अमेरिकामा नेपाली महिलाका समस्या, चुनौती र अवसरहरू

आलेख/गोमा सेन

अमेरिकामा रहँदै आएका नेपालीहरूको पहिलो साझा समस्या भनेको मनोवैज्ञानिक हो । अर्थात्, यो देशमा प्रवेश गरेदेखि यहाँ रहँदा–बस्दाका निरन्तर घडीहरूमा हरेक महिला पुरुषहरूले तीव्र मानसिक द्वन्द्वको अवस्था भोग्दै बस्नुपर्छ । त्यो भन्नुको अर्थ हो, भौतिक शरीर अमेरिकामा र मन जन्मभूमिको सेरोफेरोमा घुमिरहनु । अति कम व्यक्तिहरू मात्र यसका अपवाद हुन सक्लान् । यसबाट मुक्ति पाउनका लागि नै यसो कामकाज, पेसा, व्यवसायबाट फुसर्द मिल्नासाथ नेपालका नाममा, नेपालीका नाममा, धर्म–संस्कार–चाडपर्वका नाममा जमघट हुने, भेला हुने, कार्यक्रमहरू गर्ने र यसैमा रमाउँदै यो मानसिक द्वन्द्वलाई कम पार्ने गर्दछन् । यो त भयो सबैको साझा समस्या ।

goma sen

– गोमा सेन/ एनआरएनए आइसिसी मेम्बर/न्युयोर्क, अमेरिका

अब चर्चा गरौं, नितान्त महिलाहरूमा मात्र हुने समस्या, चुनौती र समाधानका सन्दर्भमा । यो भूमिमा विभिन्न देशबाट आई बसोबास गर्ने महिलाहरूको अनुमानित संख्या २१ मिलियन (२ करोड १० लाख) भएको एक अध्ययनले देखाएको छ । प्रवेशका आधारहरू केलाउँदा यसै पनि अमेरिकालाई सपनाको देश मानेरै कामको सिलसिला, उच्च शिक्षा आर्जनको सिलसिला, भ्रमणको सिलसिला, डिभी चिठ्ठा तथा राजनीतिक शरणार्थीका रूपमा भुटानी नेपालीहरू यहाँ भित्रिएका छन् र यो प्रक्रिया निरन्तर चलिरहेको छ । यद्यपि भोलिका दिनमा के कस्तो रहला भनेर यसै भन्न सकिने स्थिति छैन ।

अमेरिका आइपुगेकाहरू

तुलनात्मक रूपमा हेर्दा एसियाका अन्य देशका भन्दा भारतीय महिलाहरूको जीवनस्तर राम्रो देखिन्छ । यसो हुनुमा शिक्षा यसको मुख्य कारण हो । यकिन आँकडा पेस गर्न गाहारो छ तापनि लगभग तीन लाख नेपाली भएको भनिएको यो देशमा महिलाको संख्या तुलनामा धेरै नै कम हुनुपर्दछ ।

यो सानो आलेखमा यहाँ रहँदै आएका नेपाली महिलाहरूका समग्र विषयमा अनुसन्धान र व्याख्या गर्न सम्भव हुँदैन तापनि केही साझा समस्याका बारेमा प्रस्ट्याउन चाहन्छु । यहाँ मूलतः निम्न प्रकारका महिलाहरू बसोबास गर्दै आएको पाइन्छ– कामको खोजीमा आएका, विद्यार्थीका रूपमा आएका, गैरकानुनी रूपमा आएका, राजनीतिक शरणार्थीका रूपमा आएका महिलाहरू । यी सबै महिलाका आआफना समस्याहरू छन् । जे जस्तो सुकै आधारमा आएका वा जस्तोसुकै पृष्ठभूमि भए तापनि आर्थिक परिस्थिति सुधार गर्ने, बसोबासको समस्या सहज गर्ने अवस्थाको खोजी पहिलो समस्या हो नै ।

