‘आफूभित्रको संघर्ष महत्वपूर्ण हो’ : दुर्गा पौडेल, (प्रवक्ता– राष्ट्रिय जनमोर्चा)

 उनी राजनीति शास्त्रमा स्नातकोत्तर गरेर प्युठानको कम्युनिस्ट आन्दोलनको इतिहासबारे शोधपत्र तयार गर्दैछिन्

यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चा (राजमो) की नेता दुर्गा पौडेलको चर्चा राम्रैसँग शुरु भएको छ । दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा प्युठानको एक मात्र निर्वाचन क्षेत्रबाट राजमोकी दुर्गा पौडेलले साझा बाम उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र समेतको समर्थन र सहयोगमा साझा उम्मेदवारका रुपमा पौडेल प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । विघटित व्यवस्थापिका–संसदमा राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद तथा पार्टीको संसदीय पदको सचेतक समेत रहिसकेकी दुर्गाको राजनीतिक जीवन अहिलेको अवस्थामा आइपुग्नका लागि उनले लामो यात्रा पार गरिसकेकी छन् ।

सामान्य मध्यम वर्गीय किसान परिवारमा जन्मेकी दुर्गा पौडेल सानैदेखि वामपन्थी राजनीतितिर आकर्षित भएर विद्यार्थी संघ र महिला संघमा काम गर्न थालेकी हुन् । हाल उनी राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता पनि छन् ।

आप्mना बुबा नोकरीका लागि बर्मा जाँदा सँगै गएकी दुर्गा २०३८ सालमा दश वर्षको उमेरमा नेपाल फर्किइन् र कपिलवस्तुको श्रीनगरस्थित कनकमुनि माध्यमिक विद्यालयमा भर्ना भएर माध्यमिक तहको पढाइ पूरा गरिन् । तर विद्यालयको अनियमितताका विरुद्ध आन्दोलन गरेपछि उनलाई एसएलसीको फाराम भर्न दिइएन । यसबीचमा उनको विभिन्न राजनीतिक र संगठनात्मक गतिविधिमा संलग्नता बढेकाले धेरै समयसम्म उनको नियमित पढाइ छुट्यो । पछि उनले भारतको उत्तर प्रदेशबाट म्याट्रिक, आइए र बिएका परीक्षाहरू प्राइभेट रूपले दिइन् । हाल उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रको स्नातकोत्तर तहको परीक्षा उत्तीर्ण गरेर प्युठनको कम्युनिस्ट आन्दोलनको इतिहासबारे शोधपत्र तयार गर्दैछिन् ।

पारिवारिक वातावरण नै राजनीतिक भएको र दाजु शिवले सधैं राजनीतिमा लाग्न प्रेरणा दिएकाले आपूmलाई राजनीतिक गतिविधिमा सक्रिय हुन सधैँ सहयोग पुगेको दुर्गा बताउँछिन् । २०५७ वैशाखमा नेकपा (मसाल) का नेता मोहनविक्रम सिंहसँग विवाह भएपछि उनले आप्mना पतिबाटै थप प्रेरणा पाइन् । दुर्गा विद्यार्थी संगठन र महिला संघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् । २०४४ मा कपिलवस्तुमा गठन भएको जिल्ला विकास परिषद्को नेतृत्वमा सुरु भएको आन्दोलनमा लागेर उनी तीन महिना जेलमा परिन् । त्यही जेलमा २०१८ सालमा मोहनविक्रम सिंह गिरफ्तार भएर चार वर्षसम्म बस्दा उनले गरेका संघर्षहरूबारे त्यहाँका बन्दीहरूबाट जानकारी पाएपछि उनमा सिंहप्रतिको आकर्षण बढ्दै गयो, जुन पछि प्रेम र विवाहको कारण बन्न गयो ।

२०५१ सालमा तत्कालीन सरकारले कपिलवस्तु जिल्लाको निग्लिहवाको जर्लैया, तिलौराकोटको सग्रहवाको जङ्गलको १६० बिघा जमिन एकजना व्यक्तिका नाममा एग्रोफरेस्ट्रीका लागि भनी दर्ता गर्न गरेको बदनियतपूर्ण निर्णयले दुर्गालाई जनताका बीचमा काम गर्ने अनुभव र आत्मविश्वास जुटाइदियो । उनी उक्त दर्ता खारेजीका विरुद्ध गरिएको आन्दोलनकी अध्यक्ष थिइन् । चार वर्षसम्म चलेको उक्त आन्दोलनको परिणामस्वरूप सर्वोच्च अदालतले त्यो दर्ता खारेज गरिदियो ।

