राष्ट्र निर्माणमा युवाको भूमिका

आलेख/रिया भट्टराई

विश्वमा आफ्नो अस्तित्वको पुरानो र लामो इतिहास बोक्ने राष्ट्रहरूमध्येको एक हो नेपाल । लगभग ५००० वर्ष पुरानो सामरिक इतिहास बोकेको र विश्वलाई नै कुनै समय कला र सभ्यताको पाठ सिकाएको राष्ट्रल नेपाल आज पनि विकासका सपनाहरू बुनेर समृद्धिको बाटो कुरेर बस्ना बाध्य छ । अथाह स्रोतसाधन हुँदाहुँदै पनि हाम्रो समृद्धिको सपना पूरा हुन सकेन जबकि विश्व समुदायमा हामीसँगै आधुनिक इतिहासमा प्रवेश गरेका कोरिया, सिंगापुर, मलेसिया, भारत जस्ता राष्ट्र समृद्धिका मामिलामा निकै अगाडि बढिसक्दा हामी समृद्ध राष्ट्र त परै जावस्, समाजका हरेक पक्षमा समस्याग्रस्त राष्ट्रका रूपमा खडा भएका छौं ।

सर्वमान्य राजनीतिक पद्दति र स्थिरता हामी नेपाली जनताले देखेकै छैनौ । दूरदर्शी र क्षमतावान नेतृत्व हामी नेपाली जनताको तिर्सनामा नै सीमित भएको छ । हाम्रो विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा सहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना त सपना मै सीमित भएका छन् । हाम्रा अनगिन्ती सम्भावनाहरू उपयोग हुन नसकेर थन्किएका छन् । संसारका अन्य देशको तुलनामा सभ्यताको यति लामो इतिहास बोक्दा बोक्दै पनि समाज विकासको दृष्टिकोणबाट किन नकारात्मक छ नेपाल ? आखिर के कारणले सम्भव हुन सकेन त वर्षौंदेखि समृद्ध नेपालको परिकल्पना ? यो प्रश्नको बारेमा बहस हुन अझै बाँकी छ ।

स्वामी विवेकानन्दले भनेका थिए– कुनै पनि देशको समृद्धि त्यो देशको युवा शक्तिले निर्धारण गर्दछ । युवा नै देशको शक्ति हो भने कतै नेपालले वर्षौंदेखि युवा शक्तिलाई आजसम्म मुलुकको समृद्धिमा लगाउन नसक्नु नै त कारण होइन ? विश्व इतिहासका पाटा केलाउँदा सन् १९५० अर्थात् दोस्रो विश्व युद्ध पछाडि मात्र देशहरू विकास हुँदै समृद्ध राष्ट्रका रूपमा स्थापित भएका छन् ।

जनसंख्या थोरै भएको राष्ट्र, पहिलो विश्व युद्धमा करिब साढे दुई लाख र दोस्रो विश्व युद्धमा करिब ४ लाख नेपाली युवा अरूकै झन्डामुनि गोर्खा सैनिकका रूपमा पठायौं, मलायाको जंगलमा १८,००० सैनिकलाई लड्न भनेर यसै छाडियो । मलेसिया सरकारले दिएको ४५० मलेसियन डलरमा ४२ मलेसियन डलर लिएर ४०८ बेलायतीलाई दिँदै हामीमार्फत उसलाई पैसा कमाउने जरिया बनायौं । तथ्याड्कलाई हेर्दा विश्व युद्धमा ३५५ हताहतीमा परे, बचेका ६५५ मध्ये अधिकांश विदेशमै हराए ।

riya bhattarai

      – रिया भट्टराई

यसरी संसारका हरेक देश युवा शक्तिलाई परिचालन गरी देश विकासमा लाग्दा नेपालमा त राजनीति र विकासमा लाग्ने युवा शक्ति नै थिएनन् । हामी युवालाई नै परिवर्तनका संवाहक मान्छौं, युवालाई नै समृद्धिको मेरुदण्ड मान्छौं, अनि फेरि तिनै युवाको पसिना बाहिर बेचेपछि कसरी सम्भव हुन्थ्यो त समृद्ध देशको परिकल्पना ? युवा आफ्नै देशमा जागरुक र क्रियाशील भएमा त्यो राष्ट्र विकास नभएको कुनै अपवाद छैन । आज पनि दैनिक हाम्रा १५०० युवा बिदेसिन बाध्य छन, ४५ लाख युवा विदेशी सकेका छन् । देशमा भएका अधिकांश युवा सजिलै देश छोडेर जान तयार हुन्छन् । विदेश बस्न पाउनुलाई सबैभन्दा ठुलो सफलता मान्छन् ।

