आङछिरिङ शेर्पाः सपना पछ्याउँदै हिँड्ने एक सफल व्यवसायी

ओबिच्युरी…..

पर्यटन उद्योगमा ३० अर्बभन्दा बढी लगानी गरेका तिनै आङछिरिङ शेर्पाको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। सोलुखुम्बुको पाङ्गोम (पासाङ ल्हामु गाउँपालिका-१) मा सन् १९६४ अक्टोबर ४ मा जन्मिएका उनले ५५ वर्षको उमेरमा निधन हुनुभन्दा अघि ट्रेकिङ, वायुसेवा, ट्राभल, होटल क्षेत्रमा आफ्नो बलियो साम्राज्य खडा गरेका छन्। हिमाल, पहाड र तराई तीनै भेगमा उनको लगाीन पुगेको छ।

त्यतिबेला सोलुखुम्बको पाङ्गोममा शिक्षाको उज्यालो थिएन।

सदरमुकाम सल्लेरीभन्दा दूरदराजको यो गाउँका युवा काम खोज्न लुक्ला र नाम्चे पुग्थे। शेर्पा युवाबीच नाम्चे पुगेर विदेशी पर्यटकको ‘पोर्टर’ बन्ने होडबाजी चल्थ्यो। यो सन् १९७० को उपत्तरार्धको कुरा हो। आङछिरिङ शेर्पा त्यही पाङ्गोममा जन्मिए, हुर्किए। ट्रेकिङ एक्स्पेडिसनमा ‘किचेन ब्वाई’ भए। पर्यटकको भारी बोके।

फरक यो भयो, संघर्षको गह्रौं भारीले उनलाई थिच्न सकेन। झन् संघर्षशील बनायो, स्वप्नदर्शीमा रुपान्तरण गर्यो। उनी फैलिन चाहन्थे। सपना पछ्याउँदै काठमाडौं आए। जहाँबाट उनको जीवनको अर्को अध्याय सुरु भयो।

उच्च शिक्षा हासिल नगरेको एउटा शेर्पा युवाका लागि सन् १९८० को दशकको काठमाडौं संघर्षको दोस्रो मैदान थियो। आङछिरिङले जमल कार्यालय भएको आफ्नै दिदी आइडालीको कम्पनी शेर्पा सोसाइटीमा पथ प्रदर्शकको काम गरे। केही समय त्यहाँ बिताए। अनि दाजुभाउजू (लाक्पा सोनाम र पासाङल्यहामु शेर्पा) ले खडा गरेको कम्पनी थाम्सेर्कु सरे।

यो उनको व्यवसायिक यात्राको सबैभन्दा महत्वपूर्ण निर्णय थियो।

यति एयरलाइन्स, तारा एयर, हिमालय एयरलाइन्स, नाम्चे यति माउन्टेन रिसोर्ट (चेन), कसरा रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गल्फ कोर्सदेखि निर्माणाधीन पाँचतारे होटल मेची क्राउनसम्मको उनको यात्रा यही थाम्सेर्कुबाट सुरु हुन्छ। पछि उनले केर एन्ड ड्वेनी नेपाल, कोरा टुर, यति एड्भेन्चर, यति होलिडेजसहितका कम्पनीमा लगानी गरे। हो, थाम्सेर्कु उनको व्यवसायिक यात्राको आधार शिविर रह्यो तर त्यहाँ उनी एक्लै थिएनन्। जेठा दाजु लाक्पा सोनाम, कान्छो भाई आङटेण्डीको परिवारसँगै उनी थाम्सेर्कुमा जोडिएका थिए। यो अहिले नेपालकै अग्रणी ट्रेकिङ एजेन्सी हो जोसँग १५ भन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीले सहकार्य गर्छन्।

