अमेरिकामा कोरोना-संक्रमित संख्या एक लाख पुग्यो

शुक्रबार साँझसम्म मृतकको संख्या १५ सय ४५
न्युयोर्क । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । अहिलेसम्म (शुक्रबार साँझसम्म) १ लाख ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक भएको छ । मृतकको संख्या १५ सय ४५ पुगेको छ । विगत २४ घण्टामा मृतकको संख्या ३५९ रहेको छ । संक्रमित संख्यामा इटाली र चीन भन्दा अमेरिकामै बढेको हो ।

अमेरिकाको पनि न्युयोर्क राज्य कोरोनाको नयाँ इपिसेन्टर बनेको छ । न्युयोर्कमा मात्र संक्रमितको संख्या झण्डै ४५ हजार पुगेको छ । न्युजर्सीमा पनि संक्रमितको संख्या ८ हजार ८ सय २५ पुगेको छ । कनेक्टिकटमा १२९१ मा संक्रमण पुष्टी भएको छ ।

अमेरिकामा विगत २४ घण्टामामात्र झण्डै १५ हजार कोरोना संक्रमणका नयाँ बिरामी पुष्टिभएका हुन् ।

अहिलेसम्म वासिङ्गटन र न्युयोर्क राज्य सर्वाधिक प्रभावित देखिँदै आएको भए पनि पछिल्ला दिनहरूमा शिकागो, डेट्राा्यट र न्यु ओर्लिन्स राज्यहरूमा यो महामारी तीव्र रूपमा बढेको पाइएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरूमध्ये शुक्रबार साँझसम्म श्विव्यापी रूपमा ५,९०,५९४ जना छन्, मृत्यु हुनेको संख्या २६,९४३ पुगेको छ । चीनमा संक्रमित संख्या ८१,३४० र मृत्यु संख्या ३,२९२ छ । यसैगरी इटालीमा संक्रमित संख्या ८०,५८१ र मृत्यु संख्या ८,२१५ छ । स्पेनमा यो महामारीबाट मर्नेहरूको संख्या ४,८५८ र इरानमा २,३७८ पुगेको छ ।

ट्रम्पद्वारा दुई ट्रिलियन डलरको राहत विधेयकमा हस्ताक्षर, अमेरिकी करदातालाई १,२०० डलर राहत

यसैबीच, शुक्रबार साँँझ नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई ट्रिलियन डलरको राहत विधेयकमा हस्ताक्षर गरेका छन्। उनको हस्ताक्षरसगै यो विधेयक कानुन भएको छ र अब अमेरिकी करदाताले बढीमा १२०० राहत रकम पाउने पक्का भएको छ।

यसअघि विधेयक राहत अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पारित गरेको थियो । माथिल्लो सदन सिनेटमा ९६(० मतले सर्वसम्मतबाट पारित भएको थियो ।

विधेयक कानुन भैसकेको यो अवस्थामा साना व्यवसाय, ठूला व्यवसायले पाउने सुविधा त आफ्नो ठाउँमा छँदैछ, अमेरिकी कामदार वर्गले तत्काल राहतका रूपमा बढीमा प्रति व्यक्ति १२०० र प्रत्येक बालबालिकाले ५०० डलर राहत रकम पाउनेछन् ।

वार्षिक एकल ७५ हजार र दम्पति एकलाख ५० हजारभन्दा कम आम्दानी भएकाले प्रति व्यक्ति १२०० र प्रति दम्पति २४०० राहत पाउनेछन्। त्योभन्दा माथि प्रति व्यक्ति ९९ हजार र प्रतदम्पति १ लाख ९८ हजारसम्म आम्दानी हुनेले पनि दामासाहीले केही न केही राहत पाउनेछन्। तर, त्योभन्दा माथि आम्दानी भएकाले भने प्रत्यक्ष राहत रकम पाउने छैनन्।

आम्दानीको आधार २०१९ को कर दाखिला गरेको भए त्यसलाई र अन्यथा २०१८ को कर दाखिलालाई बनाइने छ। आइआरएसमार्फत अमेरिकी करदाताले मेलबाट चेक वा करदाताको बैंक खातामा सोझै राहत रकम पाउनेछन् ।  (एजेन्सी)

शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*