अझ विद्यार्थी महिलाहरूका लागि त यहाँ सबैभन्दा कष्टकर जीवन छ । एकाध मेधावी विद्यार्थीलाई छाडेर हेर्दा राम्रो कलेज या युनिभर्सिटीमा अध्ययन गर्नु धेरै खर्चिलो हुने र आफ्नो घरबाट रकम ल्याएर अध्ययन गर्नु प्रायः असम्भव हुने हुनाले काम गर्दै अध्ययन जारी राख्दै गर्नुपर्ने बाध्यताले गुणस्तरीय शिक्षा हासिल गर्न धेरै कठिन बाटो छ । बसोबासको समस्या झन् टड्कारो छ । यद्यपि अमेरिकामा घट्ने यदाकदाका आपराधिक घटनाबाहेक यहाँको जीवन सुरक्षित छ । महिलाहरूले बढी इज्जतका साथ रहन पाउँछन् तापनि यदाकदा न्यून संख्यामा हिंसा र शोषणका घटना पनि नभएका होइनन् ।

संचिता प्रधान र अमृता रेग्मी
रोजगारीको कुरा गर्दा नगण्य संख्यामा मात्र नेपाली महिलाको केन्द्र र राज्य सरकारको नोकरीमा पहुँच होला । डाक्टर, इन्जिनियर पेसा गर्ने वा आफनै व्यापार व्यवसाय गरेर बसेका महिलाहरू ज्यादै कम छन् । त्यसो त राष्टपति ओबामाको पालामा एक नेपाली महिला संचिता प्रधानलाई एसियाको प्रतिनिधित्व गर्दै सल्लाहकारमा नियुक्त पनि गरिएको थियो भने अर्की अमृता रेग्मीले जर्जिया स्टेटको डेमोक्रेटिक पार्टीको तर्फबाट आफूलाई उम्मेदवार बनाएकी थिइन् ।

यसरी सरसरती हेर्दा अहिलेसम्म नेपाली महिलाको भरपर्दो कामको स्रोत भनेको भारतीय रोजगारदाताहरू नै हुन् चाहे सूचना प्रविधिको क्षेत्रमा होस्, वा व्यापार व्यवसायको क्षेत्रमा वा घरेलु कामदारको हैसियतमा । यसको मुख्य कारण भनेको भाषा र दक्षता नै हो । अंग्रेजी वा स्पेनिस जस्ता भाषाको प्रखर ज्ञानको कमी त प्रमुख कारण हो । गैरकानुनी रूपमा बसोबास गर्दै आएका महिलाहरूका झन् धेरै बाध्यता छन् ।

अमेरिकामा नेपाली महिलाले काम पाउने ठाउँ
हिन्दी भाषाले काम चल्ने र धर्म–संस्कृतिमा पनि केही हदसम्म समानता जस्ता कारणले भारतीयहरूले नेपाली महिलाहरूलाई सजिलै काम दिने गर्दछन् । हो, कोही कोही रोजगारदाताबाट यदाकदा आर्थिक शोषणको पनि गुनासो आउने गरेको हुन्छ । किनभने उनीहरूले राज्यले तोकेको मापदण्डभन्दा कममा कजाउँछन् र सामाजिक सुरक्षा हुँदैन, अनि बढी समय काम गराउने तर बढी कामको पारिश्रमिक नदिने हुन्छन् । साथै, राम्रै तलब सुविधा दिएर काम गराएका राम्रा उदाहरण पनि छन् ।

अझ शेर्पा लामा समुदायका महिलाहरू त बेबी सिटिङको काममा अत्यन्तै राम्रो नाम र इज्जत पाएको पनि हामीले देखेका छौं । न्युयोर्क, क्यालिफोर्निया जस्ता ठुला सहरहरूमा नेपाली महिलाहरूले ट्याक्सी चलाएर राम्रै आम्दानी गरेका पनि कैयौं उदाहरण छन् ।