Janamorcha

२०४६ सालमा गोरखपुरमा भएको अखिल नेपाल महिला संघको दोस्रो सम्मेलनमा केन्द्रीय समितिमा चुनिएकी दुर्गा क्रमशः केन्द्रीय समितिको कोषाध्यक्ष, उपाध्यक्ष, कार्यवाहक अध्यक्ष र अध्यक्ष हुँदै १० वर्षसम्म महिला आन्दोलनमा सक्रिय भइन् । यस बीचमा गर्भावस्थाका कारण उनले अध्यक्ष पदबाट राजिनामा दिइन् र बालबच्चा हुर्केपछि राष्ट्रिय जनमोर्चामा नै सक्रिय भएर काम गर्न थालिन् ।

राजनीतिमा संलग्न धेरै महिलाहरूलाई परिवारबाटै असहयोग हुने गरेको देखिन्छ । तर माइती र परिवारबाट सक्रिय राजनीति गर्न दुर्गालाई सधैँ प्रेरणा र हौसला प्राप्त भयो । पञ्चायती कालको भूमिगत जीवन र पछि विभिन्न राजनीतिक संगठनात्मक गतिविधिहरूका सिलसिलामा पैदा हुने कठिनाइहरूलाई उनी स्वाभाविक मान्छिन् । “बरु त्यसले मलाई अझ परिपक्व र मजबुत हुन मद्दत पु¥यायो,” उनी भन्छिन् ।

पार्टीभित्र हुने अन्तरविरोध, संघर्ष वा कतिपय अवस्थामा हुने गरेका फुटहरूलाई दुर्गा आप्mनो राजनीतिक जीवनको सामान्य प्रक्रियाका रूपमा लिन्छिन् । “महिलाहरू राजनीतिमा सक्रिय हुँदा प्रारम्भमा विभिन्न टीका–टिप्पणी र आलोचनाहरू हुने गर्दथे, त्यसले म कहिल्यै हतोत्साहित भइनँ,” उनी भन्छिन् “आफूभित्रको संघर्ष महत्वपूर्ण पक्ष हो । हाम्रा दुईजना छोरा छन्, हाम्रो घर छैन, सधैँ आर्थिक समस्या छ । म कुनै कमाइ हुने वा सम्पत्ति जम्मा गर्ने व्यवसायमा लाग्न सक्दिन । घरको खर्च र छोराहरूको पढाइको खर्चको कारणले म चिन्तित भइरहन्छु । तैपनि म आफ्नो सिद्धान्त र उद्देश्यतिर सक्रिय भएर अगाडि बढ्ने प्रयत्न गरिरहेकी छु ।”

आफ्नो पार्टीभित्र विशेषगरी महिला, दलित, जनजाति आदिका विषयहरूलाई प्राथमिकता दिने गरेको र यस्ता विषयहरूलाई पार्टीभित्र कसैले पनि पूर्वाग्रही ढंगले लिने नगरेको दुर्गा बताउँछिन् । तर राजनीतिबाहेक दुर्गा कतिपय सामाजिक संस्थाहरूमा पनि सक्रिय छिन् । कम्युनिस्ट संग्रहालय नेपालको सचिवालय सदस्य, राष्ट्रिय पर्यावरण अभियानको सदस्य तथा ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति, प्युठानको अध्यक्ष पद उनले सम्हालेका जिम्मेवारी हुन् ।

Durga 2

आप्mनो पार्टीभित्र महिलाहरूलाई काम गर्न कुनै प्रतिकूल वातावरण नभए पनि संगठनमा महिला कार्यकर्ताहरूको संख्या अत्यन्त कम भएको दुर्गा बताउँछिन् । संगठनभित्रको भन्दा बाहिरको सामाजिक वातावरणले यस्तो स्थिति आइपरेको हो भन्ने उनको ठम्याइ छ । “पुँजीवादी उपभोक्तावादी सोचाइका कारण आम रूपमा महिलाहरूमा पनि व्यक्तिगत लाभ हुने काममा नै बढी लाग्ने प्रवृत्ति हुन्छ । कुन राजनीतिक संगठनमा लाग्दा व्यक्तिगत रूपमा बढी लाभ हुन्छ भन्ने सोच व्याप्त छ । त्यसले गर्दा हाम्रो पार्टीमा महिलाहरूको प्रवेश अत्यन्त कम हुने गरेको छ,” उनी भन्छिन् । यो अवस्थामा सुधार ल्याउन मानिसहरूले परिवारका महिला सदस्यलाई राजनीतिमा सक्रिय हुन प्रोत्साहित गर्नुपर्ने र स्वयं महिलाहरूले पनि यस विषयमा सक्रिय हुनुपर्ने उनको राय छ ।

