरुप्रति उनको वितृष्णा खुलेर प्रकट भएको छ । उनी आन्दोलनलाई दबाएरै समाप्त पार्ने मनस्थितिमा छन् । (स्रोत : अनलाइनखबर)

बिहीबार, जेठ २२, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*