स्वस्थानी अनुभूति : आमाको त्यो सुकसुकाहट

विचार/बबिता बस्नेत

कति वर्षको थिएँ यसै भन्न सक्दिनँ, तर मैले थाहा पाउँदादेखि नै हाम्रो घरमा स्वस्थानी कथा पढिन्थ्यो। हामी सानो हुँदा कान्छा काकाले कथा भन्नुहुन्थ्यो र हामी वरिपरि बसेर सुन्थ्यौँ। पछि दिदीले र मैले पालैपालो भन्न थाल्यौँ। स्वस्थानी सुरु भएपछि एउटा गजबको माहोल बन्थ्यो घरमा। आमा राधादेवी बस्नेत प्रायः वर्ष बिराएर स्वस्थानीको व्रत बस्नुहुन्थ्यो। व्रत बसे पनि नबसे पनि प्रत्येक वर्ष अनिवार्य रूपमा स्वस्थानी पढिन्थ्यो। स्वस्थानी पढ्न र कथा सुन्नका लागि हामी होमवर्क सकेर चाँडै खाना खान्थ्यौँ। रातो कपडाले बेरेको स्वस्थानीको पुस्तक खोलेर फूल चढाएपछि म गुन्द्रीमाथि ओछ्याएको राडीमा पलेटी कसेर स्वस्थानी पाठ गर्थें। कुपीको मधुरो उज्यालोमा घोप्टिएर पढ्दै गर्दा कतिपल्ट मैले मेरी आमाको सुकसुकाहट सुनेकी छु। ठाउँठाउँमा आमा रुनुहुन्थ्यो र वरिपरि बसेर सुन्नेहरूका पनि आँखा भरिन्थे। गोमा ब्राह्मणीको कथाले भक्कानो छुटाउँथ्यो। छोरा नवराजको भविष्यका लागि सारा दुःख बिर्सिएर तनमनले प्रार्थना गरेको कुराले अहिले पनि आँखा भरिन्छन्।

त्यतिबेला आमाका छोरा अर्थात् मेरा भाइहरू जन्मिएका थिएनन्। सायद आमालाई मेरा छोरा भएका भए आठ रोटी खानका लागि पिठो सुकाएर राख्नुपर्दैनथ्यो भन्ने पनि लागेको हुँदो हो। राजनीतिको सिलसिलामा बुवा प्रायः घरबाहिर हुने र स्वस्थानीको व्रतमा उल्लेख गरिए बमोजिम सांगेको दिन बनाउनुपर्ने एक सय आठ रोटीमध्ये आठ वटा रोटी पतिलाई, पति नभए छोरालाई, छोरा नभए मीत छोरालाई दिनू र मीत छोरा पनि नभए नदीमा बगाइदिनुपथ्र्यो। त्यसैले बुवा बाहिर हुँदा त्यस दिन रोटी बनाउन कुटेको चामलको पिठो आमाले सुकाएर राख्नुहुन्थ्यो र बुवा घर आएपछि आठवटा रोटी पकाई फूलप्रसादसहित दिनुहुन्थ्यो।

Babita Basnet

                —  बबिता बस्नेत

राजनीतिको सिलसिलामा बुवा प्रायः घरबाहिर हुने र स्वस्थानीको व्रतमा उल्लेख गरिए बमोजिम सांगेको दिन बनाउनुपर्ने एक सय आठ रोटीमध्ये आठ वटा रोटी पतिलाई, पति नभए छोरालाई, छोरा नभए मीत छोरालाई दिनू र मीत छोरा पनि नभए नदीमा बगाइदिनुपथ्र्यो । त्यसैले बुवा बाहिर हुँदा त्यस दिन रोटी बनाउन कुटेको चामलको पिठो आमाले सुकाएर राख्नुहुन्थ्यो र बुवा घर आएपछि आठवटा रोटी पकाई फूलप्रसादसहित दिनुहुन्थ्यो ।