विद्यार्थी कालमा महिलाहरूमा आपूm पनि पुरुष सरहका व्यक्ति हौँ भन्ने चेतना र क्षमताको विकास भयो भने त्यसले महिलाहरूलाई अग्रिम पंक्तिमा ल्याउनका लागि मद्दत पुग्छ भन्ने दुर्गाको विश्लेषण छ । त्यसैले युवा र विद्यार्थीहरूले महिलाहरूमा त्यही प्रकारको चेतना र क्षमताको विकासका लागि प्रयत्न गर्नुपर्ने उनी बताउँछिन् ।

नेपाली राजनीतिमा अधिकांश महिलाहरूले राजनीतिलाई निरन्तरता दिन नसक्नुका दुईवटा कारण प्रमुख भएको दुर्गाको ठम्याइ छ । पहिलो हो, परिवार र सामाजिक दबाब । दोसो हो, पुँजीवादी उपभोक्तावादी सोचाइ । “यी समस्याहरूको समाधानका लागि राजनीतिक पार्टी वा संगठनहरूले महिलाहरूको चेतना बढाउन विशेष ध्यान दिनुका साथै स्वयं महिलाहरूले पनि रुढीवादी सामाजिक चिन्तन र पुँजीवादी उपभोक्तावादी सोचाइबाट आफूलाई माथि उठाउने प्रयत्न गर्नुपर्दछ,” उनी भन्छिन् ।

शताब्दियौंदेखि पराधीन रहँदै आएका महिलाहरूको अवस्थामा सुधार ल्याउन योजनाबद्ध दीर्घकालीन कार्यक्रमको आवश्यकता रहेको औँल्याउँदै दुर्गा भन्छिन्, “त्यसका लागि तत्कालका लागि महिलाहरूलाई विभिन्न क्षेत्रहरूमा विशेष आरक्षणको व्यवस्था गर्नुपर्छ । तर दीर्घकालीन रूपमा महिलाहरूले कुनै आरक्षणको आधारमा नभई आफ्नै क्षमताका आधारमा नै पुरुष सरह समान अवसर प्राप्त गर्नुपर्दछ ।” त्यसका लागि प्रभावशाली सांस्कृतिक आन्दोलनको आवश्यकता रहेको कुरामा उनी जोड दिन्छिन् ।

बाल्यकालदेखि नै संघर्षपूर्ण राजनीतिमा होमिएकी दुर्गा आप्mनो शक्ति र क्षमताले भ्याएसम्म आफ्नो सिद्धान्त, आस्था र उद्देश्यअनुसार देश र जनताको सेवा गर्ने बताउँछिन् । यही बाटोमा अघि बढेकाले उनी अहिलेसम्मको राजनीतिक जीवनबाट सन्तुष्ट भएको बताउँछिन् । देशमा बेलाबखतमा उत्पन्न हुने प्राकृतिक र अन्य विपत्तिबाट प्रभावित हुने मानिसहरूको समस्याको दीर्घकालीन निराकरणका लागि राजनीतिक दलहरूले दलीय स्वार्थलाई त्यागेर एकजुट हुनुपर्ने कुरामा उनी जोड दिन्छिन् ।

प्रस्तुति : शान्ता भण्डारी

शनिबार, कार्तिक ११, २०७४ मा प्रकाशित

3 Comments on ‘आफूभित्रको संघर्ष महत्वपूर्ण हो’ : दुर्गा पौडेल, (प्रवक्ता– राष्ट्रिय जनमोर्चा)

  1. I wish you all the best efforts and commitments to have successful victory forthcoming election by showing your menifesto and propoganda in the society.
    Thanking you,
    Dr.Amrit Sapkota

  2. May fortune favour you to be the inspiring political leader to solve the constraints of women who are far from the darkness of prosperious inculcation which will be the symbol to open the closed eyes of people for the upliftment of country as well as Society to make it as a laboratory where human minds are created significantly.I humbly appreciate your political assumptions,perceptions ,aspirations and dreams.Go ahead to proceed a little further.
    Thanking you,
    Dr.Amrit Sapkota

Leave a Reply

Your email address will not be published.


*