किरण चेम्जोङ बने देशकै बढी म्याच खेल्ने फुटबलर

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुरुवात गर्दै किरणले नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने कीर्तिमान बनाए ।

बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै किरणले विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका थिए । लगातार दोस्रो खेलपछि किरणले पूर्वकप्तान विराजलाई पछि पारेका हुन् ।

विराजले गत चैतमा नेपालमा भएको थ्री नेसन्स कप फाइनलमा बंगलनदेशविरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेल्दै ७३ क्याप जितेका थिए । उनले त्यसै खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । त्यसबेला किरणकै कप्तानीमा नेपालले उपाधि जितेको थियो र उक्त ट्रफी किरणले विराजलाई नै समर्पित गरेका थिए ।

३१ वर्षीय किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् । विराज राष्ट्रिय टिममा छँदै टोलीमा पर्न छाडेपछि किरणले कप्तानी गर्दै आएका थिए ।

सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कप छनोटमा पहिलो खेलमै मकाउविरुद्ध खेल्दै किरणले नेपालको सिनियर टिमका लागि डेब्यु गरेका थिए । त्यसयता किरण १३ वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।

त्यसबेला उनको डेब्यु भने सुखद रहन सकेन । चिउँडोमा चोट लागेपछि उनी २४ मिनेट मात्र मैदानमा टिके । त्यसपछि उनले फेरि खेल्ने नखेल्नेमै शंका थियो । किरणले डेब्यु गरेपछि फेरि राष्ट्रिय टिमबाट खेल्न ३ वर्ष कुर्नुपर्‍यो । त्यसपछि भने किरणले पछि फर्केर हेर्नुपरेको छैन ।

सन् २००८ मा डेब्यु गर्दा आफूले यहाँसम्म आइपुग्ने नसोचेको र निरन्तरताले नै यहाँ पुगेको किरणले बताए । ‘डेब्यु खेलमा नै चिउँडोमा चोट लागेपछि यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । २००८ देखि २०२१ सम्मको यात्रा सजिलो थिएन । किरणले बुधबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए,’ उनले भने, ‘निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

देशका लागि खेल्नु नै ठूलो कुरा रहेको उल्लेख गर्दै किरणले सर्वाधिक खेल खेल्ने खेलाडी हुँदा झन् खुशी हुने बताएका छन् ।

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

NEP Team

नेपालले १७ भदौमा भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको थियो भने आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेल आइतबार २–१ गोलको हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको प्लेइङ ११ मा प्रशिक्षक अल्मुताइरीले तीन खेलाडी परिर्वतन गरेका थिए ।

अघिल्लो खेलमा गोल गरेका स्ट्राइकर अञ्जन विष्टको स्थानमा मनिष डाँगीलाई स्थान दिए भने नवयुग श्रेष्ठलाई बेञ्चमा राखेर आशिष लामा आए । यस्तै मिडफिल्डमा सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठलाई अवसर दिए ।

पहिलो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । नेपाली डिफेण्डरको उत्कृष्ट प्रदर्शनका कारण भारतले उल्लेख्य आक्रमण बुन्न सकेन ।

पहिलो हाफमा नेपालले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । अनुभवी स्ट्राइकरलाई बेञ्चमा राखेर आएका मनिष र आशिष गोल गर्न चुके । खेलको १४ औं मिनेटमा मनिषले पेनाल्टी एरियाभित्र वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वाभाविक पोजिसनमा भएको बेला पनि मनिष आफैं अनियन्त्रित भए र नेपालले गोल गर्ने राम्रो अवसर गुमायो ।

खेलको २७ औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर गुमायो । आयुष घलानको लामो क्रसमा आशिषले सिक्स यार्ड बक्सबाट बललाई कनेक्ट गर्न सकेनन् ।

पहिलो हाफमा अन्तिमतिर भारतले एउटा अवसर बनाएको थियो । ४१ औं मिनेटमा विपिन सिंहले क्रस गरेको बल नेपालका गौतम श्रेष्ठले क्लियर गरेका थिए ।

पहिलो हाफ सकिन दुई मिनेटअघि नेपाली प्रशिक्षक अल्मुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए ।

दोस्रो हाफमा भारतले सुधारिएको प्रदर्शन गर्‍यो । विपिन सिंहको स्थानमा मैदान प्रवेश गरे फारुख चौधरीले ६२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । कप्तान सुनील क्षेत्रीको हेडर पासमा अनमार्क रहेका फारुखले सहजै गोल गरेका थिए ।

७४ औं मिनेटमा मनिष डाँगीले अञ्जन विष्टको पासमा गोल गर्ने अवसर गुमाए । त्यसको ६ मिनेटपछि भारतले काउन्टरमा गोल ग¥यो । डिबक्स बाहिर नेपालले पाएको फ्रिकिकमा सुजल श्रेष्ठले हानेको बल भारतीय गोलकिपरले पञ्च गरे । त्यही बललाई अगाडि बढाएका भारतका कप्तान सुनील क्षेत्रीले मैदानको मध्य भागबाट एक्लै बल अघि बढाए र सोलो गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ८६ औं मिनेटमै नेपालका लागि दुई खेलाडीले डेब्यु गरे । यही खेलबाट नेपालका लागि सर्वाधिक खेलको कीर्तिमान बनाएका कप्तान किरण चेम्जोङलाई रिप्लेस गर्दै गोलकिपर विशाल श्रेष्ठले डेब्यू गरे ।

यस्तै राजन गुरुङले पनि डेब्यु गरे । राजन मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लगत्तै नेपालले गोल फर्कायो । ८६ औं मिनेटमा तेज तामाङले लोभलाग्दो गोल गरे पनि हार टार्न पर्याप्त भएन ।

भारतविरुद्ध एकपछि अर्को पराजय

नेपाल र भारतबीच अहिलेसम्म २१ खेल भएको छ, जसमध्ये १४ खेल गुमाएको नेपालले ५ वटामा बराबरी खेलेको छ । दुई वटा मात्र नेपालले जितेको छ ।

भारतविरुद्ध नेपालको पछिल्लो जित ८ वर्षअघि साफ च्याम्पियनसिपमा भएको थियो । आजकै दिन अर्थात ५ सेप्टेम्बर २०१३ मा नेपालले भारतलाई २–१ ले हराएको थियो । त्यसयता नेपालले कुनै पनि खेलमा भारतलाई जित्न सकेको छैन ।

Coach Abdullah Almutairi

खेलपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतविरुद्ध आइतबार पराजित भएपछि पनि टिमको प्रदर्शनमा खुसी व्यक्त गरे ।  उनले ‘हारका बावजुद टिमको प्रदर्शन उत्कृष्ट रहेको’ बताए ।

उनले भने, ‘नेपाली टिमको प्रदर्शनमा मलाई कुनै गुनासो छैन् । सबैले राम्रो खेले । हारमा धेरै गुनासो छैन ।’

उनले आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसिप नै रहेको दोहर्‍याउँदै मैत्रीपूर्ण खेलमा हारलाई स्वभाविक मान्नु पर्ने बताए । उनले साफमा नेपालको प्रदर्शन सुधारिएको हुने र राम्रो नतिजा आउने पनि बताए ।

आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*