सानो छँदा थाहै नपाई अरूलाई सुनाउनका लागि स्वस्थानी पढेँ। अहिले बुझ्ने भएपछि तत्कालीन समाजको परिस्थिति त समेटिएको पाउँछु नै, कसैको कल्पना शक्ति कतिसम्म हुन सक्छ भन्ने कुराले आश्चार्यचकित पनि बनाउँछ। हिजोआज कतिपयले स्वस्थानीको विरोध गरेको सुनिन्छ, पढिन्छ। यसको विरोध गर्नेहरूले स्वस्थानी कथालाई पितृसत्ताको जग मान्ने, ठान्ने गरेका छन्। यसो भन्नेहरूको तर्क छ, सात वर्षकी बालिकालाई ७० वर्षको वृद्धसँग विवाह गराएर पितृसत्ताको बखान गर्ने ? यसो भन्नेहरूले स्वस्थानीमा राम्रा कुरा के के छन् भनेर विश्लेषण गरेको भने पाइँदैन। सतीदेवीलाई महादेवले जुन हदसम्मको माया गरेका थिए, के हिजोआजका पतिबाट पत्नीले त्यस प्रकारको प्रेम पाउलान् ? या पाएका छन् ? शिवजीमा पार्वतीको आत्मीय शासन कति धेरै हो ? या मृत्युपश्चात् पनि प्रेमालाप गर्दै लास बोकेर हिँड्ने पतिको परिकल्पना पनि स्वस्थानीभित्रै छ भन्ने चर्चा खासै सुनिँदैन। स्वस्थानीको विरोध गर्नेहरूको निष्कर्ष प्रायः हिन्दु धर्मले महिलाको सम्मान गरेन भन्नेमा टुंगिने गरेको छ।

कुनै पनि धर्म मानिसको आस्था हो। धर्मग्रन्थ तत्कालीन समाजका ऐना हुन्। रामायणकालीन समाज कस्तो थियो भनेर बुझ्नका लागि रामायणले मद्दत गर्छ। महाभारतकालीन समाज बुझ्न महाभारतले मद्दत गर्छ। त्यहाँ उल्लेख सबै कुरा हामीले ग्रहण गर्नुपर्छ भन्ने छैन। चाहिने राम्रा कुरा लिएर नराम्रा कुरालाई त्यतिबेला यस्तो पनि रहेछ भनेर छाडिदिए हुन्छ। स्वस्थानी त्यस्तै एउटा ग्रन्थ हो, जसले तत्कालीन समाजका मानिसको सोच र त्यतिबेला भइरहेका क्रियाकलापको प्रतिनिधित्व गर्छ। स्वस्थानीले बालविवाहलाई प्रवद्र्धन गरेको होइन, त्यतिबेला कसरी बाल र अनमेल विवाह हुन्थ्यो भन्ने कुराको जानकारी मात्र दिएको हो। धेरै पछिसम्म अनमेल विवाह कायम थियो।

यो पंक्तिकारकै एक हजुरबुवाले आफूभन्दा ४६ वर्ष कान्छी बालिकालाई (६० वर्षको उमेरमा १४ वर्षकी) काठमाडौंबाट बिवाह गरेर खोटाङको छेतुवा लैजानुभएको थियो। काठमाडौंलाई त्यतिबेला नेपाल भन्ने चलन थियो। राजदरबारका कर्मचारी हजुरबुवाले काठमाडौंबाट विवाह गरेर लैजानुभएकाले उहाँलाई ‘नेपालनी’ भनिन्थ्यो। हामी नेपालनी हजुरमुमा भन्थ्यौँ। हजुरबुवाको निधनको वर्षौंपछि पाँच वर्षअघि उहाँको देहवसान भयो। नेपालनी हजुरमुमालाई भेट्दा यो पंक्तिकारलाई स्वस्थानीकी गोमा ब्राह्मणीको छवि आउँथ्यो, जसले ७० वर्षका ब्राह्मणसँग विवाह गर्नुप¥यो। तत्कालीन समाजमा यस्ता घटना हुने गर्थे। अहिले बालिकाहरू बलात्कृत भइरहेका छन्, तीन वर्ष, पाँच वर्षका बालिका बलात्कार भएका घटना हामी लेखिरहेका छौँ। सयौँ वर्षपछि यस्तो अवस्था नहुन सक्छ। त्यतिबेला अहिलेका कुरा अध्ययन गर्नेहरूले बालिका बलात्कार गर्ने यस्ता विभेदकारी आपराधिक सामग्री हामीलाई पढाउने ? भनेर ती सामग्रीमाथि टिप्पणी गरे भने त्यो गलत हुन्छ कि सही ? अहिलेको समाजको ‘रिफ्लेक्सन’ दिने घटना सयौँ वर्षपछिको पुस्तालाई ‘बाहियात’ लाग्न सक्छ।