विपतले पछ्याइरहने शेर्पा परिवार

आङछिरिङले आफ्नो नेतृत्वमा सन् १९९८ यति एयरलाइन्स स्थापना गरे। त्यतिबेला नेपालका दुर्गम र सुगम दुवै क्षेत्रमा उडान गर्ने यो एक मात्र वायु सेवा थियो। विमान कम्पनीले आङछिरिङको व्यापारिक पहिचान अझ फैलायो। उनले पछि दुर्गमका लागि भनेर छुट्टै तारा एयर स्थापना गरे। जोसँग अहिले ६ वटा विमान छन्। यति र ताराको विमान गाभ्दा आन्तरिक तर्फ यति समूहको उपस्थिति अझ सशक्त बन्छ। हाल यतीसँग ३ एटिआर र ६ जेट स्ट्रिमगरी ९ वटा विमान छन्। दुवै कम्पनी गाभिँदा कूल १५ विमान हुन्छन्। ४ एटिआर खरिद प्रक्रियामा छन्, ती आइसक्दा यति समूहसँग १९ विमान पुग्नेछन्। त्यसपछि आन्तरिक उडानतर्फको यो नै सबैभन्दा ठूलाे समूह बन्नेछ।

उनकै लगानीको यती वर्ल्ड कम्पनीले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्समा ५१ प्रतिशत सेयर हिस्सा राख्छ। चार वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको हिमालयसँग एयरबस ए-३२० सिरिजका तीन वटा विमान छन्।

तर शेर्पा परिवारलाई जसरी सफलताले पछ्यायो त्यसैगरी विपतले कहिल्यै छोडेन। जेठादाजु सोनामकी जेठी पत्नी पासाङल्यहामुुको सन् १९९३, अप्रिलमा सगरमाथा आरोहणबाट फर्किने क्रममा निधन भयो। उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। कान्छोभाई आङटेण्डी पनि हवाइ दुर्घटनामै परेर बिते। सन् २०१३ मा जेठा दाजु सोनाम र उनकी कान्छी पत्नी पनि लुक्लामा हेलिकोप्टर दुर्घटनामै परे। उनीहरुको सकुशल उद्दार भयो।

कस्तो संयोग! कान्छोभाई (आङटेण्डी) र माइलोभाई (आङछिरिङ) दुवैको मृत्युको कारक एउटै थियो- हेलिकोप्टर दुर्घटना।

उच्च व्यवसायिक उचाई हासिल गर्ने पहिलो  शेर्पा 

शेर्पा समुदायबाट यो स्तरको व्यवसायिक उचाई हासिल गर्ने आङछिरिङ शेर्पा संभवतः पहिलो व्यक्ति हुन्।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा उनको निधन भएसँगै पर्यटन र नागरिक उड्डयन व्यवसायी स्तब्ध छन्।

उनको मृत्युसँगै काठमाडौंका उद्योगी, व्यवसायीबीच बिहीबार एउटा फरक विषय चर्चामा रह्यो– आङछिरिङको लगानी कति छ?

होटल एसोसिएसन नेपाल (हान) का महासचिव तथा उनका लगानी साझेदार विनय शाह भन्छन्, ‘आङछिरिङको लगानी धेरैतिर छ। सानातिना होटल, रेष्टुराँदेखि तारे होटलसम्म।’

नेपालको वायुसेवा क्षेत्रका उनी पहिलो छिमलका व्यवसायी हुन्। आन्तरिक उडान गर्ने यती एयरलाइन्स र तारा एयर तथा अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्समा उनको लगानी छ।

सन् १९९८ मा सञ्चालनमा आएको यती एयरलाइन्स नै आङछिरिङले व्यवसायिक नेतृत्व गरेको पहिलो सबैभन्दा ठूलो कम्पनी हो। सञ्चालनको २१ वर्षपछि यो नेपालको अग्रणी हवाई सेवाप्रदायक बनेको छ।

लगानी कति छ भनेर यकिन गर्न गाह्रो हुने विनय शाह बताउँछन्, ‘उनको लगानी यति नै ठाउँमा छ भनेर भन्न गाह्रो छ। ५० अर्बभन्दा कम छैन।