देशलाई आज विदेशीका लागि जनशक्ति उत्पादन गर्ने थलो बनाइँदै छ । आज सानो उमेरदेखि नै एउटा बालकलाई उसको अस्तित्व यो देशमा नभई बाहिर देखाइन्छ, विद्यालय जाँदा उसको कार्यस्थल यहाँ नभई विदेशमा खोज्न सिकाइन्छ । हामी श्रमको सम्मान गर्न हिच्किचाउँछौ, एउटा श्रमिकलाई सम्मानित नजरले हेर्दैनौं । त्यसैले यहाँ काम गर्नुको सट्टा ऊ विदेशलाई नै आफ्नो कर्मथलो ठान्छ । यस्तो अवस्थामा देशले समृद्धितर्फ कोल्टो फेर्ने अवस्था आउन अझै केही समय पर्खिनुपर्ने देखिन्छ । यद्यपि, युवाको सक्रियतामा यस्तो मानसिकता चिर्न सकेमा समृद्ध नेपाल निर्माण गर्न असम्भव भने होइन ।

परिवर्तनका सम्वाहक, समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजको युवा शक्ति नै हो । युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिेकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ । चाहे त्यो विश्वम युद्धताका हिटलरको पालामा होस् वा प्रविधिको युगमा होस्, युवा वर्ग नै हो युद्धमा होमिएर आफ्नो देशको अस्तित्व बचाउने, युवा वर्ग नै हो नयाँ प्रविधिको खोज अनुसन्धान गरेर विश्वमाझ आफू र आफ्नो राष्ट्रलाई चिनाउने । समृद्ध नेपालको सपना असम्भव होइन, युवाले चाहेमा समृद्ध नेपाल सम्भव बन्नेछ । रसियाका महान मानवतावादी साहित्यकार लियो टोलस्टोयले ‘युद्ध र शान्ति’ नामक पुस्तकको अन्तिम विवरणमा ’क्रान्ति विचारको उपज होइन, यो त युवाको परिवर्तनको चाहना हो’ भनेर लेखेको भनाइले पनि युवा वर्गको समाज रूपान्तरण गर्ने कतिसम्म सामथ्र्य हुन्छ भन्ने कुराको पुस्ट्याइँ गरेको छ ।

संसार परिवर्तन गर्न चाहनेले सुरुआत पहिले आफैँबाट गर्नुपर्छ । तसर्थ, अब हरेक युवाले यो राष्ट्रप्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्छ । हरेक युवाले बिदेसिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै, सबैजनालाई नेपालको समृद्धिको आभाष गराउँदै राष्ट्रिय मनोविज्ञानमा रहेको हीनताबोधको रोगलाई हटाएर समृद्ध नेपाल निर्माणमा लाग्नुपपर्छ । त्यसकारण युवा वर्गले अब निराशामा होइन, आशामा बाँच्नुपर्छ । विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्न थाल्नुपर्छ अनि मात्र सम्भव हुन्छ समृद्ध राष्ट्रको सपना । समृद्ध नेपालको पूर्वसर्त भनेकै नयाँ सोच र ऊर्जाशील नेतृत्व हो ।

राजनीतिलाई एउटा फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई तोडेर अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ र मुलुकको नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर लाग्नुपर्छ । राष्ट्र निर्माणमा मात्र आवश्यकता छ त युवाको अनुसन्धानको, युवाको सिर्जनाशीलताको, नवीनताको, उद्यमशीलताको र युवाकै नैतिक नेतृत्वको ।

देशमा विद्यमान समस्याको पहिले पहिचान गरेर त्यसको समाधानको बहस अब युवा वर्गले चलाउनु पर्छ । देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुराको बहसमा युवा स्वयं संलग्न र क्रियाशील भई विकास र समृद्धिको नयाँ दृष्टिकोण एवं योजना निर्माण गर्नुपर्छ । देशको ऊर्जा, सडक सञ्जाल, सिँचाई, सहरी विकास र आधुनिकीकरण, वन संरक्षण, कृषि जस्ता दीर्घकालीन योजनाको मार्गचित्र तयार गर्न अहिलेबाट सुरु गर्नुपर्छ । चेतनामा आधारित विकासको परिकल्पना युवा वर्ग आफैँले गर्नुपर्छ । बहु–विदेशी निगमको कब्जाबाट देशलाई जोगाउनुपर्छ । हरेक श्रमलाई सम्मान गर्दै श्रम गर्ने बानी बसाल्दै विज्ञानको सदुपयोग गर्दै, यही देशमा बसेर भएको अवसरको प्रयोग गर्दै उद्यमशीलता विकास गर्दै गए समृद्ध नेपालको सपना साकार हुनसक्छ ।

समृद्ध राष्ट्र निर्माणको लागि आधुनिक समयको मागअनुसारको दक्ष र प्रविधियुक्त जनशक्ति पहिलो सर्त हो । अनुशासित, स्वावलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति अर्को महत्वपूर्ण आधार हो । राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव एवं स्वाभिमानयुक्त नीति र नेतृत्वबाट मात्र युवा वर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । यसका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्दछ । तसर्थ, राष्ट्र निर्माणका लागि अब युवा नै अगि सर्नुपर्छ, युवाले नै यसको नेतृत्व लिनुपर्छ ।

(लेखक रिया भट्टराई ‘काठमाडौं स्कुल अफ ल’ मा अध्धयनरत कानुन विषयको विद्यार्थी हुन् ।)

बिहीबार, पुस १३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*