अमेरिकाको सुन्दर पक्ष के भने यहाँ कुनै पनि कामलाई उँच–नीचका रूपमा हेरिँदैन । जसले जस्तो काम पाउँछ, गर्न सक्छ, त्यहाँ आर्थिक आर्जन मात्र नभएर इज्जत पनि सँगसँगै हुन्छ । राष्ट्रले प्रगति गरेको सायद एउटा आधार यो पनि हो । ब्युटी पार्लर, सैलुन वा स्पा, नेल्स, ग्यास स्टेसन, डिपार्टमेन्टल स्टोर आदि स्थानहरू र आइटी क्षेत्रका व्यापारिक केन्द्रहरूमा विस्तारै नेपाली महिलाहरूको प्रवेश भइरहेको छ ।

नेपाली महिलाहरूका लागि अर्को समस्या भनेको गाडी ड्राइभिङ हो । यहाँ बिना गाडी बिना खुट्टाको जस्तै हुनुपर्छ किनभने आफू बस्ने ठाउँबाट कामको लागि आधा एक घण्टा टाढा जानुपर्दछ । तर अंग्रेजी भाषामा ड्राइभिङको टेस्ट दिनुपर्ने हुँदा अंग्रेजीमा दखल नभएका महिलाका लागि गाहारो भइरहेको छ । विस्तारै नयाँ पुस्ताका महिलाहरू सिक्दैछन् तापनि यसमा परनिर्भर हुनु हालसम्म ठुलै समस्याको रूपमा रहेको छ ।

बेबिज आर भेरी एक्सपेन्सिभ इन अमेरिका
बच्चा भएका महिलाहरूको झन् ठुलो समस्या छ । कतिपय अमेरिकी महिलाहरू पनि बिहा भएको लामो समयसम्म बच्चा जन्माएका हुँदैनन् र उनीहरूले भन्ने गरेको सुनिन्छ, बेबिज आर भेरी एक्सपेन्सिभ इन अमेरिका । १२ वर्ष कम उमेरका बच्चाहरूलाई घरमा एक्लै राख्न नपाउने कानुनी व्यवस्था भएको मुलुकमा सबै समय बच्चाको स्याहारमा दिनुपर्ने हुँदा काम गरेर आर्थिक संकलन गर्न नपाउँदा समस्या देखिन्छ । कतै पार्टटाइम रोजगारी पाइहाले पनि कमाइको अवस्था कमजोर नै हुन्छ, खर्चमै सीमित हुने र बचत नहुने हुन्छ ।

यहाँ आएर बच्चा जन्माउने नेपाली महिलाहरूको परिवारमा पनि यिनै समस्या हुन् । किनभने यो भूमि काम र कामको लािग नै हो भन्ने सबैको दिमागमा रहेको हुन्छ । हुन पनि लगातार दश–बारह वर्ष काम गरेर आफू सक्दो राज्यलाई कर बुझाउँदै आएको व्यक्ति आफनो जीवनको उत्तरार्धतिर ६५ वर्षपछि सामाजिक सुरक्षा भत्ता उनको कामको ट्याक्सको आधारमा कम–बेसी पाउने गरेका हुन्छन् । यस्तै भत्तालाई नेपालीमा वृद्ध भत्ता भन्ने गरिन्छ ।

नयाँ ठाउँमा नयाँ जीवन सुरु गर्न सबैतिर चुनौती त भइ नै रहन्छ जसलाई यहाँ पनि नेपाली महिलाहरूले सामना गरिरहेका छन् र गर्नैपर्छ । तर कानुनी राज्य र क्षमताको कदर गर्ने देश हुनाले मानसिक द्वन्द्वबाहेक अन्य समस्या सजिलै समाधान हुन्छन् यहाँ । शिक्षाको कमी, ज्ञानको कमी, सीप र दक्षताको कमी, चेतनाको न्यूनताले पनि हामीलाई समस्याबाट मुक्ति पाउन गाहारो भइरहेको हुन्छ । नत्र यहाँ मानिस भोकै र औषधोपचारको अभावको कारणले मर्नु पर्दैन । सुरुमा यो देशमा प्रवेश गर्दा काम नपाएको अवस्थामा राज्यले खानपान र बसोबासका लागि केही मात्रामा रकम दिने गर्दछ जसलाई फुड स्टाम्प भनिन्छ जुन परिवारको संख्याको हिसाबले प्रतिव्यक्तिलाई दिने गरिन्छ ।

