हरि अधिकारीका चार कविता

 

कविता/हरि अधिकारी

hari adhikari

 

१. साना काँटीका दुब्ला आइमाईहरू

साना काँटीका दुब्ला आइमाईहरू मेरा कमजोरी हुन्
र अन्तिम प्रेम पनि,
नाङ्गा, दुर्गन्धमय र दयनीय केटाकेटीहरू मेरा परिवार हुन्
र मेरो बाल्यकालका ज्युँदा तसबीर पनि हुन् ती ।

साना र अँध्यारा झुप्राहरू, रित्ता थाल र निँभेका
चुल्हाहरूनेर
मेरा प्रेयशी, साना काँटीका बिरामी जस्ता लाग्ने
आइमाईहरू भेटिने छन् ,
तिनका हताश आँखाहरूको शुष्क कुवाभित्र दबेको
भेटिनेछ
मेरो यौवनको सबैभन्दा महान् सपना ।

बाङ्गा-टिङ्गा र कुरूप पहिरोले निलेर भत्काएका
गोरेटोहरूमा
भोका मान्छेहरू जो हुल बाँधेर निस्केका छन्
ती मेरा कुटुम्ब हुन्
तिनका साथमा आँशु र पसिनाको सगुन दिँदै,
सकी नसकी हिँड्ने आमाहरूमध्ये
एउटीको कोखबाट म जन्मिएको थिएँ ।

साना काँटीका दुब्ला आइमाईहरू
र भोकका सक्कली अवतारझैँ लाग्ने केटकेटीहरूसँग
अँधेरोमा विषाद र कुण्ठाको खेती गर्दै म जो बाँचेको छु
अथवा मरिसकेर पनि ठान्न बाध्य छु बाँचेको भनेर
कुनै पनि कविताको पंक्तिमा पूरा अनुवाद हुन सक्दिनँ,
जसरी बलियाहरूले खोसेर एकलौटी बनाएको घाम र पानी,
हावा र पृथ्वीलाई सबैको साझा भन्न मिल्दैन ।

२. सानो शहरका साना मान्छेहरू

सानो शहरमा बस्छन् साना मान्छेहरू
मसिना हुन्छन् अभिलाषा तिनका
देख्छन् सपना भाच्चिएका टुक्राटाक्री,
मुठारिएका पखेटाले उड्न खोज्छन्, सक्दैनन्, पछारिन्छन्
र आफ्नै मुटु वरिपरि रुमल्लिई रहन्छन् ।

सानो शहरका साना मान्छेहरू
साना साना सुखका टुक्राहरूलाई खोजिरहेका हुन्छन्
हाट(बजारमा, मेला-जात्रामा, हिँड्दा हिँड्दै
सधैँ सुस्ताउने गरेको बरको छहारीमा
र भेटैपिच्छे प्रणाम गर्ने गरेको मानिसको नजरमा ।

आफूजस्तै सानो मान्छेको निम्तोमा भक्कुमार मातेर
एक्कैछिन भए पनि आफ्नो मालिक आफैँ भएर
सानो शहरका साना मान्छेहरू
बिपनाका कठोर चट्टानहरूलाई
बेहोसीको कुमले फुटाल्छन् ।

चुहिएको झुपडी, फाटेको चोलीबाट च्याउँने स्त्रीको छाती
पोलियोग्रस्त सन्तान,
धेरै रिन, शून्य धन र हताश मन,
यी सबैमाथि
गहिरो तन्द्राको च्यादर ओढाइदिएर
यी साना, कमजोर तर बाँच्न सिपालु मान्छेहरू
निर्धक्क निदाउँन सक्छन् ।

३. संसदमा एकदिन

एकजना बोलिरहेछ
अर्को उघिँरहेछ
र तेस्रो थुक्दैछ सूर्ति साँघुरा कुर्सीहरूको कापमा,

बहस पनि भइरहेछ
विषय छन् अनेक –
संसद एउटा ठूलो फिकदानी हो कि होइन र ?
कोही सोध्छ
संसद द्विविधामा छ त्यो फिकदानी हो कि कन्टेनर र?

संसद चलिरहेको छ
सत्ताको डबलीमा तेलकासाको खेल भइरहेको छ
एउटा दुब्लो-पातलो, भोको र नाङ्गो मान्छेलाई
बीचमा राखेर सांसदहरू
खेल्दैछन् त्यसलाई कसले पहिले छुने भन्ने खेल,

संसद बाहिरको दुनियाँ पनि हिँडिरहेको छ
चर्किएका कहताराहरू लिएर मान्छेहरू
संसद भवनतिर एकनाससित हेररिरहेका छन्
संसद चलिरहेको छ ।

४. लोकतन्त्रको तन्दूरमा पाकेको रोटी

लोकतन्त्रको तन्दूरमा पाकेको
बास्नादार विशाल रोटी
मानिसको मुट्ठीको उँचाइभन्दा एक गजमाथि
हावामा झुण्डिएको देखेर
भोका बालकहरूले आमाबाबुसँग सोधे –
त्यो रोटी चन्द्रमा जस्तै टाढा छ हगि रु

त्यो रोटीलाई आफूतिर तान्न उफ्रिरहेका बाबुआमाहरू
अवाक्, बिस्तारै बिस्तारै टुक्रिइरहेको चन्द्रमातिर
हेर्न लागे,

रात कहिल्यै नसिद्धिने
नरकको सुरुङझैं फैलिँदै गयो
लोकतन्त्रको तन्दूरमा पाकेको रोटी
ग्रहणको जूनझैँ खग्रास कालो भयो ।

(मैले आफ्ना कविताहरू फेसबूकको भित्तोमा त्यति टाँग्ने गरेको छैन । आज एउटा कोठे कविता गोष्ठीमा सुनाउनका लागि कविताहरू पुनर्टङ्कण गर्नु पर्दा छानिएका यी ४ कविता तपाइँ मित्रहरूको सेवामा पनि प्रस्तुत गरेको छु । यी सबै कविताहरू २५/३० वर्ष पहिले लेखिएका हुन् । प्रकाशनका समयमा चर्चित रहेका यी कविताहरूले पाठक सामु मैले रच्ने गरेका कविताहरूको मूल ध्वनि र मेरो काव्य(शिल्पको बान्की पेस गर्नेछन् भन्ने विश्वास गरेको छु ।)//(हरि अधिकारीको फेसबुक वालबाट)

शनिबार, मंसिर २१, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*