‘कागतीको व्यापार र परनिर्भरता’

कहिलेकाहीँ सानो सानो कुराले पनि अाश्चर्यकित बनाउने रहेछ।
हुनत, ठूला कुरा गरेर नथाक्ने ‘हामी’ लाई यस्तो कुरा पनि उठाइने कुरा हो र? भन्ने लाग्ला तर दैनिक जीवनको लागि चाहिने हरेक कुरामा, अन्य देशका सामानहरुसँग पूरै रुपमा परनिर्भर भैसकेका ‘हामी’ लाई, ‘कागतीको व्यापार’ को सानो कुराले पनि देशको अर्थव्यबस्थामा ठूलै भूमिका खेल्छ भन्ने लागेर यो पोष्ट गरेकी हुँ।
हरेक दिन चाहिने, कागती म सँधैजसो एउटै नाङ्ले पसलेसँग किन्दछु। चाबहिल गणेशस्थान पछाडि ठूलै तरकारी बजार भएको कुरा त यताका वासिन्दालाई राम्रै अवगत होला। त्यहाँ, एकजना भाइ, नाङ्लोमा कागती बेच्दछन्; उनको बोली बचन राम्रो छ; ‘Customer Service मा निपूण छन्। त्यसैले, उनीभन्दा अगाडि नै बाटोमा पर्ने कागती पसल नाघ्दै म सधैँ, त्यहीँ पुग्छु।
हिजो पनि त्यहाँ पुगेँ, साँझको ६ बजिसकेको थियो, एक किलो कागती मागेर म उभिएँ। दश मिनेट हुन लागिसक्यो, पालो आएन; उनी त्यति व्यस्त थिए। उनको व्यस्तता देखेर प्रश्न गरेँ, ‘भाइ दिनको कतिको कागती बेच्नुहुन्छ?’
उनको जवाफ थियो,’२६/२७ हजारको!’
मलाई आफूले गलत सुनेजस्तो लाग्यो। फेरि सोधेँ,’महिनाको भनेको कि, दिनको?’
मैले उनको जवाफ नपत्याएको देखेर, उनले मेरोअनुहारमै हेरेर भने,’मैले दिनको कुरा गरेको दिज्यू!
सिजनको बेलामा ( गर्मि महिनामा ) दिनको २६/२७ हजारको व्यापार गर्छु। जाडोमा १५/१६ हजारको बेच्छु। बिहानभरी जसो व्यापारीहरुलाई होलसेलमा बेच्छु, यो त खुद्रा व्यापार पो गरेको त अहिले!’
त्यहाँ फरक फरक नाङ्लो र बोरामा फरक फरक भाउका कागती थिए। यतिसम्म कि, हामीले बिग्रिएको देख्ने कागती समेत मानिसहरुले किनिरहेका थिए।
मेरो आश्चर्यको सीमा रहेन! मैले त्यति सानो नाङ्ले पसलको दिनको व्यापार, त्यो पनि एउउटै वस्तु बेचेर त्यति हुन्छ भनेर दिमागमा घुसाउन सकेकै थिइन।
फेरि, व्यापारको लागि लाग्ने उनको खर्च पनि धेरै थिएन; कसैको पसल बाहिर पेटीमा नाङ्लो र बोरामा कागती राखिएका थिए र बेच्ने मान्छे प्राय: उनी एक्लै हुन्थे।
तर दुख:को कुरा, ती कागतीहरु समेत हाम्रो देशका होइनन्; उनले बेच्ने कागती, भारतको लखनउ, मद्रास, कलकत्ता आदि स्थानबाट आयात गरिन्छन्। जसको लागि भारतीय रुपैँया चाहिन्छ र त्यो भारतीय रुपैँया देशले अमेरिकी डलर तिरेर किन्छ।
अनि हामी आफ्ना ‘ठूला’ कुराहरुमा ‘राष्ट्रवाद’ को उपदेश र व्याख्या गरेर थाक्दैनौँ तर देशमा यति धेरै व्यापार हुने कागतीको खेतीसमेत गर्न सक्दैनौँ। जबकि, त्यसको लागि उपयुक्त मौसम र जमिन नेपालका तराई प्रदेशमा थूप्रै भेटिन्छन्।
यसैगरी अन्य दैनिक उपभोगका कुराहरुमा पनि ‘रामदेव’ उर्फ ‘पतन्जली’ को सामानले नेपाली सामानहरुलाई आधाभन्दा बढि बिस्थापित गरिसकेको छ। उदाहरणको लागि, मैले हरेक दिन उपभोग गर्ने महको नेपाली उत्पादन एक केजीको ५ सय रुपैयाँ भन्दा बढि तिरेर किन्थेँ; तर दुई पटक भयो, मैले पतन्जलीको मह किनेँ। कारण, त्यो एक केजीको ४१५ रुपैँयामा पाइन्छ। मलाई त्यो पनि आश्चर्य लागेको थियो,प्राकृतिकमा मौरीद्वारा बन्ने महलाई कुनै कच्चा पदार्थ बिदेशबाट ल्याउन पर्दैन तर पनि बिदेशबाट आउने ‘पतन्जली’ को महभन्दा नेपाली मह महँगो किन भएको होला?
म, नेपाली उत्पादन महँगो भए पनि किन्नुपर्छ भनेर ‘आदर्श’ छाँट्न सक्तिन किनकि, हरेक दिन सरदर ७० रुपैँया सार्वजनिक यातायातमा खर्च गर्ने मलाई त्यो महमा जोगाएको पैसाले एक दिनको भाडा टर्छ।
फेरि, जति हामीलाई ‘पतन्जली’ को सामान सुध्द हुन्छ भन्ने विश्वास परेको छ, त्यति नेपाली सामानमा विश्वास गर्न गाह्रो छ।
त्यो आरोप होइन, भोगेकै कुरा हो। अर्को ताजा उदाहरण, हिजो चन्द्रागिरीको मन्दिरमा पुजारीले लगाइदिएको प्रसाद स्वरुप टिका मेटाउने क्रममा निधारमा घाउ नै हुने हालत आयो; कारण, त्यसमा मिसिएको रँग कसैगरे पनि छुटाउन गाह्रो भयो। यस्तो छ हरेक कुरामा हुने मिसावटको स्थिति 🙁
यो Status पढेर कसैले Defend वा गालीगलौज गर्नु पर्दैन। आफूले भोगेको कुरा लेखेकी मात्र हुँ, यहाँहरु आफ्नो निर्णयमा स्वतन्त्र हुनुहुन्छ।
तर सक्नुहुन्छ भने, ‘पश्चिमाको बिचार लादे’ भनेर NGO/INGO लाई गाली गरेर समय मात्रै खर्चिने होइन; दैनिक दिनचर्यामा नेपाली वस्तुलाई बिस्थापित गर्दै लगिएको स्थितिमा पनि सँवेदनशील हुनसक्नुहोस्!
खैर, फेरि कागतीकै कुरा; ती भाइले त्यहाँ Off season मा कागती कसरी काट्यो भने धेरै रस आउँछ भनेर पनि प्रदर्शन गरेका रहेछन्। सिक्न मन लाग्नेलाई यहाँ तस्वीर खिचेर राखिदिएकी छु।

(अमृता लम्सालको फेसबुक स्टाटसबाट लिइएको सामग्री । यो जुन आइतबार १८ सेप्टेम्बर २०१६मा पोस्ट गरिएको थियो ।)
leman-1
leman-2

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*