स्वस्थानी घरघरमा सबैभन्दा बढी पढिने ग्रन्थ हो। व्रत बस्ने महिला–पुरुष (कतिपय पुरुषले पनि यो व्रत लिन्छन्) ले मात्र होइन, व्रत नबस्ने, व्रतको बारेमा वास्तै नगर्नेहरूले पनि घरमा स्वस्थानी सुन्ने गरेका छन्। स्वस्थानीमा राम्रा कुरा के छन्, नराम्रा के छन् भनेर मनन गरेर पढ्ने, सुन्नेहरूको संख्या त्यति ठूलो होला जस्तो लाग्दैन। ‘स्वस्थानी व्रत कथा सुरु’ भनेर लेखिएको पात्रो अनुसार साँझ स्वस्थानी पढ्ने कुरा धेरैको घरमा ‘अनिवार्य गर्नुपर्ने काम’ जस्तो हुने गरेको छ। कसैले अविभावकको खुसीका लागि, कसैले वर्षौंदेखिको निरन्तरताका लागि, स्वस्थानी एउटा परम्पराजस्तो भइसक्यो। स्वस्थानीको अर्थ स्व–स्थानी अर्थात् आफू बसेकी ठाउँकी देवी भन्ने हुन्छ। गजबको कुरा के छ भने, अरू धर्मशास्त्रमा जस्तो पूरै भारत वर्षको चर्चा छैन। कैलाशलाई छाडेर हेर्ने हो भने नेपालका त्यसमा पनि काठमाडौं वरिपरिका ठाउँको मात्र चर्चा छ। शालीनदी, श्लेश्मान्तक वन, बागमती, गौरीघाट, किरातेश्वर सबै नेपालका भूमि हुन्। आफ्नै गाउँठाउँका कुरा भएकाले पनि स्वस्थानी यति धेरै लोकप्रिय भएको अनुमान गर्न सकिन्छ।

स्वस्थानी महादेव—पार्वती पुत्र कुमार र ऋषि अगत्स्यमुनि बीचको संवाद हो। कुमारजीले अगत्स्यमुनिलाई नै किन यी सब कुरा बताए ? हिजोआज मेरो मनमा आउने प्रश्न हो यो। स्वस्थानीको आलोचना गर्नेहरूले अगत्स्यमुनिसम्म पुग्ने कुरै आएन। तटस्थ व्याख्या गर्नेहरूको ध्यान पनि यतातिर गएजस्तो लाग्दैन। महाऋषि अगत्स्यमुनि यस्ता यात्री थिए, जसले हिन्दु सनातन धर्मको प्रचार गर्न विश्वका विभिन्न मुलुकको भ्रमण गरे। दक्षिण भारतमा उनले ध्यान गरेका आश्रमहरू छन्। उत्तराखण्डमा अगत्स्यमुनि मन्दिर छ। कम्बोडियामा अगत्स्यमुनिको शालिक पर्यटकको आकर्षणको रूपमा रहेको छ। इन्डानेसियामा महाऋषि अगत्स्यले हाम्रो देशको भ्रमण गरेका थिए भनेर ठूलो सम्मानका साथ नाम लिइन्छ। रामायण, महाभारत दुवैमा महाऋषि अगत्स्यको चर्चा छ।

