राष्ट्रकवि माधव घिमिरेप्रति श्रद्धाञ्जली !

‘ढुंगाको काप फोरेर उम्रिएको पीपल’ को अवसान

नेपाली साहित्यमा प्रकृति र स्वच्छन्दताको बयान गरेर नथाकेका कवि माधवप्रसाद घिमिरेको भौतिक शरीर अब हामीमाझ छैन । एक जुग कविता बाँचेका यी कवि १०१ वर्षको उमेरमा गत भदौ २ गते मंगलबार अपरान्ह यस लोकबाट बिदा भए ।

उनको देहान्तपश्चात मात्र बजाईयोस् भनेर उनैले ईच्छा गरेको बिसं २०१६ मा रचित तथा किन्नर किन्नरीमा संकलित गीत कर्णदासको स्वरमा सार्वजनिक गरिएको थियो । जीवनभर जनजनबाट तथा सरकारबाट मान सम्मान पाएका माधव घिमिरेलाई कोरोनाका कारणले जनजनले उनको अन्त्येष्टिमा भाग लिन पाएनन्, तर सरकारको तर्फबाट उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुकासाथै नेपाली सेना र शसस्त्र प्रहरीको टुकडीले सम्मान सलामी दिएको थियो । यसअघि उनको अन्तिम यात्रामा सेनाले शोकधून बजाउँदै आर्यघाट पुरयाएको थियो ।

उनले नेपाली चलचित्र “मनको बाँध” का लागि लेखेको तथा तारादेवीको स्वर तथा नातीकाजी शिवशंकरको संयुक्त संगीतमा सजिएको गीत “फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा, कहिले भेट होला है राजै यो जिन्दगानीमा ” कालजयी रचना हुन पुग्यो । त्यस्तै उनको “गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली”, ” आज र राती के देखें सपना मै मरी गएको….”,”लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो…”, “नेपाली हामी रहऔंला कहाँ नेपालै नरहे…” यस्ता तीतहरु हुन् जसले कैयन् युगहरु मजाले छिचोल्छन्।

नेपाली साहित्य क्षेत्रमा यिनी लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटापछिका एक युगीन स्रष्टाका रूपमा चिनिन्छन् । शताब्दी नाघिसक्दा पनि साहित्य साधनामै क्रियाशील रहेका घिमिरेको निधनले समग्र नेपाली वाङ्मयमा अपूरणीय क्षति भएको छ । लमजुङको पुस्तुनमा जन्मे–हुर्केका घिमिरे साँच्ची नै ‘ढुंगाको काप फोरेर उम्रिएको पीपल’ को प्रतीकका रूपमा चिनिएका थिए । संस्कृत पृष्ठभूमिमा गाउँमै पढाइ आरम्भ गरी काठमाडौं छिरेर शैक्षिक र प्राज्ञिक संघर्ष गर्दै उनले दिएको काव्यिक योगदान स्तुत्य छ, स्मरणीय छ ।

त्यसो त, कवि घिमिरेको जीवनमा ‘राजनीतिक बात’ पनि छ । तत्कालीन शाही सरकारले २०६० सालमा उनलाई प्रदान गरेको ‘राष्ट्रकवि’ को उपाधि आलोचकहरूलाई मन्जुर छैन । उनले राजा ज्ञानेन्द्र शासनकालको समर्थनमा दिएको वक्तव्य त उनकै शुभेच्छुक र समर्थकलाई पनि चित्त बुझेको थिएन ।

आलोचकहरूका नजरमा उनी सधैं संस्थापन र सत्ताशक्तिको पुजारी ठहरिए । तर, घिमिरेको प्रशंसा गर्दा उनीतर्फ औंल्याइएका औंलाहरू नदेख्नु र आलोचना गर्दा उनका काव्यिक योगदानको कुनै कदर नगर्नु एकाकी हुन्छ । उनको व्यक्तित्व र कृतित्वको मूल्यांकन उनले बाँचेको समग्र जीवन र साहित्यका आधारमा हुनुपर्छ ।