’५५ वर्षको छोटो अवधिमा हाँसिल गरेको व्यवसायिक साम्राज्य

काठमाडौंको लैनचौरमा बनिरहेको चार तारे होटल ‘ला शेर्पा’ दुई अर्ब लगानीमा निर्माणाधीन छ। १ सय २० वटा कोठा रहने भनिएको सो होटलमा आङछिरिङ समूहको लगानी रहेको छ। यद्यपी आङछिरिङको पारिवारिक स्रोतले बताएअनुसार लैनचौरममा होटल सञ्चालन नगरी अब त्यो भवन एनसेललाई भाडामा दिने तयारी भएको छ।

निजीकरणपछि गोकर्ण गल्फ रिसोर्टको सञ्चालन उनकै कम्पनीले गरिरहेको छ। त्यो पाँच तारे मान्यताको रिसोर्ट हो। होटलदेखि हवाई व्यवसाय व्यवस्थापनमा उनले दुई छोराहरुलाई पनि संलग्न गराएका छन्। छोराहरु पासाङ र नुर्वुले पाइलट अध्ययन गरे पनि व्यवसायिक नेतृत्व दिएर काम गरिरहेका छन्।

नाम्चे यति माउन्टेन रिसोर्ट (चेन), भरतपुरस्थित कसरा रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गल्फ कोर्सदेखि निर्माणाधीन पाँचतारे होटल मेची क्राउनसम्म उनको लगानी छ। केर एन्ड ड्वेनी नेपाल, कोरा टुर, यति एड्भेन्चर, यति होलिडेजमा उनको लगानी रहेको छ। यो बाहेक तनहूँ, पोखरा, अन्नपूर्ण सर्किटका होटलहरुमा उनको लगाीन छ।

५५ वर्षको छोटो अवधिमा उनले हाँसिल गरेको यो व्यवसायिक साम्राज्य व्यवस्थापनमा उनका आफ्दै दाजु, छोराहरु संलग्न छन्। शेर्पा परिवारलाई नजिकबाट चिन्ने कतिपयको बुझाइमा यो बैभव आर्जन पछाडि दाजुभाइबीचको मेलमिलाप मुख्य कारण हो।

‘शेर्पाका दाजुभाइबीच जुन किसिमको सौहार्दपूर्ण साझेदारी छ। त्यसले पनि व्यवसायिक उचाइ हासिल गर्न सहयोग गरेको जस्तो लाग्छ’, बरिष्ठ पर्यटन व्यवसायी तथा शेर्पाका साझेदार आरपी पन्त भन्छन्, ‘आफ्ना दाजुभाइसँग उनको सम्बन्ध राम र लक्ष्मणको जस्तो थियो।’

यो क्षेत्रका व्यवसायीहरु उनलाई आफ्नो अभिभावकजस्तो ठान्थे विशेषगरी राजनीतिक समाधान खोज्नका लागि।

‘व्यवसायीलाई परेको समस्या सरकारसँग लगेर समाधान खोज्न उहाँ सधैँ तत्पर देखिनुहन्थ्यो’, ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष चन्द्र रिजाल भन्छन्, ‘व्यवसयाीलाई उनको एउटै भनाइ हुन्थ्यो पहाड र हिमालका जनतालाई सेवा दिनु व्यवसायीको धर्म हो।’

हिमाली जिल्ला सोलुको पासाङ ल्हामु गाउँपालिकामा सन् १९६४ अक्टोबर ४ मा जन्मिएका उनको प्रारम्भिक लगानी हिमाली पर्यटनमै केन्द्रित रहेको देखिन्छ।

उनका धेरै साझेदारहरुसँग कुराकानी गर्दा पनि उनको लगानी कहाँ कहाँ छ र कति छ भन्ने खुल्दैन। उनीहरु भन्छन्, ‘त्यो बताउन सकिने स्थिति नै छैन।’

