इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !

 

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित तीन देशमध्ये दुई हुन्, इटाली र स्पेन । त्यसमध्ये इटालीमा पनि सबैभन्दा नराम्रोसँग यो भाइरसले कुनै एक सहरलाई बढी प्रभावित पारेको छ भने त्यो हो, बेरगामो । यसै सहरका मेयर जर्जियो गोरीले दाबी गरेका छन्, युरोपेली च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलका लागि एटलान्टाले भ्यालेन्सियाको आथित्य गरेको थियो र खेल मिलानको प्रसिद्ध सानसिरो मैदानमा भएको थियो । एटलान्टाको आफ्नै घरेलु मैदान पुनर्निर्माणबाट गुज्रिरहेको हुनाले उसले इन्टर र एसी मिलानको सानसिरोमा खेलेको थियो । फेब्रुअरी १९ मा भएको खेल हेर्न सानसिरोमा त्यस दिन ४४ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो । गोरी के मान्छन् भने कम्तीमा यही खेलका कारण उनको सहर सबैभन्दा प्रभावित रह्यो ।

इटालीमा सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित यसै सहरमा छन् । अहिलेसम्म त्यहाँ ६ हजार ७ सय २८ भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । त्यहाँ मृत्युदर पनि अत्यधिक रहेको छ । एटलान्टा बेरगामो सहरकै क्लब हो र उसले पहिलोपल्ट च्याम्पियन्स लिग खेलिरहेको हो । यसअघि इटालीको घरेलु फुटबलमा खासै सफल नरहेको यस क्लबले पछिल्ला केही वर्ष भने राम्रो खेलिरहेको छ र यसैक्रममा यसपल्ट च्याम्पियन्स लिगको क्‍वाटरफाइनल पनि पुगिसकेको छ ।

मेयर गोरीले भनेका छन्, ‘त्यो खेल मानवीय जैविक बमजस्तै रह्यो । त्यति बेला कसैले पनि अनुमानसमेत गर्न सकेन, यसको प्रभावित कति धेरै खराब हुन सक्छ भनेर । त्यतिबेला भाइरस त्यस रंगशालामा पुगिसकेको थियो भने ४० हजार यसबाट संक्रमित भएको हुनु पर्छ । यो खेल हेरेपछि दुवै टिमका समर्थक आ–आफ्नो सहर फर्के र एकले अर्कोलाई भाइरस सार्ने काम गरे ।’ त्यस खेलमा एटलान्टाले ४–१ को प्रभावशाली जित निकालेको थियो ।

भ्यालेन्सियाका समर्थकले कोरना भाइरस आफूसँग स्पेन लगे । भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानपछि इटाली सबैभन्दा बढी प्रभावित छ र चीनको तुलनामा यहाँ बढी मृत्यु पनि भएको छ । इटालीमा यो समाचार लेखिरहँदा ६ हजार ८ सय २० को मृत्यु भइसकेको छ भने स्पनेमा मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगिसकेको छ । बेरगामाको स्थानीय चिकित्सकले पनि मेयरको दाबीको समर्थन गर्दै त्यही खेलबाट भाइरसको संक्रमण बढेको मानेका छन् ।

ती चिकित्सकले ‘अफ द बल’लाई भनेका छन्, ‘हाम्रो सहरका सिनियर चिकित्सकहरू पनि के मान्छन् भने त्यस खेल वास्तवमै जैविक बम सावित भएको छ । त्यस खेलमा एटलान्टाको जितपछि क्लबका समर्थकले खुसीयाली मनाउँदै आफ्नो घर फर्केका थिए । त्यति बेला कसैले पनि यो भाइरसको संक्रमणले पुर्‍याउन सक्ने क्षतिबारे अनुमान गर्न सकेका थिएनन् । फेब्रुअरी १९ को त्यस खेलसम्म इटालीमा यस भाइरसबाट कसैको पनि मृत्यु भएको थिएन् ।’

त्यसको तीन सातापछि सात दिनको अन्तरमा बेरगामोमा मात्र ३ हजार ३३ को यो भाइरसको संक्रमणकै कारण मृत्यु भइसकेको छ । स्थानीय वैज्ञानिक पनि के निचोडमा पुगेका छन् भने खेलमा क्रममा धेरै भन्दा धेरै समर्थक कोरोना भाइरसको संक्रमणमा आए र तिनैले आफ्नो परिवारका वृद्धवृद्धामा यसलाई सारे । भाइरसकै कारण मृत्यु हुनेमध्ये बढी उमेरका धेरै छन् । एटलान्टाका गोलरक्षक मार्को स्पोर्टटेलो पनि भाइरसबाट संक्रमित भएपछि क्‍वारेन्टाइनमा छन् ।

त्यस दिन मिलानको खेलका भ्यालेन्सियाका एक तिहाइ खेलाडी र खेल पदाधिकारी पनि भाइरसबाट संक्रमित भएका छन् । यो खेलपछि मात्र इटालीमा दर्शकविहीन बन्द रंगशालामा खेल्नेक्रम सुरु भएको थियो र यो पनि लामो समय टिकेन । अहिले इटाली र स्पेनसँगै युरोपका सबै प्रमुख लिग स्थगित छन् र ती कहिले फेरि सुरु हुने हो टुंगो छैन । यही भाइरसको संक्रमणको डरले सन् २०२० को युरो पनि एक वर्ष पछाडि सार्ने निर्णय भइसकेको छ ।

(सबैभन्दा पहिले यो समाचार स्पेनी पत्रिका मार्का ले प्रकाशित गरेको हो । यसलाई पछि इंग्ल्यान्डको डेली मेल ले थप विस्तृत रूपमा छापेको छ । त्यसैको स्वतन्त्र अनुवाद ।) (कान्तिपुरबाट साभार)

बुधबार, चैत १२, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*