के भनूँ तिम्रो बारेमा ?

कविता/रमा थापा 

म भनूँ के तिम्रो बारेमा,
म लेखूँ के तिम्रो बारेमा ?
म कसरी तिमीलाई सीमित गरूँ मेरा शब्दमा
म सधैँ सोच्छु, तिमी को हौ ?

जसलाई म एक झल्को सम्झन्छु
अनि हरेक प्रश्न जवाफ बनिदिन्छ

म सधैँ अचम्म मान्छु, तिमी के हौ ?
जसलाई म एक क्षण स्मरण गर्छु
अनि असजिलो पनि सजिलो बनिदिन्छ ।।

म भनूँ के तिम्रो बारेमा,
म लेखूँ के तिम्रो बारेमा ?
म कसरी तिमीलाई सीमित गरूँ मेरा शब्दमा ?

म सधैँ सोच्छु, तिमी को हौ ?
त्यो– साधारणमा असाधारण
त्यो– सामान्यमा असामान्य

म सधैँ अचम्म मान्छु, तिमी को हौ ?
जसको धड्कन मेरो मुटुमा धड्किन्छ
जसको साहस मेरो आत्मविश्वास बनिदिन्छ ।।

mother-and-daughter

म भनूँ के तिम्रो बारेमा,
म लेखूँ के तिम्रो बारेमा ?
म कसरी तिमीलाई सीमित गरूँ मेरा शब्दमा

म अझै सोच्छु, तिमी के हौ ?
म अझै अचम्म मान्छु, तिमी को हौ ?

लाग्छ, तिमी मेरी आमा
म तिम्रो सानो अंश, केवल सानो अंश
लाग्छ, तिमी मेरी आमा
म तिम्रो सानो अंश, केवल सानो अंश ।।

rama

– रमा  थापा 

शनिबार, कात्तिक १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*