साथीहरुबीच अत्यन्तै फरासिला तर व्यवसाय र नाफामा अति चतुर

साथीहरुबीच अत्यन्तै फरासिला तर आफ्नो व्यवसाय र नाफामा अति चतुर मानिने आङछिरिङ शेर्पाको निधनमा मुलुकले एउटा अत्यन्त सफल र महत्वाकांक्षी पर्यटन तथा होटल व्यवसायी गुमाएको छ।

बुधबार पाथीभरा (ताप्लेजुङ) तीर्थ नजिकै भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका ५८ वर्षीय शेर्पाले हिमाली क्षेत्रमा ‘पोर्टर’ र पछि विदेशमा होटलमा ‘ब्वाय’का रुपमा काम गरेको तर आफ्नै अठोटकासाथ पयर्टन व्यवसायमा घुसेर त्यसलाई सफल बनाए र आफैँ सफल उद्यमीका रुपमा स्थापित भए।

थामसेर्कु ट्रेकिङ हुँदै यती एयरलाइन्स, तारा एयर, हिमालयन एअरलाइन्सको स्थापना र ती सबैलाई सफल उद्योगका रुपमा स्थापना गर्नु उनको सफलता र महत्वाकांक्षाको मिश्रित प्रतिफल थियो। पछिल्लो समयमा उनी होटल व्यवसायमा लागिपरेका थिए, एभरेस्ट बेसक्याम्पमा होटलदेखि ‘गोकर्ण रिसोर्ट’को मालिकसम्म बनेर।

सत्तासँग नजिक हुने तर नजिक नदेखिने अनौठो कलाका धनी थिए उनी। शक्तिको रसायन र चरित्र बुझ्नेहरु भन्ने गर्थे, ‘संस्कृति र पर्यटन मन्त्रालय त आङछिरिङ नै चलाउँछन्।’ नियती पनि कस्तो, उनीसँगै संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भयो, शेर्पा आफैँ अध्यक्ष रहेको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा।

हेलिकप्टरमा एक जना पाइलट र ६ जना यात्रु भरिनु र खराब मौसममा पनि उड्नुले कताकता मन्त्री र विमानका मालिकलाई काठमाडौं पुग्न हतार हुँदा उनीहरु दबाबमा त थिएनन् भन्ने अड्कलबाजी सरकारी वृत्तमा समेत सुनिएको छ। आफ्नो हिसाब र नियममा अरुलाई चलाउन सक्ने खुबी थियो शेर्पामा।

ब्यवसायिक र व्यापारिक सफलतासँगै शेर्पा परिवारले ‘पारिवारिक ट्रेजेडी’ धेरै झेलेको छ, त्यसलाई पछाडि छोड्दै अघि बढेको छ।

वास्तवमा थामसेर्कुदेखि यती एअरलाइन्ससम्मको व्यापारको दिमागी खाका कोर्ने व्यक्ति हुन्, आङछिरिङ शेर्पाका ठूल्दाइ सोनाम शेर्पा। उनले हिमाल आरोहणका क्रममा आफ्नी पत्नी पासाङ ल्हामु शेर्पा गुमाए तर उनको बहादुरीलाई सरकारद्वारा मान्यता दिलाउन सफल भयो शेर्पा परिवार। पासाङ ल्हामु शेर्पा राष्ट्रिय विभूति बनिन्, सीता र भृकुटीपछिको तेस्रो महिला। त्यसले पारिवारिक व्यापारलाई पनि सहयोग पुर्‍यायो।

