कमला रोका : पहिलो महिला छापामारदेखि पहिलो प्रत्यक्ष निर्वाचित महिला सांसदसम्म

काठमाडौं, २२ मंसिर ।

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बनेकी छन् ।

कान्छो जिल्लाको रुपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले संघीय नेपालको नयाँ यात्रा शुरु गरेकी हुन् ।

माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा महिला छापामारको रुपमा युद्धमा सहभागी हुने थोरैमध्ये रोका एक हुन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक उम्मेदवारको रुपमा मैदानमा उत्रेकी थिइन् । रोकाले प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गरेकी हुन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्याँकअनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४३४ मत ल्याएकी छन् । त्यस निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । रोकासँगै प्रदेश क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्तीले विजय हासिल गरेका छन् ।

विसं २०४६ देखि नै राजनीतिमा लागेकी रोका कक्षा १० मा अध्ययन गर्दागर्दै भूमिगत भएकी थिइन् । उनले २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको संघर्षमा पूर्णकालीन भई भूमिगत राजनीति शुरु गरेकी थिइन् । छापामारको रुपमा उनी विभिन्न लडाइँमा अग्रभागमा रहेर लडेकी थिइन् ।

माओवादीका नेताहरुका अनुसार उनी माओवादीको पहिलो महिला छापामारसमेत थिइन् । रोका ‘महिला कमजोर हुँदैनन्, पुरुष जतिकै सक्षम छन्’ भन्ने मान्यता स्थापित गर्न सफल भएकी छन् ।

उनी २०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य भएकी थिइन् । विसं २०६१ सालमा माओवादीको केन्द्रीय सदस्यमा रुपमा निर्वाचित भएकी रोका हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत छन् ।

रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मेकी रोका लेखिकासमेत हुन् । कथा तथा निबन्धका साथै विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ समेत लेख्दै आएकी छन् ।

अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र ‘दी सारी सोल्जर’मा रहेका विभिन्न पात्रहरूमध्ये एक साहसी पात्रको रुपमा रोकालाई उल्लेख गरिएको छ । उक्त वृत्तचित्रमा साहसी महिलाको रुपमा नेकपा९एमाले०की नेत्री रामकुमारी झाँक्रीलाई समेत समेटिएको छ ।

युवा तथा खेलकुदमन्त्रीसमेत बनिसकेकी रोका प्रतिनिधिसभामा पूर्व रुकुमबाट निर्वाचित भएर नयाँ इतिहास रचना गरेको भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालको टिप्पणी छ ।

विजयी भएसँगै उनी माओवादी जनयुद्धकालको पहिलो महिला छापामारदेखि कान्छो जिल्लाको पहिलो प्रतिनिधिसभा सदस्यसमेत बनेकी छन् ।

kamala roka 1

उनी रुकुम पूर्वकी एकमात्र महिला उम्मेदवार भएर ५ जना पुरुष उम्मेदवारसँग प्रतिस्‍पर्धा गरेकी थिइन्। पूर्व रुकुम खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो। विसं २०३२ पुस १५ गते रुकुमको सिस्ने गाउँपालिका–२, प्वाँङमा जन्मेकी रोका माओवादीले सशस्त्र घोषणा गरेकै दिन आक्रमण भएको रुकुम आठविसकोट प्रहरी चौकी आक्रमणकी एउटी सदस्य थिइन्।

२०५३ माओवादीको रुकुम जिल्लाको पहिलो महिला सदस्य भएकी रोका २०५४ को असार महिनामा उनी केही समय दाङको जेलमा पनि बसेकी थिइन्। २०५५ मा महिला संगठनको जिल्ला अध्यक्ष हुँदै त्यसपछि जिल्ला बाहिर पनि विभिन्न पार्टीको जिम्मेवारीमा रहेर काम गरेकी थिइन्।

२०६० मा माओवादीको केन्द्रीय सदस्य भएकी उनी २०६२ को चुनवाङ बैठकपछि माओवादी जनसेनाको पाँचौँ डिभिजनको दीर्घस्मृति विग्रेडमा कमिसार बनेर गण्डक अभियानमा खटेकी थिइन्। २०६३ मा अन्तरिम विधायक र २०६४ को संविधानसभा निर्वाचनबाट समानुपातिक सूचीमार्फत सभासद् भएकी उनी युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेकी छन्।

उनी हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभाग इन्चार्ज छन्। प्रत्यक्षतर्फ उनी पहिलो पटक निर्वाचन लडेर विजयी बनेकी हुन्। उनी माओवादी नेता गणेशमान पुनकी श्रीमती हुन्। अघिल्लो चुनावमा गणेशमानले प्रत्यक्षको टिकट पाएर जित हासिल गरे पनि यसपटक श्रीमानले नपाएर श्रीमतीले टिकट पाएकी हुन्।

विजयपश्चात् छोटो प्रतिक्रिया दिँदै उनले चुनाव अभियानका क्रममा जनताले गरेको माग र आवश्यकता अनुसारको अवस्था हेरेर आपmूले प्रतिबद्धता जनाए अनुसारका विकास योजना पूरा गर्ने बताइन्। ‘मैले वाम गठबन्धनको तर्फबाट घोषणा पत्रमा लेखे अनुसारका प्रतिबद्धता क्रमशः कार्यान्वयनमा लैजाने र जिल्लाको विकास र समृद्धिलाई तीव्रता दिन्छु’ उनले भनिन्।

उनका श्रीमान् गणेशमान पुन पूर्व आपूर्तिमन्त्री एवं वाइसिएलको पूर्वअध्यक्ष हुन् । पूर्वी रुकुमबाट निर्वाचित भएपछि रासससँग कुरा गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रोकाले आफूलाई मतदान गर्ने मतदाता तथा आमजनताप्रति आभार प्रकट गरिन् ।

उनले प्रशासन, निर्वाचन आयोग, सुरक्षाकर्मीसहित सबै सरोकार भएकालाई समेत धन्यवाद ज्ञापन गरेकी छन् ।

जनतासमक्ष गरेको वाचा स्मरण गर्दै उनले भनिन्, “विगतमा राजतन्त्रको अन्त्य गर्ने वाचा गरेका थियौँ । जनताले साथ दिएकाले मुलुकमा गणतन्त्र स्थापना भयो । संविधान लेख्ने कार्यभार लिएर जनतामा गयौँ र त्यो कार्य समेत पूरा गर्यौँ । अहिले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा हामी वाम गठबन्धनका तर्फबाट निर्वाचित भएका छौँ । यो नै खुशीको विषय हो ।”

कान्छो जिल्ला पूर्वी रुकुममा भौतिक पूर्वाधारसहित जनतालाई सक्षम बनाउने अभिभारा पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । रासस

शुक्रबार, मंसिर २२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*