कास्की–२ उपनिर्वाचनमा नेकपाकी विद्या विजयी

संवाददाता
पोखरा । नेपाल कम्युनिस्ट पार्टीकी  उम्मेदवार विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्। भट्टराई यसअघि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएर जितमा ह्याट्रिक गरेका तत्कालीन एमाले सांसद एवं मन्त्री रवीन्द्र अधिकारीकी पत्नी  हुन्।

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा उनले २४ हजार ३ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेल ८ हजार ४ सय ३ मतले पछि परे। पौडेलले १५ हजार ९ सय ८३ मत मात्र ल्याएका छन्। विभिन्न दलका १० र स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी मैदानमा थिए। विजयी र मुख्य प्रतिस्पर्धीबाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ।

तेस्रो स्थानमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। चौथो स्थानको मत राप्रपा नेपालले प्राप्त गर्‍यो। उक्त पार्टीका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत ल्याए। वैकल्पिक राजनीतिको वकालत गर्दै आएको साझा पार्टीकी उम्मेदवार रजनी केसी ९ सय ४२ मतसहित पाँचौं भइन्।

 

Bidhya Bhattarai bb

यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। तर, शनिबारको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत मात्र खसेको थियो। त्यसमध्ये ६ सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मन्त्री अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

अधिकारीले २०७४ को निर्वाचनमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतान्तरले पराजित गरेका थिए। उपनिर्वाचनमा भट्टराईले रवीन्द्रको विरासत थामेकी छन्। उनले यो जितलाई रवीन्द्र अधिकारी र आफूप्रतिको भरोसाका रूपमा लिएको प्रतिक्रिया दिएकी छन्। उनले मतदाता, दलसहित अन्य उम्मेदवारले सुसंस्कृत राजनीतिक संस्कार देखाएको भन्दै प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेललाई धन्यवाद दिएकी छन्। पौडेलले मतगणना स्थलमै पुगेर उनलाई बधाई दिए।

Bidhya Bhattarai aa

कास्की–२ निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वडा छन्। स्थानीय निर्वाचनमा अधिकांश वडामा नेकपाले जित हासिल गरेको थियो। वडा नम्बर ४, ९ र ११ मा भने कांग्रेस उम्मेदवारले जितेका थिए। उपनिर्वाचनमा नेकपाले नौ वडामा अग्रता लियो। कांग्रेसको पकड मानिएको वडा नम्बर ९ मा नेकपाले ३ सय मतले अग्रता कायम  गर्यो। वडा नम्बर ११ र ४ मा मात्र कांग्रेसले अग्रता लियो।

स्मरणीय छ, २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र अधिकारीले २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत मात्र ल्याएका थिए । नेकपाका लोकप्रिय नेता स्वर्गीय अधिकारी २०६४/०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

विद्या रवीन्द्र पत्नी मात्रै नभएर लामो समय राजनीति गरेकी नेतृ पनि हुन्। उनलाई धेरैले प्राज्ञिक व्यक्तित्वको रुपमा चिन्छन्। उनले चुनावी प्रचारका क्रममा रवीन्द्र पत्नीको रुपमा मात्र नहेर्न मतदातासँग विनम्र अनुरोध गरेकी थिइन्। सँगै उनले रवीन्द्रका बाँकी सपना पूरा गर्ने बचनसमेत दिन छुटाएकी थिइनन्।

उनले पोखरामा चक्रपथ निर्माण गर्ने, पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने एजेन्डालाई प्राथमिकता दिएर मत मागेकी थिइन्।

 

bidhya-bhattarai

 

पूर्वएमाले निकट अनेरास्ववियूबाटै विद्यार्थी राजनीतिमा उदाएर लामो समय प्राज्ञिक क्षेत्रमा अनुभव कमाएकी अधिकारीसँग बिहे भएपछि राजनीतिबाट टाढिएकी थिइन्। उपनिर्वाचनकै लागि उनले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएकी थिइन्।

विजयी घोषणापछि लगत्तै उनले भनिन्, ‘मतदाताले दिनुभएको भरोस विश्वासलाई अडिग रहेर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ दुःखद् क्षणबाट निम्तिएको उपनिर्वाचनमा जनताले दिएको अभिमतलाई आगामी दिनमा निरन्तरता दिने उनले बताइन्।

‘प्राप्त जनमत रवीन्द्र अधिकारप्रतिको सम्मान, कम्युनिष्ट पार्टी र विद्या भट्टराईप्रतिको भरोसा भन्ने ठानेकी छु,’ उनले भनिन्।

विद्याको थप राजनीति यात्रासँगै रवीन्द्रको विरासत जोगाइ राख्ने भारसमेत थपिएको छ।

यसैबीच, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शनिबार सम्पन्न उपनिर्वाचनले भ्रंष्टचार र असक्षमतालाई अनुमोदन गरेको आरोप लगाएका छन्।

आफ्नो पार्टीले कास्की, धरान, भक्तपुर र दाङमा दिएको उम्मेदवारी र भड्किलो प्रचारप्रसार अनुसार मत ल्याउन नसकेपछि रविन्द्रले सामाजिक सञ्जालमार्फत् यस्तो आरोप लगाएका हुन्।

‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ’, मिश्रले फेसबुकमा लेखेका छन्।
कांग्रेसका उम्मेदवार खेमराज पौडेलले बधाई विजयी नानीलाई हृदयले बधाई। राम्रो गर्नु।’

उता, निर्वाचित विद्या भट्टराईलाई कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने  मुक्त कण्ठले बधाई दिए । मतगणना जारी रहँदा नै भारी मतान्तरले विद्याले अग्रता कायम गरिरहँदा खेमराज मतगणना स्थलमै पुगेर नेकपा नेता तथा कार्यकर्तालाई शुभकामना दिएका थिए।

विद्या मतगणनास्थल पुग्नासाथ खेमराजले माला लगाई बधाई दिएका थिए। तत्कालै उनले ट्विट मार्फत पनि बधाई दिएका हुन् ।

‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म इमान्दार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देश विदेशका हरेकको मायाप्रति। राजनीति जितेँ, मत जितिनँ तर सायद मन जितेँ कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई। राम्रो गर्नु।’

NC candidate tweet

 

विगत ६० वर्षदेखि राजनीतिमा क्रियाशील ७४ वर्षे पौडेल जिल्लामा कांग्रेसका निष्ठावान् नेता मानिन्छन्। उनको उम्मेदवारी हुँदा कांग्रेसको पुरानो रोग अन्तर्घात अन्त्य हुने विश्वास गरिएको थियो।

आइतबार, १५ मङि्सर २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*