आङछिरिङको प्रधानमन्त्री केपी ओलीसँग अत्यन्त घरायसी र नजदिकी सम्बन्ध रहेको सत्ता र व्यवसायिक वृत्तमा खुला जानकारीको विषय हो। २०७२ वैशाखको भूकम्पमा नेकपा एमालेको बल्खुस्थित पार्टी कार्यालय धराशयी भएपछि उनले आफ्नो ‘माउन्टेनियरिङ’ संस्थाको कार्यालयको चाबी ओलीलाई सुम्पे। अत्यन्त राजनीतिज्ञ र व्यावशायीक घरानाभित्रको यो सम्बन्धले शायद आलोचनात्मक प्रतिक्रिया जन्माउँथ्यो तर नेपालमा त्यो ‘विवाद’को विषय नै बनेन। त्यो सम्पति अहिले पनि नेपाल कम्युनिष्ट पार्टीकै नियन्त्रणमा छ।

ओलीराजमा पूर्वराज परिवारको सम्पत्ति अधिग्रहणपछि गठित नेपाल ट्रष्टका केही महत्वूर्ण सम्पत्ति आङछिरिङ आबद्ध संस्थाहरुले अपारदर्शी तरिकाले पाउनुमा यो सम्बन्ध निर्णायक रहेको बताउनेहरु कम छैनन्। सरकारको मौनताले विवाद बढाउन सहयोग पुर्‍याएको छ।

दुर्घटनाको भोलिपल्ट अर्थात विहीबार बिहान शोक सन्तप्त परिवारलाई समवेदना दिन पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारस्थित आङछिरिङ शेर्पाको निवासको बैठक कोठाको एउटा सोफातिर औल्याउँदै भने– ऊ त्यहीँ बसेर मैले र ओलीजीले पार्टी एकिकरणको निर्णय लिएका थियौँ।

तर, आङछिरिङले पर्दाभित्र लुकेको आफ्नो राजनीतिक पक्ष र त्योसँग जोडिएको स्वार्थलाई कहिल्यै बाहिर ल्याएनन्।

त्यती हुँदाहुँदै पनि आङछिरिङको व्यापार व्यवधानरहित थिएन। यती एअरलाइन्सका जहाजहरु बढी दुर्घटनामा पर्ने भएकाले संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय एजेन्सीहरुले त्यसको बहिस्कार गरेका थिए।त्यसका लागि आवश्यक ‘लविङ’ देहव्यापारविरुद्ध लागेको माइती नेपाललाई यतीका बिक्री भएका हरेक टिकटका हिसाबले आर्थिक अनुदानसँग यती एअरलाइन्सलाई ‘स्टल’ र ‘ननस्टल’ श्रेणीमा विभाजित गरी सुरक्षास्तर उनले बढाए र अन्तर्राष्ट्रिय संस्थाहरुको बहिस्कार सम्पन्‍न गरे। गोकर्ण रिसोर्टमा ‘गल्फ कोर्स’मा उनी नियमित खेलाडी मात्र थिएनन्, त्यो उनको बाह्य सम्पर्कको माध्यम पनि बन्यो।

आफूले हात हालेका र परम्परागतरुपमा उनी परिचित व्यवसायहरुको सफलतासँगै आङछिरिङले बिमालगायतका क्षेत्रमा पनि प्रवेश गरे। हिमालयन एअरलाइन्सलाई नेपालको विदेशसँग जोड्ने सञ्जालका रुपमा जोड्ने सपना पूरा हुन सकेन उनको जीवनकालमा, यद्यपि चीनको राजकृय भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीले नेपाल एअरलाइन्सको साटो त्यो विमान प्रयोग गरेर आङछिरिङलाई प्रोत्साहित गरे।

आङछिरिङको संघर्ष र व्यावसायिक यात्रा जीवनभर जारी रह्यो तर सम्भवतः सक्रिय जीवन बाँकी नै छ भन्ने उनको सोचलाई नियतीले ब्रेक लगाइदियो। नेपालको पर्यटन तथा होटल व्यवसायको एउटा चम्किलो नक्षत्र क्षतविक्षत् विमानसँगै विलायो। (स्रोत : विभिन्न वेबसाइटहरू)

शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*