काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन

काठमाडौं । काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । श्रेष्ठको निधन विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित श्रेष्ठको निधनमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शोक व्यक्त गरेका छन् । शाक्यलाई मेयर जिताउन काठमाडौंका पहिलो मेयर जनकमान २०७४ सालको चुनावमा आफैं मतदातामाझ पुगेका थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।

आजभन्दा ६६ वर्षअघि २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा श्रेष्ठ मेयर निर्वाचित भएका थिए । यद्यपि उनी कम्युनिस्ट पार्टीका सदस्य थिएनन् । वि. स. १९८५ मंसिर ७ गते जन्मिएका श्रेष्ठ कम्युनष्टि पार्टीका संस्थापनक नेता पुष्पलालको विश्वास पात्र थिए।

त्यसबेला नगर सभापति भन्ने चलन थियो । जनकमान सभापति र प्रयागराज सिंह सुवाल उपसभापति भएका थिए । काठमाडौं नगरपालिकाको दोस्रो निर्वाचनमा प्रयागराज मेयर निर्वाचित भएका थिए । उनी पछि पन्चायकालमा मन्त्री समेत भएका थिए ।

राजनीतिमा वितृष्णा जागेपछि उनी न्याय सेवामा प्रवेश गरे । विस २०१६ सालमा चिसापानी इलाका अदालतको न्यायाधीशमा नियुक्त भएका उनी विशेष अदालतको न्यायाधीश समेत बने । विपि कोइराला र गणेशमान सिंहको मुद्दाको फैसला गरेका उनको सुपुर्दगी सम्बन्धी फैसलाले पनि चर्चित छ ।

स्वर्गीय श्रेष्ठका श्रीमती एक छोरी र एक छोरा छन् ।

जनकमानबारे तत्कालीन उपमेयरको टिप्पणी

काठमाडौंका पहिलो उपमेयर तथा पूर्वमन्त्री प्रयागराज सिंह सुवालले आफ्नो जीवनीमा जनकमान श्रेष्ठ र त्यसबेलाको चुनावी अवस्थाबारे यसरी वर्णन गरेका छन् ।

२०१० सालमा भएको निर्वाचन नै नगरपालिकाको पहिलो र प्रजातान्त्रिक निर्वाचन थियो । पहिलो निर्वाचन भएकाले सबै एकै ठाउँ उभिएर निर्वाचन गर्नुपर्छ र प्रजातन्त्रको रक्षा गर्नुपर्छ भन्नेमा एकमत थियौँ । तर, धेरै प्रयास गर्दा पनि हामीले प्रजापरिषद्लाई सहमतिमा ल्याउन सकेनौँ ।

उहाँहरुले छुट्टै उम्मेदवार खडा गर्नुभयो । त्यतिबेला सभापति (अहिले मेयर भन्ने चलन छ) भन्ने चलन थियो । प्रजापरिषद्ले पुष्कर मास्केलाई उम्मेदवार बनाएपछि हामीले सभापति साझा बनाउन सकेनौँ । पछि जनकमानजी सभापति र म उपसभापति (उपमेयर) भयौँ ।

जनकमानजी कम्युनिष्ट पृष्ठभूमिको व्यक्ति भएको र पहिलो मेयर नै कम्युनिष्ट हुँदा अन्तराष्ट्रियस्तरमा त्यति राम्रो सन्देश नजाने भन्दै उहाँलाई हटाउने योजना भएछ । त्यतिबेला मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । तत्कालिन सरकारले नै जनकमानजीलाई हटाएर मलाई मेयर बनाउने तयारी गरेको रहेछ ।

कम्युनिष्ट भएको आरोप लगाए पनि जनकमानजीमा कम्युनिष्ट स्वाभाव कतै देखिदैनथ्यो । उहाँ प्रजातन्त्रलाई बलियो बनाउनुपर्छ । जनताका बीचमा राम्रो काम गरेर प्रजातन्त्रप्रति जनताको विश्वास बढाउने काम गर्नुपर्छ भन्ने सोच राख्ने व्यक्ति हुनुहुन्थ्यो । (अनलाइनखबर)
शुक्रबार, मंसिर २७, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*