उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

काठमाडौं, २० कात्तिक ।

जापान सरकारको सहयोगमा काठमाडौं उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो ।

सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण हुन लागेको हो ।

खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले विसं २०७२ को भूकम्पले बढी क्षति गरेका ठाउँमा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए ।

“उपत्यकाको ठेचो, साँखु, माछापोखरी र झोरमा गत वर्ष नै केन्द्र स्थापना गरिसकेका थियौँ यस महिनाभित्र बाँकी छ स्थानमा केन्द्र राख्छौँ”, उनले भने ।

यस्तै जिपिएस केन्द्र उपत्यका बाहिर चितवन, कपिलवस्तु र स्याङ्जामा निर्माण भइसकेको र रुकुम, रोल्पा र गुल्मीमा यसैवर्ष निर्माण हुन लागेको विभागले जनाएको छ ।

एक्सेलोमिटर केन्द्रले ठूलाठूला भूकम्पको मापन गर्छ भने जिपिएस केन्द्रले साना र ठूला दुवै प्रकारका भूकम्प मापन गर्छ ।

नेपालमा विसं २०३६ मा फ्रान्सको डस संस्थाको सहयोगमा २१ स्थानमा भूकम्प मापन केन्द्र निर्माण भएका थिए ।

यस्तै त्रिभुवन विश्वविद्यालयको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न चार स्थान र अमेरिकन युएसजिएस संस्थाको सहयोगमा खानी विभागमा भूकम्प मापन केन्द्र स्थापना गरिएको छ । रासस

सोमबार, कात्तिक २०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*