१३औं सागका स्वर्ण विजेतालाई रु.९ लाख दिने प्रमको घोषणा, गौरिकाले ६० लाखभन्दा बढी पाउने

खेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खर्भरै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् । उनले खेलाडीहरुलाई बधाइ दिदै उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडीको प्रशंसा समेत गरे ।

उनले १३ औं सागमा नेपालका खेलाडीले उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा पनि अझ बढी पदक ल्याउने प्रयासमा लाग्न खेलाडीहरुलाई सुझाव दिए । ‘पहिला हामीसँग ५० वटा खेल खेल्ने हैसियत पनि थिएन । अहिले ५१ वटा त स्वर्ण पदक नै जितेका छौँ । २०६ वटा खेलमा सहभागी हुने हैसियत थिएन । अहिले २०६ वटै पदक प्राप्त गरिसकेका छौ’ प्रधानमन्त्री ओलीले यो प्रगतिलाई असाधारण प्रगति भन्दै यसमा सवै खुसी हुनुपर्ने र सिंगो देश नै खुसी रहेको पनि बताए ।

विगतमा एकमात्र अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हुने रंगशाला रहेकोमा यसपटक तीन ठाउँका ठूला रंगशालाबाट अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन सफल भएकोमा उनले सरकारको सफलतासँग जोडे ।

PM Oli-saag Winner prize 11

(दुई वा बढी स्वर्ण विजेता खेलाडी क्रमशः सुवास तामाङ, मण्डेकाजी श्रेष्ठ, गौरिका सिंह र आयशा शाक्य प्रधानमन्त्री ओलीसँग)

सरकारले खेल क्षेत्रलाई विशेष ध्यान दिएको भन्दै सातवटै प्रदेशमा नयाँ र भव्य रंगशाला बन्दै गर्नुलाई प्रगतिको संकेतका रुपमा लिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रम ओलीले गौरिका सिंह एक्लैले चारवटा स्वर्ण जितेर नेपालको गौरव बढाएकी र आधा आकासले पनि हरेक काम गर्न सक्छ भन्ने उनले प्रमाणित गरेको बताए ।

मण्डेकाजी श्रेष्ठ, सुवास तामाङ, आयसा शाक्यलाई पनि डबल स्वर्णपदक प्राप्त गरेको भन्दै प्रधानमन्त्रीले कठिनाइसँग जुध्न सक्ने खेलाडीको प्रशंसा गर्न चाहेको पनि बताए ।

ठट्यौली शैलीमा प्रधानमन्त्रीले अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ । रजतमा चित्त बुझाउनुपर्छ । तर रजत केही उत्कृष्ट विना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै भएको बताए । र, प्रधानमन्त्री ओलीलले कास्य पदक स्वर्ण पदक जस्तै भएको र मात्रै दुईजना बढ्ता जान्ने भएर निस्के । ती दुइवटालाई हराइदिन पाएको भए हुन्थ्यो । अर्को पटक दुईवटालाई मौका दिने छैनौं भन्दै खेलाडीलाई हौसला दिए ।

प्रधानमन्त्रीले आफूलाई साग प्रतियोगिता सुरु हुने वेला अचानक एपेण्डिसाइटिस इन्फेक्सन भएको भन्दै अस्पतालमा हुँदा पनि युट्युवबाट हेर्ने गरेको तथा आइसियुमा हुँदा पनि हेर्न नछुटाएको बताए ।

प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेपछि हालै सम्पन्न सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले सबभन्दा धेरै पुरस्कार पाउने भएकी छन् ।

सर्वाधिक पुरस्कार पाउने खेलाडी बन्दै गौरिका

Gourika Singh aa

प्रधानमन्त्री ओलीले गरेको घोषणाअनुसार सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दरले पुरस्कार दिइनेछ । यो हिसावले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले सिधै ४४ लाख पाउने छिन् । यसका अतिरिक्त उनले २ वटा रजत पदक पनि जितेकी छन् । रजत जित्नेलाई प्रतिव्यक्ति ६ लाखका दरले दिने घोषणा गरिएको छ ।

यसबाट गौरिकाले थप १२ लाख पाउँनेछिन् । यो दुवैको जोड्दा गौरिकाले ५६ लाख पाउँछिन् । गौरिकाले काँस्य पदक समेत जितेकाले अरु थप रकम समेत पाउँनेछिन् । यस्तै एक स्वर्ण पाउनेले ९ लाख, रजत पाउनेले ६ र कांस्य पाउनेले ३ लाख पुरस्कार पाउनेछन् ।

मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो भने साट राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम पदक तालिकामा भारतपछि दोस्रो स्थान हासिल गरेको थियो ।

बुधबार, मंसिर २५, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*