स्वस्थानी कथामा अगत्स्यमुनिलाई कुमारले कथा वर्णन गर्नुको उद्देश्य उनले सनातनी हिन्दु धर्म संस्कृतिलाई विश्वव्यापी बनाउन सक्छन् भनेर हुन सक्छ भन्ने मेरो अनुमान हो। त्यतिबेला अहिलेजस्तो सञ्चारका साधन थिएनन्। जे कुराको प्रचार गरे पनि हिँडेरै जाने हो। यति गज्जबका विश्वका विभिन्न मुलुकको यात्रा गर्ने यात्रीलाई भन्यो भने हिन्दु धर्मको प्रचार हुन्छ भनेर यो वर्णन गरिएको हुनुपर्छ। तर जसको मस्तिष्कमा यो कुरा आयो ती आफैँमा महान् थिए भन्न सक्ने र मिल्ने आधार छन्। स्वस्थानी सन् १५७३ मा संस्कृतमा लेखिएको थियो भन्नेछ। सन् १६०१ देखि नेपालीमा आएको तर त्यसको प्रतिलिपि नभेटिएको, सन् १८१० को स्वस्थानी नै अहिलेसम्म प्राप्त पुरानो प्रतिलिपि हो भनी विभिन्न दस्तावेजमा उल्लेख छ। सन् १५७३ लाई आधार मान्दा तत्कालीन समाजमा कसैले ब्रह्माण्डको उत्पत्ति कसरी भयो होला ? भनेर कल्पना गरेको छ, जुन आफैँमा रोचक कुरा हो। स्वस्थानीको सुरुवात अगत्स्यमुनिले कुमारजीसँग सृष्टिका बारेमा प्रश्न गरेपछि हुन्छ। प्रथम अध्यायमा प्रकृति र पुरुषको कुरा छ। ब्रह्माण्ड, पृथ्वी, मोक्ष, प्रलय लगायत कुरा छन्। पञ्चभूतको व्याख्या छ। मनलाई अधीनमा राख्नुपर्छ, एकाग्र भएर तपस्या गर्नुपर्छ भनिएको छ। मनलाई बाँध्नका लागि अहिले विभिन्न ध्यान पद्धति विश्वव्यापी बनिरहेका छन्।

लैंगिकताको दृष्टिकोणले हेर्दा जति प्रचार गरिएको छ, त्यति विभेद स्वस्थानीमा छैन। केही शब्दहरू प्रयोग नगरिएको भए हुन्थ्यो भन्ने लाग्छ। तर तत्कालीन समाजमा ती शब्द प्रचलित थिए र महिलालाई हेर्ने दृष्टिकोण पनि त्यस्तै नै थियो। नराम्रा कुरालाई बेवास्ता गरेर हामी राम्रा कुरा फैलाउन सक्छौँ। त्यसो गर्नबाट हामीलाई कसैले रोक्न सक्दैन। स्वस्थानीमा मूलतः चार महिला पात्र छन्—सतीदेवी, पार्वती, गोमा र चन्द्रावती। यी सबै गुणका पात्र अहिले पनि हाम्रो समाजमा छन्। पार्वतीले शिवलाई पतिको रूपमा पाउन ध्यान तपस्या गरिन्। अहिले जस्तो फोन एसएमएस, म्यासेन्जरको जमाना थिएन। आफ्ना भावना व्यक्त गर्न वा आफूले मन पराएको कुरा भन्नका लागि उनले आराधनाको बाटो रोजिन्। जुन माध्यम र भाषा प्रयोग गरेकी थिइन्, त्यो उनले प्रेम गरेका महादेवले सजिलै बुझ्थे। सतीदेवीका बाबु उनलाई आफ्नो पैतृक सम्पत्तिका हकदार सहितको उत्तराधिकारी बनाउन चाहन्थे।