निश्चय पनि, कवि घिमिरेले क्षणिक स्वार्थपूर्तिका लागि या व्यक्तिगत विवेक वा छनोटका आधारमा राज्यसत्ताका पक्षमा केही रचना बाहिर ल्याए होलान्, तर त्यो उनको सर्वांगीण चित्र–चरित्र होइन । उनले जनमनमा भिज्ने गरी हिमाल, फूल, नदीनाला, प्रकृति, जीवन र प्रेम–जगत्का कुरा सधैंसधैं गरेका छन्, त्यो शिल्प र गुणवत्ता सदैव अतुलनीय छ । ‘मालती मंगले’ मा मानव दासताको दारुण कथा कहेका उनले राष्ट्र–राष्ट्रियताका धारमा ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भनेका छन् । जनमनमा बस्न सफल छन् उनका यी सिर्जना ।

जीवनभर सतत क्रियाशील हुनुपर्छ भनेर सकारात्मक चेतना बाँडेका घिमिरेले नेपाली भाषामा लेखे । यसको अर्थ उनी ‘खस–नेपाली भाषाका कवि’ मात्र होइनन् । आज हामी फ्रान्सका राष्ट्रिय कवि भिक्टर ह्युगो वा रुसी कवि अलेक्ज्यान्डर पुस्किनका अनेक कविता, रचनाहरू स्थानीय भाषाबाट अंग्रेजी हुँदै नेपालीमा पढिरहेका हुन्छौं । त्यस्तै, सेक्सपियर, दोस्तोभोस्की, टोल्सटोय, चेखव होऊन् या कालिदास, भर्जिनिया वुल्फ, जर्ज अर्वेल, भ्लादिमिर नाबोकोभ, हेमिङ्वे, यी लेखकहरूले कुन भाषामा लेखेका थिए भन्ने कुरा गौण हो । बरु, तिनका सिर्जना के–कसरी र किन सार्वकालिक बने भन्ने पक्ष महत्त्वपूर्ण हो । त्यसैले, कवि घिमिरेले खस भाषामा लेखे वा शास्त्रीय काव्य चेतना प्रयोग गरे भन्ने पक्ष गौण हो । उनका सन्देश र काव्यिक चेतना बढी महत्त्वपूर्ण छन् ।

अक्सर साहित्यकारहरूमा जस्तो विद्रोही चेत नबोकेका भए पनि कवि घिमिरे यो युगकै नेपाली भाषा–साहित्यका सर्वाधिक रुचाइएका स्रष्टा हुन् । क्षणिक वाहवाही र प्रशंसाभन्दा सर्वथा अग्लो छ उनको कद । ‘भँगेरा र भँगेरी कुरा गर्छन् कसरी’ जस्ता कवितामा घिमिरेको प्रकृति, समय, चेतना र सृजनाको सार्वकालिक उदाहरण भेटिन्छ । लेखनमा सधैं ‘ध्वनि र दृश्यको अपरिहार्यता’ देख्ने कवि घिमिरेका कविता पढिन्नन् मात्रै, मस्तिष्कमा बस्छन् । त्यही भएरै, कतिपयले उनको लेखनशैली र भावलाई अघिल्लो पुस्ताका कवि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाकै स्तरमा मूल्यांकन गर्छन्, जुन अस्वाभाविक लाग्दैन ।

उनका फूटकर कविता लेखन र तिनको सङ्ग्रह प्रकाशन भएता पनि विसं २०१५ मा “गौरी” शोक काव्य प्रकाशन भएपछि उनको लेखनको शक्तिले उच्चता प्राप्त गर्यो, गौरी उनकी प्रथम विवाहिता पत्नी थिइन् । उनको विसं २००४ सालमा देहान्त भएपछिको स्थितिमा पति हृदयको त्यो वेदना थियो “गौरी” शोक काव्य । “गौरी” को प्रकाशनपूर्व उनका मौलिक दुई कृति “नव मञ्जरी” कविता सङ्ग्रह (विसं १९९४) तथा “नयाँ नेपाल ” काव्य (विसं २०१३) र एक अनुवाद नाटक ” नागानन्द” (विसं २००२) प्रकाशित भएका थिए ।

“गौरी” पछि उनले अरु पनि कीर्तिमानी काव्यहरुको रचना गरे । ती थिए: राजेश्वरी (विसं २०१७), राजेश्वरी र पापिनी आमा (विसं २०२७), राष्ट्र निर्माता (विसं २०३०) विषकन्या (विसं २०५०) तथा ईन्द्रकुमारी(विसं २०५७) । उनलाई अर्को शिखरमा पुर्याउने कृति थियो- गीति नाटक “मालती मङ्गले” (विसं २०४२) । यो गीतिनाटक नेपालमा सर्वाधिक प्रदर्शन र मञ्चन भएको गीति नाटकको कीर्तिमान राख्न सफल भयो ।

