अमेरिकामा देशव्यापी प्रदर्शन, ४० सहरमा कर्फ्यु

वासिङ्टन । प्रहरी नियन्त्रणमा अश्वेत नागरिकको हत्या भएपछि अमेरिकाका दर्जनौं सहरमा सुरु भएको प्रदर्शन देशव्यापी बनेको छ । बीबीसीका अनुसार कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लस एन्जलस, डेभनपोर्टलगायत दर्जनौं सहरमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको छ । विभिन्न स्थानबाट प्रहरीले ३ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ । सीएनएनका अनुसार न्युयोर्कमा मात्र २ सय ७० जना पक्राउ परेका छन् ।

George-Floyd 5

आयोवा राज्यको डेभनपोर्टमा आइतबार रातभर गोली हानाहान भएको जनाइएको छ । प्रहरीको गोली लागी कम्तीमा २ जनाको ज्यान गएको छ । एक प्रहरी अधिकारी घाइते भएका सीएनएनले जनाएको छ । डेभनपोर्ट प्रहरी प्रमुख पल सिकोर्कीले गस्तीमा रहेका तीन जना प्रहरीमाथि आक्रमण भएको जनाए ।

दर्जनौं राज्यमा प्रहरीका गाडी जलाइएका छन् भने पसलहरूमा लुटपाट भएको छ । प्रदर्शन चर्केका विभिन्न १५ राज्य र राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडि नेसनल गार्ड परिचालन गरिएको छ । अमेरिकी सेनाको सञ्चित फौज नेसनल गार्ड देशभित्र कुनै संकट आइपर्दा खटाइने गरिन्छ ।

George-Floyd 3

ह्वाइटहाउसअघि भेला भएको ठूलो भीडले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यसलगत्तै प्रदर्शनकारीले दंगा प्रहरीमाथि ढुंगा प्रहार गरेका जनाइएको छ ।

६ दिनदेखि जारी विरोध प्रदर्शनलाई ५ दशकयताकै हिंसात्मक रंगभेदी आन्दोलनका रूपमा लिइएको छ । सन् १९६८ मा मार्टिन लुथर किंगको हत्यापछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन गरिएको थियो । सीएनएनका अनुसार कम्तीमा ७५ विभिन्न सहरमा हिंसात्मक विरोध भएको छ ।

प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो । घटनाबारे सार्वजनिक एक भिडियोमा सोभिनले फ्लोइडको घाँटीमा ८ मिनेटभन्दा बढी समयसम्म घुँडाले टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएको समेत भिडियोमा सुन्न सकिन्छ । ४४ वर्षीय सोभिनसहित ४ जना प्रहरीलाई घटनापछि बर्खास्त गरिसकिएको छ ।

George-Floyd 4

फ्लोयडतर्फका वकिलले प्रहरीले ‘पूर्वनियोजित रूपमा फ्लोयडको हत्या गरेको’ आरोप दाबी गरेका छन् । फ्लोयडको हत्या गर्ने मिनियापोलिसका प्रहरी सोभिनमाथि भने अञ्जानमा भएको हत्याको अभियोग लगाइएको छ । तर वकिल बेन्जामिन क्रम्पले सीबीएस न्युजलाई भने उक्त हत्या जानीजानी गरिएको बताए ।

‘उनको हत्या गर्ने आशय थियो । फ्लोयडले बारम्बार सास फेर्न गाह्रो भएको बताइरहँदा पनि उनले झन्डै ९ मिनेटसम्म आफ्नो घुँडाले घाँटीमा थिचिरहेका थिए,’ उनले भने ।

अमेरिकाबाहिर पनि विरोध

फ्लोयडको हत्यालाई लिएर विश्वका अन्य देशमा पनि विरोध प्रदर्शन गरिएका छन् । लन्डनस्थित अमेरिकी दूतावासबाहिर र ट्राफलगर स्क्वायरमा हजारौं मानिसले विरोध र्‍याली निकालेका छन् ।

र्‍यालीमा सहभागी अधिकांशले ‘अश्वेतको जीवनले अर्थ राख्छ (ब्ल्याक लाइभ्स म्याटर)’ भन्दै नाराबाजी गरेका थिए । त्यस्तै, जर्मनीको बर्लिन तथा फ्रान्सको पेरिसस्थित अमेरिकी दूतावासबाहिर पनि सयौं प्रदर्शनकारीले विरोध जनाएका छन् ।

जर्ज फ्लोयड प्रहरी नियन्त्रणमा कसरी मारिए ? अर्थात् , अमेरिकामा आन्दोलन फैलिनुको कारण बनेको घटना

अमेरिकी नागरिकमा किन आक्रोश बढेको छ ? आन्दोलन जन्माउने वास्तविक घटना के थियो त ?  यस सम्बन्धमा अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले विस्तृत विवरण प्रकाशित गरेको छ । त्यसअनुसार,

