पुस्तक–चर्चा
राजनीतिशास्त्रका प्राध्यापक एवम् कानुनविद् ठाकुरप्रसाद बरालको लेखन र धनकुटा साप्ताहिकको प्रकाशन (असोज २०७५) मा बजारमा आएको उपन्यास हो– अहल्या । जम्मा ९६ पृष्ठमा समेटिएकाले लघु उपन्यासको दर्जामा अटाउन मिल्ने स्तरमा रहेको यो कृतिले एकजना हिन्दू पौराणिक नारी पात्र अहल्या (वा अहिल्या) –जो गौतम ऋषिकी पत्नी हुन्– लाई आफ्नो मुखपात्रका रूपमा अगाडि सारेको देखिन्छ तर पुस्तक पढ्दै जाँदा त्यस्तो भेटिँदैन । शीर्षकअनुसार उपन्यासकी मूलपात्र प्रतीत भए पनि अहल्याबारे पुस्तकमा सविस्तार उल्लेख छैन, न त उनलाई कुनै महत्वपूर्ण पात्र अथवा दीर्घप्रभावी चरित्रकै रूपमा चित्रण गरिएको छ, र न यो उपन्यास अहल्याको जीवनकथा नै हो ।
स्पष्ट उल्लेख नभए पनि उपन्यास मूलतः दुई भागमा विभाजित जस्तो प्रतीन हुन्छ । पहिलो खण्डमा गौतम ऋषि, अहल्या, सृष्टिकर्ता ब्रह्मा, देवराज इन्द्र, दासी मंगली, उर्वशीसमेतका अप्सराहरू, इन्द्रलोककी महारानी इन्द्रपत्नी सची आदि अनेक पात्र छन् । त्यसै गरी दोस्रो भागमा स्यवम् सृष्टिकर्ता ब्रह्मा, नेपाल्नी आमै र उनका चार भाइ छोरा जसमा प्रमुख माइला पण्डित र लामाघरे पण्डित अनि उनीहरूका छोराछोरी एवम् नातिनातिनाहरू देखिन्छन् ।
– जयदेव गौतम
परम्परागत सनातनी मिथकमा उल्लेख भएका पञ्चकन्या (अहल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी) मध्येकी एक अहल्यामाथि कुदृष्टि गाड्दै आएका, देउताहरूका राजा, इन्द्रले झुक्याएर उनको यौनशोषण गर्छन् । यो थाहा पाएपछि उनी आफ्नै पति महर्षि गौतमबाट शारीरिक हिंसाको सिकार बन्छिन्, परित्यक्ता नै हुन्छिन् र एक्लै तपस्विनीको जीवन बिताउन बाध्य हुन्छिन् । उता रिसको आवेगमा गौतमले इन्द्रलाई रुखमा बाँधेर उनको अण्डकोष नै काटेर मिल्क्याइदिन्छन् । पछि उनी पनि कठोर तपस्या गर्न हिमालयतिर लाग्छन् । कालान्तरमा भगवान रामले उनीहरूलाई पुनः मिलाइदिन्छन् ।
उपन्यासले देवराज इन्द्रलाई सनकी, क्रोधी एवम् यौनउन्मादीका रूपमा चित्रण गरेको छ । आफ्नो सत्ता खोसिन्छ कि भनी उनी हरहमेसा सशंकित रहन्छन् र यही क्रममा गौतमको तपस्याबाट भयभीत बनेर उनको तपस्या भंग गर्ने अनेकविधि असफल तुच्छ प्रयास गरिरहन्छन् । यस्तो आक्रोश उनी एकपटक आफ्नै दासी मंगलीमाथि पोख्छन् । मंगलीलाई उठाएर रछ्यानमा फालीदिन्छन् जसबाट ऊ चोटग्रस्त हुनपुग्छे । तर पछि राति मदिराको नशामा लठ्ठ भएका इन्द्र अरू कोही अप्सरा नभेटेपछि उही ‘ऐया’ गर्दै सुतिरहेकी मंगलीको ढोका खोल्न पुग्छन् र उसको इच्छाविरुद्ध रात ऊसँगै ओछ्यानमा बिताउँछन् ।
उपन्यासमा नेपाल्नी आमै र उनका चार भाइ छोराको प्रसङ्ग प्रतीकात्मक मान्नुपर्दछ । ती चार भाइ एकआपसमा कहिल्यै मिलेर बस्दैनन् । वास्तवमा यो प्रसङ्गबाट उपन्यासकारले नेपालमा रहेको कलह, अर्कोलाई अप्ठ्यारो पर्दा खुसी हुने र एकआपसमा मिलेर बस्न नसक्ने नेपालवासीहरूको चित्रण गरेका हुन् । पौराणिकताका नाममा आधुनिक जीवनशैली पनि उधिनिएको यहाँ पाउन सकिन्छ । उपन्यासमा नेपाल्नी आमैको प्रसङ्ग सुरु भएपछि अहल्याको प्रसङ्ग हराउँछ ।