मेडिकेड (Medicaid) र मेडिकेयर (Medicare) ले निःशुल्क औषधि उपचार गरिदिन्छन् । सरकारी स्कुलमा १२ कक्षासम्म निःशुल्क पढाइको व्यवस्था छ । सरकारी एवं गैरसरकारी संस्थाहरूले निःशुल्क शैक्षिक तालिम र क्लासहरू दिन्छन् जुन अवसरको फाइदा लिने हो भने कामका लागि सहज हुन्छ । यो अवसरको फाइदा नेपाली महिलाहरूले पनि लिइरहेका छन् ।

नेपाली आप्रवासी महिलाहरूका लागि पनि विभिन्न संघ–संस्थाले विविध विषयमा जानकारी सम्पन्न र दक्ष बनाउने उद्देश्यले काम गरिरहेका छन् । न्युयोर्कमा नेपालीहरूले नै चलाएको अधिकार नामको गैरसरकारी संस्थाले थुप्रै नेपाली महिलाका लागि अंग्रेजी भाषा कक्षा, कानुनसम्बन्धी ज्ञान र विभिन्न तालिम दिँदै आएको छ ।

वास्तवमा अमेरिकामा नेपाली महिलाहरूको आगमनको इतिहास त्यति पुरानो छैन । सन् ९० को दशकको आसपासमा सुरु भएको डिभी चिठ्ठा प्रणालीले अमेरिका आगमनको अवसर बढेको देखिन्छ । अन्यथा केही उच्च घरानिया वर्ग, दरबारिया र त्यसैको सेरोफेरोका पहुँचवालाहरूका लागि मात्र थियो अमेरिका आगमन । साथै, थोरै छात्रवृत्तिमा अध्ययनका लागि आउने विद्यार्थीहरूका लागि । तसर्थ म दावाका साथ भन्न सक्छु, अमेरिकामा ठुलो संख्यामा आउने हाम्रो पुस्ताका महिलाहरू नै पहिलो पुस्ता हुन् जसले नेपाल बस्दा निकै राम्रो र स्तरीय जीवन यापन गरे पनि यहाँ आएपछि कामको सिलसिलामा सानोभन्दा सानो पनि काम गर्नुपर्यो र शून्यबाट सुरुआत गर्नुपर्यो ।

अमेरिकाभित्र सिंगो संसार छ
अन्तमा, अमेरिका यसै पनि आप्रवासीहरूको देश हो जसले विभिन्न कालखण्डमा विभिन्न देशबाट आई यहाँ बसोबास गर्दै यही देशको उन्नति–प्रगतिका साथै आफनो भविष्य सुधार गरेका छन् । प्रत्येक सफल अमेरिकीहरू एक दिन अहिलेका हामी नेपाली जस्तै संघर्ष गरेर आई सफल भएका हुन् । त्यसैले अमेरिकाभित्र सिंगो संसार छ ।

यहाँ सबै देश छन्, सबै धर्म र संस्कृति छ । बेलाबेलामा एकजुट भई ती संस्कृति र धार्मिक चाडपर्व मनाउने गरिएको यहाँ देख्न पाइन्छ र हामीले पनि गर्दै आइरहेका छौं । यसरी नै नेपाली महिलाहरू पनि चुनौतीहरूको सामना गर्दै अघि बढ्दैछन् । चुनौती अवश्य छन् तर सामना गर्न सकिन्छ । किनभने यो देश अवसरहरूको देश हो, कानुनी राज्य र क्षमताको कदर गर्ने देश हो ।

  शुक्रबार, असोज २७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*