अन्तर्राष्ट्रिय खेल सफलतामा महिला नै अघि

ओलम्पिक छनोटदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई ठूलो सफलता दिलाउने महिला खेलाडी

काठमाडाैं । सबिता राजभण्डारीले सक्रिय खेल जीवनबाट बिदा लिएपछि खेलकुद चटक्कै छोडिन् । प्रशिक्षक, पदाधिकारी वा खेल प्राविधिक उनको रोजाइमा परेन । नेपाली खेलकुदकी यी ऐतिहासिक पात्र नेपाल छाडेर अमेरिका पुगेकी छिन् ।

उनी जहाँ भए पनि नेपाली खेलकुदले उनलाई कहिल्यै बिर्सन सक्ने छैन । उनको नामबाट नेपाललाई अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय पदक दिलाएको कीर्तिमान छ । सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सबिताले नेपाललाई रजत पदक दिलाएकी थिइन् । नेपालले आधिकारिक ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो नै अहिलेसम्मको ठूलो पदक हो ।

त्यसको २० वर्षपछि इन्डोनेसियाको जाकर्ता र पालेम्बाङ भएको एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङ टोलीले पनि रजतपदक जितेको छ । तर, व्यक्तिगत इभेन्टतर्फ अहिलेसम्म कुनै पनि खेलाडीले सबिताको उपलब्धि भेट्टाउन सकेका छैनन् । भविष्यमा कुनै खेलाडीले उनको यो उपलब्धिलाई उछिन्न सक्नेछ । तर, नेपाललाई एसियाली खेलकुदमा रजतपदक दिलाउने पहिलो खेलाडीको रूपमा उनको नाम रहिरहनेछ ।

सबिताले जस्तै तेक्वान्दोकी अर्की खेलाडी संगिना वैद्यको नाममा पनि कीर्तिमान छ । यो कीर्तिमान अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले तोड्न सक्ने छैन । ओलम्पिकजस्तो अन्तर्राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता खेल्न वाइल्डकार्डको आशा गर्नुपर्ने नेपाली खेलाडीमध्ये उनी फरक रहिन् । उनी छनोट चरण पार गरेरै विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिक खेलकुद खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले यो कीर्तिमान सन् २००४ को एथेन्स ओलम्पिकको दौरानमा कायम गरेकी थिइन् ।

Sabita Rajbhandari

              सबिता राजभण्डारी

अहिलेसम्म पनि उनीपछि एक खेलाडी (दीपक विष्ट)ले मात्रै उनको सफलतालाई पछ्याएका छन् । सबिता र संगिनाको उपलब्धिपछि क्रिकेटकी अञ्जली चन्दले कायम गरेको विश्वकीर्तिमानले नेपाली खेलकुदमा महिला खेलाडीको क्षमता र सफलतालाई अझ स्पष्ट पारेको छ । अञ्जलीले गत मंसिरमा काठमाडौंमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत महिला क्रिकेट (टी–२०)मा विश्वकीर्तिमानी प्रदर्शन गरिन् । माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले एक रन पनि नदिई ह्याट्रिकसहित ६ विकेट लिइन् । उनको त्यही बलिङ विश्वकीर्तिमानी बन्न पुग्यो ।

यी केही महत्वपूर्ण उदाहरण मात्रै होइनन्, नेपाली खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको सफलतामा महिला खेलाडीकै योगदान बढी छ । सन् १९६४ मा जापानको टोकियोमा भएको १८औँ संस्करणदेखि सहभागिता जनाउन थालेको नेपालले ओलम्पिक खेलकुदमा अहिलेसम्म पदक जित्न सकेको छैन ।

त्यसपछि नेपालले प्रतिस्पर्धा गर्ने दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसियाली खेलकुदको १२औँ संस्करणबाट नेपाली महिला खेलाडीले पनि सहभागिता जनाउन थालेका छन् । त्यसयता सात एसियाली खेलकुद प्रतियोगितामा १५ नेपाली खेलाडीले पदक जितेका छन्, जसमा एक रजत र १४ कास्य छन् ।

त्यसमध्ये एक रजतसहित महिला खेलाडीले आठ पदक जितेका छन् । ६ कास्यपदक मात्रै पुरुष खेलाडीले जितेका छन् । एक कास्यपदक टिम इभेन्टमा सम्भव भएको छ ।

दक्षिण एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने खेलाडीको सूचीमा महिला नै अघि छन् । त्यसका लागि हालै सम्पन्न १३औँ साग प्रतियोगिताका पदक विजेता खेलाडीको सूची हेर्दा पर्याप्त हुनेछ । १३औँ सागमा नेपालले ५१ स्वर्णपदक जित्यो ।

संख्याको दृष्टिकोणबाट नेपालले सागमा जितेको यो नै अहिलेसम्मको सर्वाधिक स्वर्ण हो । ५१ मध्ये २६ स्वर्ण महिला खेलाडीले व्यक्तिगत विधामा जितेका छन् । १९ स्वर्ण मात्रै पुरुष खेलाडीले व्यक्तिगत विधामा जितेका छन् । बाँकी ६ स्वर्णपदक जोडी वा टोलीमा सम्भव भएको छ ।

समग्रमा १३औँ सागमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेलाडी महिला नै छन् । नेपालले १३औँ सागमा स्वर्ण, रजत र कास्य गरी २०७ पदक जित्दा ७७ पदक महिला खेलाडीले व्यक्तिगत विधामा जितेका छन् । ६९ पदक पुरुष खेलाडीले व्यक्तिगत विधामा जिते । बाँकी पदक जोडी वा टोलीमा जितेका छन् ।

पछिल्लो एक दशकदेखि नेपाली खेलाडी र उनीहरूको डाटा संकलनमा खटिएका क्षितिज अरुण श्रेष्ठ नेपाली खेलकुदमा सहभागितादेखि अन्तर्राष्ट्रिय सफलतासम्म महिला खेलाडी नै अघि रहेको बताउँछन् ।

‘सुरुवातदेखि नै कुनै पनि खेलमा महिलाकै सहभागिता बढी छ । नेपाल भित्रिएका नयाँ खेलमा सुरुवातबाटै महिला खेलाडीको उपस्थिति बढी देखिन्छ,’ उनी भन्छन्, ‘त्यसको अनुपातमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीको संख्यामा पनि महिला नै अघि छन् । सुरुवातमा कम सहभागिता देखिएका कुस्ती, बक्सिङजस्ता खेलका अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला खेलाडीले पदक जित्न थालेका छन् । महिला क्रिकेटजस्ता खेलमा पनि प्रदर्शन राम्रो बन्दै गइरहेको छ । यो राम्रो संकेत हो ।’

यही तथ्यका आधारमा उनी अन्तर्राष्ट्रिय सफलताका लागि महिला खेलाडीमाथि थप लगानी गर्न आवश्यक रहेको तर्क गर्छन् । ‘महिला खेलाडी अन्तर्राष्ट्रिय पदक जित्न सक्षम छन् भन्ने उदाहरण अहिलेसम्मको तथ्यले देखाइसकेको छ,’ उनी भन्छन्, ‘यसलाई आधार मानेर अन्तर्राष्ट्रिय सफलताका लागि सरकारले थप महिला खेलाडीमा लगानी गर्नुपर्छ ।’ (नयाँ पत्रिकाबाट) //(माथि तस्बिरमा संगीना वैद्य  र देबु थापा)

आइतबार, फागुन २५,२०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*