त्यतिबेलाको जमानामा छोरीलाई उत्तराधिकारी बनाउने चाहना गर्ने बाबुको परिकल्पना स्वस्थानीमा गरिएको छ। महादेवका लागि विष्णुले सतीदेवी माग्न जाँदा आफ्नै लागि हो भनेका हुन्छन्, जवाफमा सतीदेवीका बाबु दक्षप्रजापतिले म मेरी छोरीलाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छु भनेको प्रसंग उल्लेखनीय छ। पार्वतीलाई एक्लै भएका बेला दैत्यहरूले नराम्रो नजरले हेर्छन्, अहिलेको परिस्थतिसँग तुलना गर्दा एक्ली महिलालाई राम्रो नजरले हेर्ने पुरुष कति होलान् ? पार्वतीले एउटा प्रसंगमा महादेवलाई ‘हे ईश्वर लोग्नेमान्छेहरू पापी हुने रहेछन्, राम्री स्त्री देखेपछि श्रीमती बिर्संदा रहेछन्’ भनेकी छन्। आफ्ना पतिलाई लिएर भगवान्सँग यस्तो गुनासो गर्दै बस्ने वा बस्नुपर्ने बाध्यतामा रहेका महिलाहरू अहिले पनि हाम्रो समाजमा प्रशस्त छन्। जालान्धरले पार्वतीलाई छल गरेर शारीरिक सम्बन्ध राख्न खोजेको थाहा पाएपछिको प्रसंगमा जालान्धरकी पत्नी वृन्दासँग विष्णुले छल गरेर सम्बन्ध राख्न खोज्नु गलत हो। तर त्यस्ता छली, जाली र झेली सम्बन्ध हाम्रो समाजमा अहिले पनि कायम छन्। वृन्दाले थाहा पाएपछि विष्णुलाई छक्याएर सुरक्षित बनिन्। हाम्रो समाजमा अहिले पनि आफूलाई गलत नजरले हेरेको थाहा पाएपछि विभिन्न बहानाले सुरक्षित हुने महिलाहरूको संख्या टन्नै छ।

गोमा ब्राह्मणीलाई जीवनमा नसोचेको दुःख आइपरेपछि एकल महिलाका रूपमा छोरा हुर्काइन्। दुःख गरेर पढाउनका लागि अहिले जस्तो स्कुल–कलेज थिएनन्। सबैभन्दा ठूलो राजा हुन्थे, उनको प्रार्थनाले छोरालाई राजा बनायो। हामी पनि त आफ्नो मेहनतले सन्तानलाई राम्रो शिक्षा दिलाएर राम्रो, असल र ठूलो मान्छे भएको हेर्न चाहन्छौँ। समान उमेरका पुरुषसँग विवाह गरेर मात्र के गर्नु गोमाले जस्तो भुक्तमान खेप्ने महिला कति छन् कति। गोमाका छोरा नवराज राजा बनेको प्रसंग अन्य ग्रन्थमा भन्दा फरक छ। प्रायः क्षेत्रीय वंशको व्यक्तिलाई राजा बनाइन्छ र धर्मग्रन्थमा पनि त्यही परिकल्पना गरिएको हुन्छ। तर, स्वस्थानीमा ब्राह्मण पुत्र नवराज राजा बनेका छन्। यता चन्द्रावतीजस्ता दुःख पाएका बेला एक्ली सासुलाई घरमा एक्लै छोडेर माइत बस्ने महिलाहरू अहिले पनि हाम्रो समाजमा छन्। त्यतिबेला अहिले जस्तो वैदेशिक रोजगारीको चलन थिएन, नवराज परदेश गएका थिए, फर्कंदा पत्नी घरमा थिइनन्। अहिले वैदेशिक रोजगारमा गएकामध्ये धेरैले यस्तो व्यवहार भोगिरहेकै छन्।

सत्यतथ्यमा आधारित हुनका लागि स्वस्थानी कुनै ‘रिसर्च बुक’ या ‘केस स्टडी’ होइन। यो तत्कालीन समाज, व्यवस्था र अवस्थालाई चित्रण गर्ने काल्पनिक कथा हो। त्यसैले यसलाई स्वस्थानी कथा नै भनिएको छ, सत्यकथा भनिएको छैन। लैंगिकताबाट धेरै विश्लेषण गर्नका लागि यो कुनै ‘जेन्डर स्टडिज’ अध्ययन गरेको लेखकले लेखेको सामग्री होइन। यो पौराणिक कालमा तत्कालीन समाजको ऐनाको रूपमा परिकल्पना गरेर लिपिबद्ध गरिएको ग्रन्थ हो। त्यसैले यसलाई सोही रूपमा बुझौँ र कसैको आस्थाप्रति प्रहार नगरौँ। (साभार : नागरिक दैनिक)

शनिबार, माघ १७, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*