अर्घाखाँचीतर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्दा ६ को मृत्यु, २१ घाइते

 संवाददाता । काठमाडौं, १३ मंसिर ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटार फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ घाइते भएका छन् ।

मत्यु हुनेहरूमा चारजना पुरुष र दुई महिला छन् । घाइतेको संख्या हालसम्मको भन्दा बढ्न सक्ने अनुमान छ । बसमा कतिजना सवार थिए भन्ने हालसम्म ज्ञात हुन सकेको छैन ।

चितवन प्रजिअ कार्यालयका अनुसार अनुसार घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडाँैं र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । काठमाडौँंबाट अर्घाखाँची जान आउँदै गरेको बस सडकबाट एक सय मि तल नदीमा पुगेको हो । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौंतर्फ पर्छ ।

बस काठमाडौंबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।

बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

बुधबार, मंसिर १३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*