एन्फालाई फिफाको ५ लाख डलर सहयोग घोषणा

लन्डन । विश्व फुटवलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उदेश्यले फिफाले एन्फालाई सो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोगको घोषणा गरेको छ । राहत कोषबाट आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई कूल १ सय ५० विलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने फिफाले जनाएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पहिलो चरणमा सर्वाधिक धेरै प्रभावित राष्ट्रलाई आर्थिक सहयोग प्रदान गरिने बताएका छन् । ‘यस महामारीले सम्पूर्ण फुटवल समुदायका लागि अभूतपूर्व चुनौती निम्त्याएको छ र विश्वको सर्वोच्च निकायको हैसियतमा त्यहाँ उपस्थित हुनु र गम्भीर समस्याको सामना गरिरहेकालाई समर्थन गर्नु फिफाको कर्तव्य हो, सुरुआतमा गम्भीर आर्थिक समस्यामा रहेका संघहरुलाई तत्काल वित्तीय सहायता प्रदान गर्नेछौँ।’–अध्यक्ष इन्फान्टिनोले भनेका छन् ।

कोरोनाको कारण आफ्ना सदस्य राष्ट्रमा घरेलु लिग र फुटवल गतिविधि ठप्प हुँदा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेका कारण आर्थिक सहायता प्रदान गर्न लागिएको फिफाले जनाएको छ । फिफाबाट आएको आर्थिक रकम सम्बन्धित संघले आफ्ना कर्मचारीको तलबमा खर्च गर्नु पर्नेछ ।

कोरोनाको कारण नेपाली बी र सी डिभिजन लिग स्थगित गरिएको छ । साथै महिला लिग समेत तत्काल नहुने भएको छ । त्यस्तै मोफसलका सम्पूर्ण प्रतियोगिता समेत तत्कालका लागि रोकिएका छन् । (एजेन्सी )

सोमबार, वैशाख १५, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*