उपन्यासकार बेलाबखत पुस्तकमा जीवन, धर्म र आध्यात्मिकताबारे घोत्लिएका छन् । यसो गर्दा उनी धर्मको नाममा हुने देखिने आडम्बरका घोर विरोधी प्रतीत हुन्छन् । गौतम र अहल्या अथवा सृष्टिकर्ता ब्रह्माको मुखबाट उनले धर्म, दर्शन र जीवनबारे बोलेका छन् । सन्दर्भवश उपन्यासकार लेख्छन्, ‘धर्म दीन, दुःखी र आर्तहरूको सेवा हो । मन्दिरमा रहेका मूर्ति र प्रकृतिका ढुंगा माटो, आगो पूज्दैमा धर्म हुँदैन, न मस्जिद, चर्च र चैत्यहरूमा शीर निहु¥याउँदैमा धर्म हुन्छ । यी सबै त सबै धर्मका आडम्बर हुन् ।… धर्म मोक्ष प्राप्तिको निर्देशक सिद्धान्त मात्र हो । वास्तविक मोक्ष त धर्म, अर्थ र कामको निवृत्तिबाट मात्र प्राप्ति हुन्छ । यति सेवा गरे यति सम्पत्ति आर्जन गरेर यतिसम्म कामक्रीडामा लागे भन्ने र त्यसबाट पाएको सुखको गणनाको अन्त्य र पुनः ती कुराको चाहना नहुनु, निराकार, निर्गुण र निष्काम भाव सिर्जित हुनु मोक्ष हो र मोक्ष मानव जीवन प्राप्तिबाटै मात्र सम्भव छ ।’
अहल्या र गौतमको सम्बन्ध बिग्रिएको र अर्की छोरी शान्तिले ब्रह्माको कुटी छाडेर बेपत्ता भएकाले विक्षिप्त भएका ब्रहमा भारतवर्ष, नेपाल्नी आमैको बस्ती रहेको क्षेत्र, पाताल, अफ्रिका, युरोप, चीन आदि सबैतिर भौंतारिन्छन् । तर कतै पनि शान्तिलाई फेला पार्न सक्दैनन् । यही सन्दर्भमा पाठकहरूले निष्कर्ष निकाल्न सक्छन्– ब्रह्माले सृष्टि गरेको मानव समुदायमै कतै केही त्रुटि छ र खासगरी हिन्दू धर्ममा चार वर्णको व्यवस्थामार्फत उनले नै जातीय भेदभावको सूत्रपात गरेका हुन् । संसारमा जति पनि धर्म छन्, ती आफैँमा कुनै पनि पूर्ण छैनन् ।
उपन्यासको अन्त्यतिर लेखकको विचार यसरी अगाडि आएको छ, ‘धर्म अफिम हो । यसको पछि लागियो भने चौपट्ट मातिन्छ । नशा लाग्छ, यता नलाग, ईश्वर नै मरिसक्यो’ भन्ने जीवहरूको सृष्टि गरेर बेपत्ता भएका ब्रह्मा अहिलेसम्म देखिएनन् । स्वयम् सृष्टिकर्ता ब्रह्मा बेपत्ता भएपछि पृथ्वीमा उनकी छोरी शान्ति त झन् कतै देखिने नै भइनन् ।’
उपन्यास भनिए पनि पढ्दै जाँदा ‘औपन्यासिकता’ को व्यापक अस्पस्र्यता सर्वत्र अनुभूत हुने यस कृतिमा भाषासमेत सम्पूर्ण सम्पादन पक्षतिर ध्यान जान सकेको भए यो बढी पठनीय हुनसक्थ्यो । जस्तो– पहिलो अध्याय (पृष्ठ ७) मा नाम उल्लेख नगरीकन एउटै पात्रलाई एक ठाउँमा ‘युवक’ भनिएको छ, अर्को ठाउँमा ‘बालक’ त झन् अर्को ठाउँमा ‘किशोर’ ! पुस्तकको अक्षर (फन्ट) पनि सम्पूर्ण रूपले पाठकमैत्री छैन, फन्टसाइज अलि ठुलो भइदिएको भए पाठकलाई पढ्न सहज हुनसक्थ्यो । अँ, उपन्यासकारले पात्रहरू पौराणिक भए पनि उनीहरूले रमण गर्ने स्थल वा उनीहरूको आश्रयस्थल (ब्रह्मा वा गौतम ऋषिका कुटी, इन्द्रको दरबार मिक्लाजुङ, उनीहरूको तपस्यास्थल) पूर्वी नेपालको धनकुटा जिल्लाकै सेरोफेरो क्षेत्रलाई चित्रित गरेको पक्ष रोचक महसुस हुन्छ ।
आइतबार, जेठ ५, २०७६ मा प्रकाशित
Leave a Reply