अन्ततः सरकारले तोक्यो प्रदेशका अस्थायी मुकाम, कुन प्रदेशको कुन ?

संवाददाता । काठमाडौं, ४ माघ ।

धेरै समय अलमलमा बिताएपछि सरकारले अन्ततः सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिएका हुन् ।

बुधबार दुई पटक बैठक बसेको थियो । पहिलो बैठकमा केही प्रदेशको राजधानीलाई लिएर मन्त्रीहरुबीच विवाद भएपछि दिउँसो दोस्रो बैठक बसेको थियो, जसले प्रदेशका अस्थायी मुकामहरु तोकेको छ ।

यसअनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ ।

प्रदेश ६ र ४ बाहेक अन्यको राजधानीलाई लिएर आन्दोलन भइरहेको छ । धनकुटालाई प्रदेश १ को राजधानी बनाउनुपर्ने माग भइरहेको छ भने २ को राजधानी वीरगञ्ज हुनुपर्ने भन्दै प्रदर्शन भइरहेको छ ।

प्रदेश ३ को राजधानी भक्तपुर कि ललितपुर भन्ने बहस धेरै भयो तर, उपप्रधानमन्त्री कमल थापाको दबावमा हेटौंडा भएको छ । प्रदेश ५ को राजधानी दाङ कि बुटबल भन्ने बहस र विवाद चलेपछि सरकारले रुपन्देहीलाई तोकेको छ । यसले बुटवल आन्दोलन मत्थर भएको छ भने दाङमा आक्रोश देखिएको छ ।

प्रदेश ७ को राजधानी धनगढी तोकिएपछि डोटी आन्दोलित भएको छ । दिपायललाई मुकाम तोक्नुपर्ने माग राख्दै आन्दोलन नै भयो भने डडेलधुरा लगायतका पहाडी जिल्लामा राजधानी हुनुपर्ने माग पनि उठेको थियो ।

विभिन्न ठाउँमा आन्दोलन सुरु भएपछि सरकारले अस्थायी मुकाम नै नतोकी राजधानीमै प्रदेशसभा सदस्यहरुलाई सपथ गराउने तयारी पनि गरेको थियो ।

तर, वाम गठबन्धनले सरकार संवैधानिक जिम्मेवारीबाट भाग्न खोजेको भन्दै विरोध गरेपछि देउवा सरकारले ‘हालका लागि प्रदेशको कार्यसञ्चालन स्थल’ तोकेको छ ।

संविधान अनुसार प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेशसभाको हो र त्यसका लागि दुई तिहाईले निर्णय गर्नुपर्छ ।

अनुराधा कोइराला पनि प्रदेश प्रमुख

Anuradha-Koirala

मन्त्रिपरिषद्को बुधबारको बैठकले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । यससँगै प्रदेशसभा गठनको बाटो खुलेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दुई दलले भागवण्डाका आधारमा प्रदेश प्रमुखहरु तोकेको हो । फोरम र राजपाको सिफारिसमा १(१ जना प्रदेश प्रमुख नियुक्त गरिएको छ भने ५ जना कांग्रेसको सिफारिसमा भएका छन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रदेश १ को प्रमुख भएका सुब्बा कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् । उनी सिनासका प्रोफेसर पनि हुन् ।

प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् । सुरुमा उनलाई प्रदेश ५ को प्रमुख नियुक्त गर्न लागिएको थियो तर, फोरमको दबावमा २ मा आएका छन् ।

प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी कोइराला चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस प्रवेश गरेकी थिइन् ।

प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् ।

प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् भने मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए ।

बिहीबार, माघ ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*