उनको गीति नाटक लेखनको आरम्भ विसं २०३७ सालमा भएको थियो “शकुन्तला” बाट । यो नाटक त्यसै साल प्रदर्शन भएको थियो र त्यसै साल प्रकाशनमा आएको थियो । त्यसपछि पनि उनले अश्वत्थामा ( विसं २०५३), हिमालवारि-हिमालपारि(विसं २०५४) लगायतका गीति नाटकहरुको रचना गरे ।

उनले प्रज्ञा प्रतिष्ठानमा रहँदा प्रकाशन विभाग सम्हाल्दा तथा कविता पत्रिका सम्पादन गर्दा लेखेका कविताका विषयका सम्पादकीय टिप्पणीहरु तथा प्रकाशकीयहरुलाई पनि पुस्तकको रुपमा प्रकाशित गरेका थिए । उनको “आफ्नो वाँसुरी:आफ्नै गीत” तथा “चारु चर्चा” यस्तै कृतिहरु हुन् । विसं २०५८ सालमा प्रकाशित चारु चर्चाले त्यसै सालको साझा पुरस्कार समेत प्राप्त गरेको थियो । त्यसो त विसं २०५४ सालमा उनले “हिमालवारि हिमालपारि” कृतिका लागि पनि उनले साझा पुरस्कार प्राप्त गरेका थिए । उनी दुईपल्ट साझा पुरस्कार प्राप्त गर्ने थोरै साहित्यकारमध्ये एक थिए ।

नेपाली भाषा–साहित्यको एउटा दुःख के हो भने, बितेपछि मात्रै लेखक–साधकहरूको मूल्यांकन हुन्छ । तर कवि घिमिरे एक यस्ता उदाहरण हुन् जो जीवनकालमै राज्य तथा सरकारबाट सम्मानित तथा प्रशंसित मात्र भएनन्, जनमनमा पनि स्तुत्य बन्न सके । अग्ला साहित्यकारमध्ये यो सुखद संयोग भेट्ने उनी सम्भवतः एक्ला व्यक्तित्व हुन् । उनको ओज सरकारले दिएको ‘राष्ट्रकवि’ वा सेनाले दिएको मानार्थ जर्नेलको उपाधिले होइन, जनमनमा भिजेका उनका सिर्जनाले बढाएका हुन् ।

दुःखका कुरा, यिनै साधकका कृतिहरू पनि कुनै सरकारी संस्था वा निकायले संग्रह वा संकलनका रूपमा राख्न सकेका छैनन्, न अनूदित रूपमै अन्य भाषामा आएका छन् । उल्टो, यिनका सृजनालाई धेरैले आफ्नै स्वार्थसिद्धिमा उपयोग गरिरहेका छन् । कम्तीमा, कविवर घिमिरे र यस्ता साधकको सृजनालाई यसरी दुरुपयोग नगरियोस् । आफ्नो जीवनकालमै राज्य र निजी तहको मान–सम्मान पाउने सन्दर्भमा स्रष्टा घिमिरे साँच्चिकै उदाहरण बनेका छन्, मृत्युपर्यन्त पनि घिमिरेको साधना र सृजनाको सम्मान हुन सकोस् । हार्दिक श्रद्धाञ्जली !

त्यसरी होओस् मरण …
विक्रम सवंत् २०१६ आश्विन २१ गते उनले लेखेको र ‘किन्नर-किन्नरी’ गीति-सङ्ग्रहमा २०३३ सालमा प्रकाशित यो गीत जस्तै भयो उनको मृत्यु-इच्छाको रचना :

त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा
गीतका चारू चरण ।

हिमालचुली देशमा
दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम
सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।

सुन्दर सृष्टि निहारी
सुखैले चिम्लूँ नयन
बिहानीपख रातको
कुसुम पारिजातको
जसरी जान्छ झरेर
भुइँमा बिनापवन
त्यसरी होओस् मरण ।

मुटुमा चोट नपरी
टुटेर जाओस् बन्धन
बादलको सेता रासमा
दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई
आफैँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण
अमरापुरी सभामा
आफैँलाई गरूँ वरण ।

………………….

बिहीबार, भदौ ११, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*