मे २५ को दिन ४६ वर्षका जर्ज फ्लोयडले मिनियापोलिसको एक पसलमा २० डलर दिएर चुरोट खरिद गरे । उनले दिएको पैसा नक्कली हो भन्ने थाहा पाएपछि पसलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी आइपुग्यो । पहिलोपटक प्रहरीको कार घटनास्थल आइपुगेको १७ मिनेटपछि फ्लोयडलाई तीन प्रहरीले समातेका थिए । त्यतिबेला उनी अचेत अवस्थामा थिए । उनको मृत्यु भइसकेको जस्तो देखिन्थ्यो ।

George-Floyd

प्राप्त भिडियोहरूलाई जोडेर यो घटनालाई बुझ्न सकिने गरी एक भिडियो तयार पारिएको छ । भिडियोमा प्रहरीले मिनियापोलिस प्रहरी विभागको नीति मिचेर गरेको क्रियाकलापहरू देख्न सकिन्छ । यतिसम्म भयो कि प्रहरीको अमानवीय हर्कतका कारण फ्लोयडको उक्त स्थानमा नै मृत्यु भयो । त्यहाँ जम्मा भएका मानिसहरू र फ्लोयडले पनि बचाउन प्रहरी अधिकारीसँग बिन्ती गरिरहेको उक्त भिडियोमा देख्न सकिन्छ ।

फ्लोयडको मृत्यु भएको भोलिपल्ट प्रहरी विभागले सबै अधिकारीहरूलाई निलम्बन गर्‍यो । साथै, यो घटनाले ठूलो रुप लिँदै गएपछि घटनामा संलग्न एक प्रहरी अधिकारी डेरेकम चौविनलाई हत्याको आरोपमा मुद्दा दायर पनि गरिएको छ ।

उनले फ्लोयडको घाँटीमा आठ मिनेट ४६ सेकेण्ड घुँडाले थिचेका थिए । फ्लोयड अचेत भएपछि पनि उनको घाँटीबाट घुँडा हटाएका थिएनन् । स्वास्थ्य टोली घटनास्थलमा पुगेको एक मिनेटसम्म पनि चौविनले फ्लोयडको घाँटीमा घुँडाले थिचिरहेका थिए ।

फ्लोयडको पक्राउमा सहयोगी बनेका तीन प्रहरी अधिकारीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

भिडियोमा देखाइएअनुसार सुरुमा आफ्नो कारमा बसेका फ्लोयडलाई दुई जना प्रहरीले कारबाट बाहिर निकाल्छन् र उनलाई हतकडी लगाएर प्रहरीको गाडी भएको स्थानमा लैजान्छन् । तर फ्लोयड गाडीमा बस्न मान्दैनन् । त्यसपछि प्रहरीको थप दुई वटा गाडी आउँछ । अन्तिममा आएको गाडीमा डेरेक चौवान र टोउ थाओ पनि हुन्छन् ।

त्यसपछि उनीहरूले फ्लोयडलाई गाडीमा राख्ने प्रयास गरेकोजस्तो र फ्लोयडले नमानेको जस्तो देखिन्छ । त्यसपछिको दृश्यमा प्रहरीको गाडीको छेउमा फ्लोयड लडेका देखिन्छन् । उनको घाँटीमा डेरेक चौविनले घुँडाले थिचेका छन् । उनलाई जे एलेक्जेन्डर कुएङ र थोमस लेनले साथ दिइरहेका छन् । टोउ थाओ भने हेरिरहेका देखिन्छन् ।

George-Floyd 2

घाँटीमा प्रहरी अधिकारीको घुँडाले थिचिरहेको अवस्थामा फ्लोयडले आफूलाई सास फेर्न गाह्रो भइरहेको बताउँछन् । चौवानले ‘उठ र कारमा बस’ भनेर फ्लोयडलाई भन्छन् । तर फ्लोयडको घाँटीमा राखेको घुँडा हटाउँदैनन् । फ्लोयडले घाँटीमा राखेको घुँडा हटाए आफू गाडीमा बस्न तयार रहेको बताउँछन् । तर, चौवानले घुँडा हटाउँदैनन् ।

त्यहाँ उपस्थित मानिसले फ्लोयडको अवस्था खराब भएको भन्दै उनको घाँटीबाट घुँडा हटाउन आग्रह गर्छन् । तर चौविनले उनीहरूलाई उल्टै हप्काएको भिडियोमा देख्न सकिन्छ ।

त्यतिबेलासम्म फ्लोयड अचेत भइसकेका हुन्छन् । अझै पनि चौवानले उनको घाँटीमाथि राखेको घुँडा हटाउँदैनन् । यो घटनाको विरोध गर्दा त्यहाँ रहेका मानिस र प्रहरीको बीचमा भनाभन भएको पनि भिडियोमा देखिन्छ । त्यसपछि मेडिकल टोली घटनास्थलमा आइपुग्छ । त्यसको पनि केही समयपछि मात्र उनको घाँटीमा राखेको घुँडा चौवानले हटाउँछन् र तीन प्रहरीले उनलाई उचालेर स्ट्रेचरबाट एक्बुलेन्समा राख्छन् । (एजेन्सी)

मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*